कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जिल्ला चिनाउन महोत्सव

हरि गौतम

रुकुम पूर्व — जिल्लाको समग्र पर्यटन प्रवद्र्धनका लागि महोत्सव हुने भएको छ  । आगामी मंसिर २० देखि पुस १ गतेसम्म सिस्ने गाउँपालिकाको रुकुमकोटमा महोत्सव हुने भएको हो  ।

जिल्ला चिनाउन महोत्सव

रुकुमपूर्व चेम्बर अफ कमर्सले जिल्लाको पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका लागि महोत्सव गर्ने तयारी अघि बढाएको बताएको छ ।

देशको ७७ औं तथा कान्छो जिल्ला रुकुमपूर्वमा पर्यटकीय क्षेत्रको प्रवद्र्धन र सांस्कृतिक सम्पदाको प्रचारका लागि महोत्सव गर्ने निर्णय भएको चेम्बरका अध्यक्ष दिलीप थापाले बताए । जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर पर्यटक भित्र्याएर त्यसकै माध्यमबाट जिल्लाको विकासमा टेवा पुर्‍याउने लक्ष्य राखेर महोत्सव आयोजना गरिएको उनले बताए । ‘कान्छो जिल्ला भनियो, यसका विशेषता के हुन्, जिल्लामा के के कुरा हेर्नलायक छन्, घुम्नुपर्ने ठाउँ कता छन्, परम्परा र रीतिरिवाजका बारेमा जानकारी गराउने उद्देश्य महोत्सवले राखेको छ,’ अध्यक्ष थापाले भने, ‘जिल्लामा भएका पर्यटकीय, धार्मिक, एतिहासिक, चालचलन, भेषभूषाको प्रचारप्रसार र त्यसको अध्ययनमा सहयोग पुर्‍याउने गरी हामी महोत्सवको तयारीमा जुटेका छौं ।’

महोत्सवमा जिल्लाभित्रका सबै पर्यटकीय क्षेत्रको जानकारी दिइनेछ भने स्टलहरूमा पनि जिल्लाको पहिचान खुल्ने वस्तु राख्ने तयारी गरिएको छ । स्थानीयले तयार गरेका कम्बलदेखि खानाका परिकारसमेत प्रवद्र्धन गर्ने गरी स्टल निर्माण गर्ने योजना आयोजक समितिले बनाएको छ । जिल्लाको पूर्वी क्षेत्रको मुख्य खाना ढिडो, टिमुरको अचार, आलु, गुन्द्रुक, सिन्की, हस्तनिर्मित सामग्री महोत्सवका स्टलमा राखिने छन् । स्टलमा राखिएका स्थानीय उत्पादनको प्रदर्शनका साथै बिक्री वितरण पनि गरिने अध्यक्ष थापाले बताए । जिल्लाका चालचलन, नाचगानलाई प्राथमिकतासाथ देखाइने र त्यसको प्रचारप्रसार गरी जिल्लामा आन्तरिक तथा बाहय पर्यटक बढाइने लक्ष्य लिइएको छ । मध्यपहाडी लोकमार्गका कारण जिल्ला आउन/जान सजिलो भएकाले सकेसम्म जिल्लाबाहिरका सर्वसाधारणलाई पनि महोत्सवमा ल्याउने प्रयास गरिने भएको छ । छिमेकी जिल्ला रुकुम पश्चिम, रोल्पा, सल्यान, दाङ, जाजरकोटका साथै बाग्लुङ, पोखरा र काठमाडौंबाट समेत पर्यटक आउने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ ।

५२ पोखरी, ५३ टाकुरीको जिल्लामा हिमाल, हिमताल, पोखरी प्रशस्त छन् । यसका साथै बहुमूल्य जडीबुटी यार्चा पाइने बुकीसमेत यही जिल्लामा छ । जिल्लाका तीनवटै स्थानीय तहसँग समन्वय गरेर पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि महोत्सव स्थलमा विशेष स्टल निर्माण गर्ने योजनासमेत रहेको आयोजकले जनाएको छ । कान्छो जिल्लालाई थोरै भए पनि प्रचारप्रसार गरौं, चिनाऔं भनेर महोत्सव आयोजना गरिएको आयोजक संस्था रुकुमपूर्व चेम्बर अफ कमर्सका महासचिव तिलक खडकाले बताए । ‘जिल्लाभित्र पर्यटक आउनु, पर्यटकीय गतिविधि बढ्नु भनेको जिल्लाको विकासमा टेवा पुग्नु हो,’ उनले भने, ‘महोत्सवको पहिलो प्राथमिकता जिल्लाको समग्र पर्यटनको प्रचारप्रसार नै हो ।’

महोत्सव अवधिभर देउराली ओडार, सप्तऋषि धारा घुमाउने तथा तातोपानीमा नुहाउने र सानीभेरी नदीमा र्‍याफटिङको व्यवस्था गर्ने गरी छलफल भइरहेको छ ।

प्रकाशित : आश्विन २८, २०७५ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?