कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सहकारीमार्फत उद्यमी बन्दै महिला

माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका १३ बौघागुम्हाकी तेजीकुमारी थापाले खसी–बोका बिक्रीबाट एक वर्षमा १ लाख ८६ हजार बुझिन्  । उनले घरधन्दा सकेर फुर्सदको समयमा पालेको बाख्राले यसरी आम्दानी होला भनेर सोचेकी थिइनन्  ।

सहकारीमार्फत उद्यमी बन्दै महिला

‘बाख्रापालनबाट राम्रो आम्दानी लिन सकेकी छु,’ उनले भनिन्, ‘मलाई सन्तुष्टि मिलेको छ ।’ उनको घरमा अहिले पनि २० भन्दा बढी बाख्रा छन् । दसैंमा खसी–बोका बिक्रीबाटै खर्च चलाउने उनको सोच छ ।

तानसेन नगरपालिका १२ बौघापोखराथोक नामीकुवाकी सोमकला बगालेले वार्षिक २ लाख रुपैयाँभन्दा बढी बाख्रापालनबाट आम्दानी गरेकी छन् । एक वर्षमा घरमै बसेर यति धेरै आम्दानी होला भनेर उनले सोचकी थिइनन् । तर बाख्रा पालेर आम्दानी राम्रो भएको उनले सुनाइन् । ‘यस्तो राम्रो आम्दानीको स्रोतका विषयमा मलाई पहिला जानकारी भएन ।’ हेफर नेपाल र रेडक्रसले गठन गरेको समूहबाट उनीहरूलाई फाइदा भएको हो । तीन वर्षअघि समूहमा आबद्ध भएँ । त्यसपछि बाख्रापालन तालिमहरूमा सहभागी हुन थालेपछि बाख्रपालन थालिन् । आम्दानीको स्रोतका रूपमा उनीहरूले बाख्रलाई लिन थालेका हुन् ।

मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था गठन भए पनि उनीहरूजस्ता उद्यमी महिलालाई झनै फाइदा पुगेको छ । सहकारीले बाख्रापालन गर्ने महिलालाई ऋण परिचालन गरेको छ । बिक्रीका लागि पनि समस्या छैन । खसी–बोका संकलन केन्द्र छ । सोही केन्द्रमा बस्ने मासिक बैठकमा नाम टिपाएपछि अर्डरअनुसार खसी, बोका, माउबाख्रा, पाठी बिक्री गर्न पाइन्छ । सहकारीले मूल्य तोकेको छ । जिउँदा बाख्राको मूल्य राखेकाले घटबढ पनि हुन्न । ‘हामीलाई बिक्रीका लागि सहकारीबाट धेरै सहज भएको छ,’ बाख्रापालक किसान कान्तिसरा रानाले भनिन्, ‘अघिल्लो महिना नाम टिपाएपछि बिक्री गर्न पाइन्छ ।’ सहकारीका अनुसार खसी र बोकाको प्रतिकिलो जिउँदो ३ सय २० देखि ४ सय १० रुपैयाँमा खरिद हुन्छ । बीउ बोकाको ४ सय ८० रुपैयाँ छ । बीउ पाठीको २ सय ८० छ भने माउबाख्रा १ सय ५ रुपैयाँ प्रतिकिलो खरिद–बिक्री हुन्छ । ‘हामीले बजार धाउन र खेदुवासँग मोलमोलाई गर्नुपरेको छैन,’ रानाले भनिन्, ‘त्यसैले बाख्रा पालेर हामीलाई फाइदा नै भएको छ ।’ रानाले अघिल्लो एक वर्षमा २ लाख २८ हजार बुझेकी छन् । महिला उद्यमीहरूको गोठमा कम्तीमा २० बाख्रा पालेका छन् । बौघागुम्हा छेर्लुङकी शिवकुमारी भट्टराईको गोठमा पनि ५० भन्दा बढी बाख्रा छन् । उनले पनि वार्षिक ३ लाखभन्दा बढी आम्दानी गर्दै आएकी छन् । ‘बाख्रापालनबाट राम्रो फाइदा छ,’ उनले भनिन्, ‘यसबाट घरखर्चदेखि लिएर विभिन्न कामका लागि कसैसँग गुहार्न नपर्ने भएकी छु ।’ उनका अनुसार सहकारीमा आबद्ध भएपछि अझ सहज भएको छ । पैसा चाहिए ऋण लिने र खसी–बोका बिक्री गरेर तिर्ने गरेको उनले बताइन् ।

सहकारीकी अध्यक्ष कमला भण्डारीका अनुसार बाख्रापालनका लागि ४२ जना सेयर सदस्यहरूले २१ लाख ऋण लगेका छन् । तरकारी खेती, कुखुरापालन र अन्य व्यवसायका लागि पनि ऋण लगानी भएको उनले बताइन् । ‘बाख्राको बजारीकरण र बजार व्यवस्थापनका लागि सहयोग गरेका छौं,’ उनले भनिन्, ‘ग्राहकले खोजेअनुसार पुर्‍याउन सकिएको छैन ।’ सहकारीकी व्यवस्थापक सुमित्रा रानाका अनुसार सहकारीमा संकलन भएको ४ सय ६ बीउ पाठी बिक्रीबाट २२ लाख ३७ हजार आम्दानी भएको छ । १ सय १३ वटा बीउ पाठाबाट १५ लाख १२ हजार र ४ सय ५ खसीबोकाबाट ३९ लाख ४४ हजार रुपैयाँ गाउँमा भित्रिएको छ ।

एक वर्षमा ७६ लाख ९५ हजार रुपैयाँ खसीबोका बिक्रीबाट गाउँमा रकम आएको छ । सामाजिक उद्यमी महिला सहकारीमा ४ सय २४ जना सेयर सदस्य छन् । व्यवस्थापक रानाका अनुसार वार्षिक २ करोड ३ लाख ५५ हजारको सहकारीले कारोबार गरेको छ । महिलाहरू मात्र सदस्य रहेको सहकारीमा मासिक सय रुपैयाँदेखि एक हजारसम्म बचत गर्ने बानी बसेको छ । उनीहरूले आगामी वर्ष ५ सय ८७ जना सेयर सदस्य बनाउने लक्ष्य लिएका छन् । अध्यक्ष भण्डारीका अनुसार सेयर पुँजी अहिले १८ लाख रहेको र यसलाई २५ लाख पुर्‍याउने योजनामा छन् । सबै वेयर सदस्यले कम्तीमा ६ वटा माउ बाख्रा पाल्नका लागि अनुरोध गरेको उनले बताइन् । ‘हामीले सेयर सदस्य सबैलाई उद्यमी बन्न प्रेरित गर्नेछौं,’ सहकारीको केही दिनअघि सम्पन्न सातौं साधारणसभामा अध्यक्ष भण्डारीले भनिन्, ‘बाख्राको उत्पादक र उत्पादकत्व वृद्धिमा जोड दिने योजना छ ।’ संस्थाले प्रवेश शुल्क र बाख्रा तौल शुल्क लिने गरेको छ ।

प्रकाशित : आश्विन २८, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?