महँगो बन्दै नेताको जिल्ला भ्रमण

मन्त्री बर्षमान पुन हेलिकप्टर चढेर एकै दिन चार कार्यक्रममा प्रमुख अतिथि
काशीराम डाँगी

राेल्पा — नेकपाका नेता एवं ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुनलाई गत हप्ता रोल्पामा बेग्लाबेग्लै चार कार्यक्रममा मुख्य अतिथि बन्न भ्याईनभ्याई थियो  । पुन एकै दिनमा हेलिकप्टर चढेर चारवटै कार्यक्रममा सहभागी भए  ।

महँगो बन्दै नेताको जिल्ला भ्रमण

सोमबार बिहान राजधानीबाट हेलिकप्टर चढेर रोल्पामा मेला, र्‍याफटङ, पत्रकार महासंघ कल्याण कोष र विद्यालय भवनको उद्घाटन सकेर मन्त्री पुन सोही दिन काठमाडौं फर्किएका थिए । ती सबै कार्यक्रममा पुन उपस्थित मात्रै भए, लामो समय दिन सकेनन् । आयोजकले जिल्लाको सुदूर पूर्वदेखि पश्चिमका बेग्लाबेग्लै स्थानमा कार्यक्रम आयोजना गरेका थिए । पूर्वनिर्धारित ती सबै कार्यक्रममा मन्त्री पुन मुख्य अतिथि बनेका थिए ।

प्रतिनिधिसभाका लागि रोल्पाबाट निर्वाचित मन्त्री पुनले सुलीचौरस्थित लुङग्री खोलामा सुरु गरिएको र्‍याफटङको उद्घाटन गरे । लुङग्री खोलामा वर्षमा केही महिनामात्रै संचालन गर्न मिल्ने उक्त र्‍याफटङ परियोजना सुनील स्मृति गाउँपालिकाले संचालन गर्नेछ । जनप्रतिनिधिले निकै महत्त्वाकांक्षी योजनाका रूपमा उक्त परियोजनालाई लिएका छन् ।

सुलीचौरबाट केही मिनेटको हवाई दूरीमा रहको पूर्वी रोल्पाको गामस्थित चर्चित मेलाको उद्घाटन गर्न पुगेका मन्त्री पुनले सदरमुकाम लिबाङमा पत्रकार महासंघ रोल्पाको आयोजनामा थालिएको पत्रकार कल्याण कोषको उद्घाटन गरे । हेलिकप्टरबाटै उडान भरे पनि निर्धारित समयभन्दा २ घण्टा ढिलो त्यहाँ पुगेका मन्त्री पुनले पत्रकारविरुद्ध संहिता नल्याइएको दाबी गरे ।

लोकतन्त्रमा पत्रकारिताको विशेष महत्त्व रहेको चर्चा गरेका पुनले सरकारले अघिल्लो महिनादेखि जारी गरेको मुलुकी संहिताबाट पत्रकार त्रस्त नहुन आग्रहसमेत गरे ।
सदरमुकाममा करिब एक घण्टा बिताएका मन्त्री पुन त्यसपछि पश्चिमी रोल्पाको त्रिवेणीमा निर्माण गरिएको विद्यालय भवन उद्घाटन गर्न नुवागाउँस्थित झुम्लुङ पुगेका थिए । गाउँपालिका र गैरसरकारी संस्था हुरेक र सेभ द चिल्ड्रेनको संयुक्त लगानीमा उक्त विद्यालय भवन निर्माण गरिएको हो । मन्त्री पुनले एकै दिन चारवटा कार्यक्रम भ्याउने गरी मुख्य अतिथिका रूपमा रोल्पा आउने जानकारी पाएपछि स्थानीय प्रशासनले केही दिनदेखि नै सुरक्षा व्यवस्था कडा पारेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रशासनले अघिल्लो दिनदेखि नै परिचालन गरेको थियो । प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले मन्त्री पुन सहभागी भएका चारै स्थानका कार्यक्रम स्थलको सुरक्षा मजबुत पारिएको बताए । प्रजिअ एमसीले सबै स्थानमा गाडीमै सुरक्षाकर्मी पठाएको बताए ।

कार्यकर्तासँग मात्र भेटघाट
हेलिकप्टर चढेर जिल्ला आएका मन्त्री पुनलाई जिल्लाकै पहिलो जलजला बहुमुखी क्याम्पसका प्रमुखले मात्र होइन, अन्य सर्वसाधारणले पनि भेट गर्न पाएनन् ।
‘समय मागेर क्याम्पसमै बोलाएर जिल्लाको शैक्षिक अवस्थाबारे जानकारी गराउने विचार थियो । तर समय नै मिलेन,’ क्याम्पस प्रमुख विष्णु आचार्यले भने, ‘धेरैपटक समय माग्दा पनि भेटेर कुरा राख्न पाइएन ।’ उनले मन्त्री पुन अघिल्लो पटक रोल्पा आउँदा क्याम्पसमा बोलाएर अभिनन्दन गर्ने प्रयास खेर गएको बताए । क्याम्पस स्थापनापछिका समयमा मन्त्री पुनले सहयोग जुटाइदिएकामा उनीसहित नेतालाई सम्मान गर्ने योजना रहेको क्याम्पस प्रमुख आचार्यले बताए ।
मन्त्री पुनले रोल्पा आउँदा आफ्ना कार्यकर्ताबाहेक अन्य दलका नेता र स्वतन्त्र पक्षसँग भेट्ने गरेका छैनन् । लिबाङका एक बुद्धिजीवी भन्छन्, ‘अन्य पक्षसँग र स्वतन्त्रलाई समेत भेटेर जिल्लाको विकासका बारेमा छलफल गरेमा उनी र जिल्लाका लागि फाइदा हुन्छ ।’

यसअघि पनि पटकपटक हेलिकप्टर चढेर जिल्ला आउने गरेका मन्त्री पुनसहितका नेताबारे सर्वसाधारणले खर्चिलो बन्दै गएको टिप्पणी गरेका छन् । कतिपय उनकै कार्यकर्ताले जिल्लामा आउँदा हेलिकप्टर चढ्ने बानी बसालेपछि सर्वसाधारण जनतासँग भने भेट हुने सम्भावना कम हुँदै गएको बताए । नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीले नेतालाई आवातजावत गर्न हेलिकप्टरबाट सजिलो भए पनि जनतासँगको सम्बन्ध कटौती हुने गरेको प्रतिक्रिया दिए ।

प्रकाशित : आश्विन २८, २०७५ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?