कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बिदाका दिन नागरिकता

हरि गौतम

रुकुम पूर्व — भूमे गाउँपालिका १, लुकुम गाउँकी फुर्कु गुरुङले ८० वर्षको उमेरमा नागरिकता लिइन् । त्यो पनि गाउँमै । नागरिकता लिन टाढा जानुपर्ने भएका कारण यो उमेरसम्म नागरिकता नलिएको उनले बताइन् । नागरिकता वितरण टोली जब गाउँमै पुग्यो, उनले नागरिकता लिइन् ।

बिदाका दिन नागरिकता

८० वर्षको उमेरमै भए पनि नेपाली नागरिक हुन पाएकामा उनले खुसी व्यक्त गरिन् । घरदैलोमै नागरिकता लिने गुरुङ एक्ली महिला होइनन् । ७५ वर्षीया मनखना घर्तीले पनि दैलोमै नागरिकता पाइन् । गुरुङ र घर्तीसहित लुकुम गाउँका ४८ जनाले घरदैलोमै नागरिकता पाए । भूमे गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको संयुक्त प्रयासमा एकै दिनमा एकै गाउँका ४८ जनालाई नागरिकता वितरण गरिएको हो । शनिबार बिदाको दिन पारेर नागरिकता वितरण टोली लुकुम गाउँ पुगेको थियो ।


प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा लुकुम गाउँमै नागरिकता वितरण गरिएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । यो कार्यलाई अन्यत्रका गाउँमा पनि लैजाने उनले बताए । गाउँगाउँ पुगेर नागरिकता वितरण गर्ने कार्य असोज २७ गते शनिबारबाट सुरु गरिएको हो ।


अब जिल्लाका नागरिकले हरेक बिदाको दिन घरदैलोमै नागरिकता पाउने भएका छन् । विभिन्न कारणले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्नेहरूका लागि बिदाको दिनको सदुपयोग गर्दै नागरिकता वितरण गर्ने गरी योजना बनाइएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । ‘अब स्थानीय तहको अनुरोधमा हामी कुनै पनि गाउँमा गएर नागरिकता वितरण गर्न तयार छौं,’ प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘त्यसको सुरुवात भूमेको लुकुमबाट गरेका छौं ।’ लुकुममा प्रजिअ शर्मा आफैं गएर नागरिकता वितरण
गरेका थिए ।


स्थानीय तहले धेरै उमेर भएर पनि नागरिकता नपाएका, अपांगता भएका, असहाय, एक्लै बस्नेलाई लक्षित गरी नागरिकता वितरणका लागि अनुरोध गरेपछि जुन ठाउँमा पनि पुगेर नागरिकता वितरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालय समयभन्दा सार्वजनिक बिदाको दिन पारेर नागरिकता वितरण गर्न गाउँगाउँ जाने र घरदैलोमै नागरिकता वितरण गर्ने गरी कार्यक्रम बनाइएको जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओलीले बताए । उनले स्थानीय तहको व्यवस्थापन, जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको उपस्थितिमा नागरिकताका साथै राहदानी सिफारिस पनि दिने गरिएको बताए । यसका साथै मतदाता नामावली संकलन पनि अब घरदैलोमा पुगेर गरिने जनाइएको छ ।
नागरिकता वितरण गर्ने ठाउँबाटै मतदाता नामावली संकलनको व्यवस्था गर्ने गरी तयारी गरिएको उनले बताए । ‘अब हरेक बिदाको दिन कुनै न कुनै गाउँ पुगेर नागरिकतालगायतका सेवा प्रदान गरिनेछ,’ प्रमुख ओलीले भने, ‘यसका लागि जिल्ला प्रशासन कार्यालयले कार्यक्रम बनाइसकेको छ । जिल्ला समन्वय समितिको समन्वयात्मक भूमिका हुनेछ भने स्थानीय तहले त्यसको व्यवस्थापन र नागरिकता वितरण गर्नुपर्ने गाउँको पहिचान गर्नेछ ।’


गाउँगाउँमै नागरिकता
बर्दिया– जिल्ला प्रशासन कार्यालयले गाउँगाउँमा नागरिकता वितरण कार्य तीव्र पारेको छ । जिल्लाको बढैयाताल र गेरुवा गाउँपालिकालगायत बाँसगढी र बारबर्दिया नगरपालिकामा दुई महिनायता नागरिकताको प्रमाणपत्रबाट वञ्चितलाई गाउँमै पुगेर नागरिकता वितरण सुरु गरिएको हो ।


आइतबार जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले बारबर्दियाका १ सय ८३ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । विभिन्न कामले बाहिर गई दसंै मनाउन घर फर्केकालाई लक्षित गरी नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । दुई महिनायता करिब तीन हजार नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको टोलीको दाबी छ ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?