कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

स्क्रबटाइफस संक्रमण बढ्यो

तीन महिनामा ४ को मृत्यु, ८ सयभन्दा बढी प्रभावित
माधव अर्याल

पाल्पा — जिल्लामा स्क्रबटाइफसको संक्रमण फैलिएको छ  । २ नगर र ८ गाउँपालिकामा यसका बिरामी भेटिएका छन्  ।

स्क्रबटाइफस संक्रमण बढ्यो

राष्ट्रिय इपिडियोमोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ३ महिनामा ३ सय ६५ जनामा रोगका लक्षण देखिएको छ । यसबाहेक थप ५ सयमा रोग फैलिएको हुन सक्ने अनुमान स्वास्थ्य संस्थाको छ । साउनयता सबैभन्दा बढी स्क्रबटाइफस संक्रमण फैलिएको हो ।


महाशाखाका डा. प्रकाश शाहका अनुसार तानसेन नगरपालिकामा ५८, बगनासकालीमा ६०, लुम्बिनी मेडिकल कलेजमा ११, तिनाउमा १७, माथागढीमा २०, निस्दीमा ७, पूर्वखोलामा १७, रैनादेवी छहरामा ४७, रम्भामा २१, रामपुरमा २० र रिब्दीकोटमा ३८ जनामा रोगका लक्षण देखिएको छ । ‘अन्य पहाडी जिल्लाका तुलनामा पाल्पामा धेरै देखिएका छन्,’ उनले भने, ‘मिसन अस्पतालमा अन्य जिल्लाका समेत भएकाले अझै यकिन तथ्यांक आएको छैन ।’ मिसन अस्पतालमा गुल्मी, अर्घाखाँची, स्याङजाका बिरामीसमेत आउने गर्छन् ।


यस रोगका बिरामीबाट साउनयता ४ जनाको मृत्यु भएको छ । मिसन अस्पतालमा उपचार गराउन आएकाहरूको मृत्यु भएको हो । गुल्मी र स्याङजाका १/१ र पाल्पाका २ जनाको मृत्यु भएको डा. शाहले बताए ।


खेतबारी या झाडीमा मुसाको रगत चुस्ने ‘माइट’ नामक परजीवीबाट यो रोग मानिसमा सर्छ । ‘खेतबारी या झाडीमा हुने परजीवीभित्र ओरेन्सिया सुसुगामोसी नामक जीवाणु हुन्छ,’ डा. शाहले भने, ‘त्यही शरीरभित्र प्रवेश गरेमा त्यस्ता व्यक्तिमा रोग संक्रमण हुन्छ ।’ चिकित्सकका अनुसार यसका जीवाणु अनुकूल तापक्रम भएका भौगोलिक क्षेत्रमा बढी देखिने गरेका छन् ।

रोग फैलिएपछि स्थानीय सञ्चारमाध्यममार्फत जनमानसलाई सचेत गराउने गरिएको छ । स्थानीय नगर र गाउँपालिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई यस विषयमा जानकारी गराएर आफू फर्किएको उनले बताए ।


‘नगरभित्रका स्वास्थ्य संस्थाहरूबीच यस विषयमा छलफल गरिनेछ,’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिरबहादुर रानाले भने, ‘यति धेरै संक्रमण रहेछ भन्ने हामीलाई पनि थाहा थिएन ।’


चेतना फैलाउने प्रतिबद्धता
जिल्लाका स्वास्थ्य सरोकारवालाले स्क्रबटाइफस संक्रमणका बारेमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । तानसेन नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार यहाँ आयोजना गरेको छलफलमा उक्त रोगको संक्रमणबारे जिल्लामा चेतनामूलक कार्यक्रम गर्ने सहमति भएको हो । जिल्लामा वैशाखयता फाट्टफुट्ट संक्रमण देखिएको थियो । साउनयता मिसन अस्पतालमा मात्र प्रत्येक महिना एक सयको हाराहारीमा यस्ता बिरामी आइरहेका छन् ।


छलफल कार्यक्रममा तानसेन मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, पाल्पा सरकारी अस्पताल, परिवार नियोजन संघ, स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र, वडाध्यक्षको सहभागिता थियो । कार्यक्रमले सञ्चारमाध्यम, ब्रोसर र स्वास्थ्य संस्थाबाट यस रोगका विषयमा जानकारी दिने निर्णय गरेको छ । ‘सकेसम्म रोग लाग्ने तरिका, उपचार र सर्ने तरिकाका विषयमा जानकारीमूलक कार्यक्रम गर्न जरुरी देखिएको छ,’ नगरपालिकाकी उपमेयर लक्ष्मी पाठकले भनिन्, ‘जसले गर्दा चेतना जाग्न सकोस् र रोग न्यूनीकरण हुँदै जाओस् भन्ने हो ।’ पछिल्लो समय अस्पतालमा उपचार गराउन आएको तथ्यांक डरलाग्दो भएकाले यसमा सबै क्षेत्रको सहयोगको खाँचो रहेको उनले बताइन् ।


‘रोगका विषयमा सबैले जानकारी पाउन सके भने सचेत हुने थिए,’ मिसन अस्पतालका डा. उदीप महर्जनले भने, ‘अहिलेको संख्या हेर्दा बढदो भएकाले पनि थप जटिलता आउनुअघि नै यस विषयमा सचेत बनाउन जरुरी छ ।’

प्रकाशित : आश्विन २७, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?