२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

चाडपर्वमा खाद्यान्न अचाक्ली महँगो

माधव अर्याल

पाल्पा — बजारमा चिनी प्रतिकिलो ८ देखि १२ रुपैयाँ बढेको छ  । मन्सुली चामल किलोमा ५ देखि १० रुपैयाँ महँगो  ।

चाडपर्वमा खाद्यान्न अचाक्ली महँगो

मसला केजीमै कम्तीमा ५० रुपैयाँ बढी तिर्नुपरेको छ । खाने तेल लिटरमै १५ रुपैयाँसम्म बढेको छ । फेन्सीको कुरै नगरौं, ३ सयदेखि ५ सय रुपैयाँ महँगो तिरेर किन्नुपरेको उपभोक्ताको गुनासो छ । यी केही उदाहरण मात्र हुन् । चाडपर्वका बेलामा हुने माग र बिक्री बढ्ने मौकाको फाइदा उठाउँदै व्यापारी र व्यवसायीले दसैंमा फेन्सी र खाद्यान्न महँगो बनाएको उपभोक्ताको गुनासो छ । खाद्यान्न लत्ताकपडालगायत उपभोग्य वस्तुको मूल्य बढेको उनीहरूले बताए ।


जिल्लाका अधिकांश सहर र ग्रामीण बजार क्षेत्रमा फेन्सी र दैनिक उपभोग्य सामग्री महँगो भएको उपभोक्ता रिमाकुमारी थापाले बताइन् । दसैंको किनमेल गर्नेहरूले अघिल्लो वर्षभन्दा यस वर्ष मूल्य बढेको बताए । उनीहरूले आफूहरूलाई दसैं बजार महँगो भएकाले मर्का परेको सुनाए । ‘बजारमा दैनिक उपभोग्य वस्तु अचाक्ली महँगो रहेछ,’ तानसेन घर भएकी थापाले भनिन्, ‘अघिल्लो वर्षभन्दा यस वर्ष अझै बढी महँगो छ ।’ उपभोक्ताका अनुसार कतिपय पसलमा मूल्य सूची नै छैन । कतिपय व्यापारीले डलरको भाउ बढेकाले सामानको मूल्य पनि बढेको बताएका छन् । कतिपयले भने दसैं, तिहारको समयमा नेपाली उत्पादनले बजार थेग्न नसक्ने भएकाले भाउ अकासिने बताए । भारत र तेस्रो मुलुकबाट सामान ल्याउनुपर्दा महँगो भएको उनीहरूको तर्क छ ।


तानसेनका उपभोक्ता केशव थापाका अनुसार आलु, प्याजजस्ता सामानमा पनि मूल्य बढेको छ । ‘दुई साताअघि र अहिले मूल्यमै धेरै फरक छ,’ थापाले भने, ‘बजार अनुगमन भए पनि यसलाई नियन्त्रण गर्ने कसले हो भन्ने बुझिएको छैन ।’ १ हजार ४ सय ५० मा पाइने ३० किलो चामलको बोरा १ हजार ८ सय तिर्नुपरेको छ । १ हजार ४ सय ५० मा पाइने खाने तेल कार्टुनलाई १ हजार ८ सय तिर्नुपरेको उनले बताए । उभोक्ताका अनुसार प्रत्येक सामानमा मूल्यवृद्धि भएको छ ।


‘कतिपय व्यापारीले भारतबाट सामान नआएकाले बढी मूल्य तिर्नु परेको बताउँछन्,’ तानसेनका उपभोक्ता दीपक खनालले भने, ‘यस विषयमा उपभोक्ताको साथ कसले देलाजस्तो हुन थालेको छ ।’ उनका अनुसार दैनिक उपभोग्य सामग्री किन्न जाँदा पहिला छैन भन्ने गर्छन् ।


पछि हाम्रो यति बढी परेको छ र महँगोमा आएको छ भन्दै निकालेर दिन पसले खप्पिस भइसकेको उनले बताए । कतिपय सामग्रीमा अचाक्ली मूल्य बढेको छ । जसले गर्दा उपभोक्तालाई चाडपर्व नै खल्लो बनाउने अवस्था आएको उनले बताए ।


तानसेनबाहेक छहरा, हार्थोक, सोमादी, आर्यभन्ज्याङ, रामपुरलगायत ग्रामीण बजारमा पनि दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । छहराकी उपभोक्ता मीना रायमाझीका अनुसार दसैंका लागि सामान किन्न जाँदा अन्य समयमा भन्दा महँगो परेको सुनाइन् । ‘चाडपर्वमा व्यापारीलाई कमाउने राम्रो मौका मिलेको छ,’ उनले भनिन्, ‘यस्तो अवस्थालाई कसैले पनि नियन्त्रण गर्दैन ।’


दुई दिन चहलपहल
१० वर्षअघिसम्म घटस्थापनापछि अत्यधिक चहलपहल हुने तानसेन बजार यस वर्ष दुई दिन मात्र भीड रहयो । पुरानो व्यापारिक केन्द्र तानसेनमा दसैंको किनमेल गर्नेको भीड अन्य दिनमा लागेन । पञ्चमी र षष्ठी दुई दिन अत्यधिक भीड रहेको व्यापारी शैलेन्द्र भट्टराईले बताए । ग्रामीण भेगमा बजार बढै गएकाले तानसेनमा व्यापार गर्नेको चहलपहल कम भएको हो । व्यापारीहरूका अनुसार गाउँमै बजार बसेकाले पनि तानसेन बजारमा चहलपहल कम हुँदै गएको हो । ‘अहिले बजारमा कमै चहलपहल देखियो,’ स्थानीय विनोद पन्तले भने, ‘एकाएक घटस्थापनादेखि बजारमा बढी भीडभाड हुन्थ्यो । यस वर्ष त्यस्तो देखिएन ।’ उनका अनुसार तानसेनमा केही मात्रामा मखनटोलमा ग्राहकको भीड लागे पनि अन्यत्र दसैं
आएजस्तो देखिएन ।


तानसेनको बसपार्क, मखनटोल, सिल्खानटोल, विशालबजार, शीतलपाटी, नारायणस्थानमा समेत किनमेल गर्नेको भीड देखिएन ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?