२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

१ सय ४१ जनालाई धनीपुर्जा वितरण

अमृता अनमोल

बुटवल —  गाउँ ब्लकका कारण समस्यामा परेका जग्गाधनीले धमाधम व्यक्तिगत पुर्जा पाउन थालेका छन् । स्थानीय तहले प्राथमिकता दिएर नापी कार्यालयसँगको सहकार्यमा धनीपुर्जा वितरण सुरु गरेका हुन् । एक सातामा रूपन्देहीका ३ स्थानमा १ सय ४१ जनाले धनीपुर्जा पाएका छन् ।

१ सय ४१ जनालाई धनीपुर्जा वितरण

बुटवल उपमहानगरपालिका १९ को भुडकैयाका ४९ जनाले आइतबार लालपुर्जा पाए । आफ्नै जग्गा भए पनि प्रमाणविहीन अवस्थामा रहेका उनीहरूले ४८ वर्षपछि जग्गाधनी पुर्जा पाएका हुन् । गाउँ ब्लकको पुर्जा पाएकी १ सय २ वर्षीया लक्ष्मीदेवी आचार्यले बल्ल आफ्नो सम्पत्ति आफ्नै हातमा आएको बताइन् । ‘हामीले नपाए पनि हाम्रा सन्तानले यो जग्गा किनबेच गर्न र बैंकमा धितो राखेर ऋण पाउने भए,’ उनले भनिन्, ‘धेरै प्रयासमा पुर्जा पाइयो ।’


०२७ मा जग्गाको नापी हुँदा घना बस्ती भएकाले यस क्षेत्रलाई एकै ब्लकमा छोडिएको थियो । त्यसयता यहाँका बासिन्दाले पटकपटक नापी कार्यालयमा जग्गाको छुट्टाछुट्टै नापजाँच गरेर व्यक्तिगत पुर्जा दिन आग्रह गर्दै आएका थिए । पछिल्लो समय स्थानीय तहले समेत दबाब दिएपछि मात्रै नापी कार्यालयले नापजाँच गरेको हो । नगर प्रमुख शिवराज सुवेदीले नागरिकलाई अपनत्व दिलाउन बुटवल उपमहानगरपालिका र नापी कार्यालय भैरहवाले संयुक्त रूपमा जग्गाधनी पुर्जा वितरण गरेको बताए ।


ओमसतिया गाउँपालिकाको पडसरी र शुद्धोधन गाउँपालिकाको भुजौलीमा पनि गाउँ ब्लक जग्गाको प्रमाणपत्र वितरण भएको छ । पडसरी ५ को २८० नं. कित्तामा रहेको १ बिघा १३ कट्ठा जग्गाबाट २७ जनाले लालपुर्जा पाएका छन् । शुद्धोधनको भुजौलीमा रहेको कित्ता नं. ७९ को १५ कट्ठा जग्गाको लालपुर्जा १५ जनालाई वितरण भएको छ । सबै स्थानीय तहमा त्यहाँका पदाधिकारीको रोहबरमा पुर्जा वितरण गरेको नापी कार्यालय भैरहवाका प्रमुख जनकबहादुर भण्डारीले बताए ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?