कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुल सञ्चालनमा ढिलाइ

कमल पन्थी

बर्दिया — निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्मित पुल सञ्चालनमा आएको छैन  । पुलसम्म पुग्ने सडक निर्माण गर्न सामुदायिक वनभित्रका रूप काट्नुपर्ने हुन्छ  ।

पुल सञ्चालनमा ढिलाइ

रूप कटान गर्न ईआईए (वातावरणीय प्रभाव मूल्यांकन) नहुँदा पुल उपयोगविहीन भएको हो । राजापुर हुँदै कैलाली जोड्ने पुल निर्माण भए पनि चारपांग्रे सवारी साधन आउजाउ ठप्प छ । हुलाकी आयोजनाअन्तर्गत उक्त सडकमा पर्ने रूप कटान गर्न वन कार्यालयमा अहिलेसम्म माग गरिएको छैन । वन कार्यालयका सहायक वन अधिकृत द्रोण शर्माले सडक निर्माणका लागि अहिलेसम्म ईआईएका लागि स्वीकृत माग नभएको बताए । ‘हामीकहाँ ईआईए गर्ने प्रक्रियाको कुनै जानकारी आएको छैन,’ उनले भने, ‘त्यो बिना रूप काट्न मिल्दैन ।’

पुल जोड्न झन्डै ७ सय मिटर सडक निर्माण गर्नुपर्छ । त्यो दूरीमा साना र सुकेका समेत गरी ३ दर्जनभन्दा बढी रूप कटान गर्नुपर्नेछ । ठेकेदार कम्पनी र हुलाकी आयोजनाको लापरबाहीले अहिलेसम्म पनि वातावरणीय मूल्यांकनका लागि प्रक्रिया नै सुरु नगरिएको स्थानीयको आरोप छ । ठेक्का सम्झौता अनुसार गत वर्ष सडक निर्माणको म्यादसमेत सकिएको छ । चन्द्रा एन्ड बसन्ता कन्स्ट्रक्सनका साइड इन्चार्ज देवहरि सिटौलाले वातावरणीय मूल्यांकन भएको ३ महिनाभित्र सडक निर्माण गर्ने दाबी गरे । बर्दिया र कैलालीसम्म ५ किमि कालोपत्रे सडक निर्माणका लागि ६ करोड रुपैयाँको ठेक्का भएको हो । पुल झन्डै ४५ करोडको लागतमा निर्माण भएको थियो ।

हुलाकी सडक आयोजनाले पुल जोड्ने पुरानो बाटो परिवर्तन गरी अर्को तयार गर्नुपर्ने भनेपछि ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ । २ किमिभन्दा बढी पुरानै सडक निर्माण र कैलालीको ३ किमि कालोपत्रे गर्न करिब ५ करोडको ठेक्कासमेत भएको थियो । आयोजनाका इन्जिनियर सुरेश चौधरीले वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पुगेकाले अब सडकको काम सुरु हुने दाबी गरे । पुल निर्माण भए पनि सडक अभावकै कारण यातायात नचल्दा आवागमनमा समस्या छ ।

कर्णाली नदीमा निर्मित पुल ५ सय ३१ मिटर लामो छ । पुल ०६८ माघबाट निर्माण सुरु भएको थियो । चार वर्षपछि वातावरणीय प्रभाव मूल्यांकन पनि गरिएको थियो । तर, त्यो छोडेर अन्यबाट सडक परिवर्तन गर्दा ३ सामुदायिक वनका रूप काट्नुपर्ने भएको र पुन: वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने भएकाले ढिलाइ भएको इन्जिनियर चौधरीले बताए । कैलालीको टीकापुर हुँदै पश्चिम जाने सबैभन्दा छोटो उक्त सडक निर्माण भएपछि यस भेगमा आर्थिक, पर्यटन, व्यापारिक लगायत कारोबार बढ्ने स्थानीयको भनाइ छ ।

प्रकाशित : आश्विन २८, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?