नेकपाको जिल्ला कार्यालय स्थापना

दुर्गालाल केसी

दाङ — एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय स्थापना गरिएको छ । घोराही उपमहानगरपालिका-१५ भरतपुरस्थित पूर्व एमाले पार्टी कार्यालयलाई नेकपाको कार्यालय बनाइएको छ । 

नेकपाको जिल्ला कार्यालय स्थापना

आइतबार नेकपाका प्रदेश ईञ्चार्ज एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले कार्यालयको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा दुवैतर्फका जिल्ला र केन्द्रीय तहका नेताहरु सहभागी भएका थिए । कार्यालय उद्घाटन गर्दै पोख्रेलले अब बिस्तारै सबै जिल्ला र स्थानीय तहमा पार्टी एकीकरणको काम थाल्ने बताए ।


जिल्लामा पार्टी गतिविधि सञ्चालनका लागि चार सदस्यीय कार्यदल बनेको छ । कार्यदलका सदस्यहरुमा पूर्व एमालेबाट टीकाराम खड्का र शिवकुमार आचार्य तथा माओवादी केन्द्रबाट तुलसीराम पुन र रामजी चौधरी छन् ।

नेकपा प्रदेश कमिटीको पहिलो बैठकले जिल्ला मातहतका पार्टी कमिटीहरुको एकता प्रक्रियालाई केन्द्रको निर्देशन अनुसार सम्पादन गरी प्रदेश कमिटीले सिफारिस गर्न प्रदेश अन्तर्गतका जिल्लाहरुमा कार्यदल बनाएको हो ।


अब कार्यदलले पार्टीको नियमित काम सञ्चालन गर्ने पोख्रेलले बताए । ‘अहिले यही कार्यदलले पार्टी सञ्चालन गर्छ । अब एक महिनामा जिल्ला र स्थानीय तहमा पार्टीको पूर्ण एकता भैसक्छ’ उनले भने,‘कार्यदलले २० दिनमा एकताको सिफारिश र तत्कालीन एमाले र माओवादी केन्द्रका सदस्यहरुको अभिलेख तयार पार्नुपर्छ ।’ जिल्लाको पार्टी नेतृत्व र संरचना केन्द्रीय कमिटीबाटै टुंगो लाग्ने भएकाले जिल्लामा अनावश्यक विवाद नगर्न पनि उनले नेता कार्याकर्ताहरुलाई सचेत गराए ।


पोख्रेलले अब नेकपाको बहुमत प्राप्त सरकारले देशलाई समृद्धितर्फ लैजाने दाबी गरे । ‘केही प्रतिगामी तत्वहरुले सरकारविरुद्ध अनावश्यक वितृष्णा फैलाइरहेका छन्,’उनले भने,‘देश परिवर्तनको दिशामा अघि बढिसक्यो । अब आर्थिक विकास नै मुख्य प्राथमिकता हो ।’

राजनीतिक आन्दोलनको सफलतापछि आर्थिक विकासको आवश्यकता रहेको उनले बताए । जनताको जीवनस्तरमा देखिने खालको परिवर्तन ल्याउन संघ र प्रदेश सरकार लागिपरेको उनले बताए ।

प्रकाशित : आश्विन २८, २०७५ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?