कर्णालीमा हराउँदै डल्फिन

कमल पन्थी

बर्दिया — पानीको सतह घट्दै गएपछि कर्णाली नदीबाट डल्फिन पनि हराउँदै जान थालेका छन्  । बर्दिया राष्ट्रिय निकुञ्जको किनार हुँदै बग्ने कर्णाली नदीमा सन् १९८० सम्म १ सयभन्दा बढी डल्फिन पौडिन्थे  ।

कर्णालीमा हराउँदै डल्फिन

तर, अहिले ती घटेर लोप हुने अवस्थामा पुगेका छन् । कर्णालीको भँगालो गेरुवा नदीमा विचरण गर्ने डल्फिन हराइरहेको निकुञ्जले बताएको छ ।


‘गेरुवामा जलस्तर सुक्दै गएपछि डल्फिन देखिन छाडेका हुन्,’ बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोककुमार भण्डारीले भने, ‘जथाभावी माछा मार्ने, जलस्तर घट्दै जानेजस्ता कारणले अहिले गेरुवामा लामो अनुसन्धान गर्दा पनि एउटै डल्फिन भेटिएको छैन ।’ चार वर्षअघि बर्दिया राष्ट्रिय निकुञ्जले गरेको सर्वेक्षणअनुसार कर्णाली नदीमा डल्फिनको संख्या ६ थियो । कर्णालीमा १० वर्षअघि ठूलो बाढी आएको थियो । त्यही बाढीले गेरुवामा धार परिवर्तन गरेपछि गेरुवामा डल्फिनको संख्या शून्य भएको भण्डारीले बताए । उनका अनुसार पश्चिम कर्णालीमै अहिले जम्मा ६ वटा डल्फिन रहेका छन् ।


निकुञ्जका अनुसार १० वर्षअघिसम्म मनाउघाट, गोलाघाट र कोठियाघाटमा विचरण गर्ने डल्फिन कर्णालीको भँगालो गेरुवा नदीमा सरेका थिए । धेरै डल्फिन विचरण गर्ने दौलतपुर र पाताभार क्षेत्रमा समेत अहिले डल्फिन कम देखिन थालेको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । मुलुकको सबैभन्दा लामो र सफा नदी कर्णालीमा संरक्षणको अभावमा डल्फिन लोप हुँदै गएको निकुञ्जका भण्डारीको दाबी छ । अवैध रूपमा माछा मार्दा नदीमा विषादी प्रयोग गर्नु र नेपाल–भारत सीमादेखि करिब १५ किलोमिटर दक्षिणमा बनाइएको गिरिजापुरी बाँध नै डल्फिन लोप हुनुको प्रमुख कारण भएको स्थानीय संरक्षणकर्मी रामजी थापाले बताए ।

‘पानीमा विचरण गर्दागर्दै डल्फिन र अरू जलचर पनि बाँधभन्दा मुनि सजिलै जान्छन् तर माथि फर्कन सक्दैनन्,’ उनले भने, ‘विष प्रयोगले पनि लोप हुने क्रम बढ्दो छ ।’ कर्णालीमा माछा मार्नेको संख्या बढ्दो छ । त्यसले पनि डल्फिनलगायत साना माछामा आश्रित ठूला माछाका प्रजाति लोप हँुदै गएको संरक्षणकर्मीले बताए ।


स्थानीय भाषामा डल्फिनलाई ‘सोस’ वा ‘ससुवा’ भनिन्छ । मानिससँग नजिकको मित्रता गाँस्न सक्ने जीवका रूपमा पनि डल्फिनलाई चिनिन्छ । बुद्धिमान र स्तनधारी जीव डल्फिनको चमत्कार प्रकृतिमा आधारित हुने भएकाले धेरै मुलुकमा यसलाई विभिन्न खेलमा पनि प्रयोग गरिन्छ । नेपालमा नारायणी, कोसीजस्ता ठूला र प्रदूषणले कम रहेका नदीमा डल्फिन पाइए पनि कर्णाली नदीबाट डल्फिन लोप हुँदै गएकामा निकुन्ज मात्र होइन, स्थानीयबासी पनि दु:खी छन् । यहाँ पर्यटक आगमनको मुख्य आकर्षण डल्फिन रहेको थियो ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?