अल्लोमा युवा मन

सिस्नु प्रजातिको वनस्पति अल्लो पहाडी भेगतिर पाते सिस्नु या ठूलो सिस्नुका नामले चिनिन्छ
दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका ६, फचकपुरकी १२ कक्षा अध्ययनरत पुष्पा डाँगी अल्लोका टोपी र कपडा देखेर साह्रै उत्साहित भइन्  । अल्लोको टोपी लगाएर सेल्फी हानिन्  ।

अल्लोमा युवा मन

घोराही ५, धर्नाकी मोनिका धिताललाई पनि अल्लोका कपडाले लोभ्यायो । उनले पनि अल्लोको टोपी लगाउँदै सेल्फी खिचिन् । त्यतिले मात्रै चित्त नबुझेपछि उनले उद्यमी महिलासँग अल्लोको कपडा उत्पादनबारे जिज्ञासा राखिन् । अल्लोको कच्चा पदार्थ, बुन्ने तरिका र यसको महत्त्वबारे थाहा पाएपछि उनी दंग परिन् ।


कुनै बेला पहाडी भेगको मात्रै पोसाकका रूपमा परिचित अल्लो अहिले सहरी क्षेत्रमा पनि आकर्षण बनेको छ । सहरको नयाँ पुस्ताले समेत यसबारे सोधीखोजी गरी प्रयोग गरिरहेको छ । पहाडी जिल्लामा पाइने अल्लोबाट उत्पादित कपडा देशका विभिन्न ठाउँमा बिक्री भइरहेका छन् । स्थानीय स्रोत साधन र सीपबाट उत्पादित कपडा प्रयोग गर्नेको संख्या दिनहुँ बढिरहेको घोराहीकी अल्लो उद्यमी सीता मल्लले बताइन् । रुकुम, रोल्पातिर पुरुषहरू रोजगारको सिलसिलामा बाहिर जाँदा घरमै बस्ने महिलाहरू अल्लोका कपडा बुन्ने गर्छन् ।


यही पुख्र्यौली पेसालाई मल्लजस्ता महिलाले उद्यमका रूपमा विकास गरेका छन् । सहर बजारमा अल्लोबारे जानकारी नभएकाले सुरुमा यसको महत्त्व बुझाउन कठिन भएको मल्लको अनुभव छ । ‘सुरुमा पहाडी भेगका मानिसलाई मात्रै यसबारे थाहा थियो । सहरका मानिसहरू यो के हो भनेर सोध्थे,’ उनले भनिन्, ‘सिस्नुबाट बनेको भनेपछि सबै छक्क पर्थे । बिस्तारै मानिसले यसबारे चासो दिन थाले, रहरै रहरले कपडा किन्ने र हेर्नेको संख्या बढै गयो ।’ अहिले स्थानीय सीपलाई प्रवद्र्धन गर्ने उद्देश्यले पनि धेरैले मन पराइरहेको उनले बताइन् । अल्लो सिस्नु प्रजातिको वनस्पति हो । पहाडी भेगतिर यसलाई पाते सिस्नु या ठूलो सिस्नु भन्ने गर्छन् । पहाडमा अल्लो सबैतिर पाइने भए पनि महत्त्व नबुझेकाले त्यत्तिकै
काटेर फालिदिन्छन् ।


अहिले महिलाहरूले अल्लोका उद्योग नै स्थापना गरेपछि यसको महत्त्व बढेको छ । अल्लोका तयारी कपडा लिएर उद्यमी महिलाहरू विभिन्न जिल्लामा हुने मेला, महोत्सव र प्रदर्शनीहरूमा जान्छन् ।

महोत्सवमा अल्लोका कपडा हेर्न मानिसहरू टिकट काटेर आउने गरेको मल्लले बताइन् । अल्लोबाट ७० प्रकारका सामान उत्पादन भइरहेका छन् । यसमध्ये जुत्ता, झोला, जुहारी कोट, पेटी, पर्सजस्ता सामान बढी बिक्री भइरहेका छन् । सुरुमा अल्लोको डाँठ अर्थात् पुवा आउँछ । त्यसबाट लोक्ता निकाल्ने, लोक्ता प्रशोधन गरी भुवा निकाल्ने र भुवाबाट धागो निकालेर तानमार्फत कपडा बुन्ने गरिन्छ । मसिनो धागोबाट कपडा बुनिन्छ भने मोटो गलैंचा निर्माणका लागि बिक्री हुन्छ । कच्चा पदार्थ राप्तीका पहाडी जिल्लाका साथै बाजुरा, डोटी, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुलाबाट ल्याउने गरिन्छ ।


नेपाली परम्परागत वस्तु र सीपबाट उत्पादित सामग्री भए पनि यसको बजार अन्तर्राष्ट्रिय समुदायसम्म विस्तार हुन थालेको घोराहीकै उद्यमी प्रेमकुमारी पुनले बताइन् ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?