२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

युवाले जोगाए चर्खे पिङ

काठैकाठले बनेको चर्खे अर्थात् रोटे पिङ गाउँमा लोकप्रिय
माधव अर्याल

पाल्पा — माथागढी गाउँपालिका ४, केरौलीका हरि चौहान ३९ वर्षको भए । घर छेउमा राख्ने काठैकाठको चर्खे पिङ नहालेको जानेको एक वर्षमात्रै हो । सधैंभरि उनी पिङ खेलेको सम्झन्छन् । ‘दसैंको फूलपातीदेखि तिहारसम्म यही पिङमा मेला नै लाग्छ,’ उनले भने, ‘सबैको मनोरन्जनको साधन परम्परागत चर्खे पिङ बनेको छ ।’

युवाले जोगाए चर्खे पिङ

जिल्लाकै अन्यत्र यस्ता पिङ धेरैले बनाउन छाडे । फोक्सिङकोटमा अघिल्ले वर्ष एउटा राखेका थिए । यस वर्ष त्यही राख्ने मान्छे जुटेनन् । यहाँका युवा, किशोरकिशोरी, बालबालिका भने हरेक वर्ष पिङ राख्न कस्सिन्छन् । उनीहरू हरेक वर्ष पिङको कुनै न कुनै काठ नयाँ फेर्छन् ।

‘धेरै टाढाबाट कक्षा ८, ९ मा पढ्नेले काठको थाम ल्याएका हुन्,’ चौहानले भने, ‘बालबालिका, किशोरकिशोरी र युवामा अझै पनि यस्तो पिङ बनाउनुपर्छ भन्ने छ ।’ उनका अनुसार दसैंमा धेरै युवा गाउँमा जम्मा हुन्छन् । ४० घर रहेको यस गाउँका युवा खाडी मुलुक कम गएका छन् । भारतीय प्रहरी, सैनिक र नेपालमा जागिर खान्छन् । ‘दसैंमा जसले पनि छुट्टी मिलाएर आउने चलन छ,’ उनले भने, ‘त्यसैले पनि गाउँ रमाइलो हुन्छ ।’ यहाँ मगर र केही घर दलित छन् ।


चर्खे पिङ राखेको स्थानमा खाली जग्गा छ । टेन्ट लगाउने, माइक बजाउने र नाचगान पनि यही गर्छन् । सम्झना बाल क्लब, गाउँको युवा क्लब, आमा समूहले पनि पिङका लागि साथ दिन्छन् । ‘आवश्यक काठ सामुदायिक वनमा निवेदन दिएर ल्याउने गरिन्छ,’ युवा पृथबहादुर चौहानले भने, ‘अहिलेसम्म पाइएकै छ । त्यसैले यो पिङ राख्न कुनै समस्या छैन ।’ नजिकको झडेवा खलटारीमा पनि यस्तै पिङले निरन्तरता पाएको छ ।


दसैंका दिन र कोजाग्रत पूर्णिमामा मेला नै लाग्छ । रातभर यहाँ पिङ खेल्छन् । महिला, युवकयुवती, केटाकेटी सबै रमाइलो गर्छन् । विभिन्न खेल खेलाउने र पिङ खेल्न पालो पर्खनेको भीड हुन्छ । नजिकको देवीनगर, जल्पा, झडेवाका विभिन्न स्थानका साथै रहवास, गोठादीबाट समेत यहाँ पिङ खेल्न आउने गर्छन् ।

‘युवाहरूको जोश र जाँगर अझै मरेको छैन,’ स्थानीय अमरबहादुर चौहानले भने, ‘जसले गर्दा अहिलेसम्म परम्परा धानेका छन् ।’ पिङ बनाउन काठ नपाउने हो भने १ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ । तर, अहिले काठ सामुदायिक वनले दिएकाले ६० हजारमा तयार भएको छ । खर्च पनि उनीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमबाट उठाएर गर्छन् । पहिला भने घरछेउकै चौहान परिवारले राख्न सहयोग गर्थे ।


यस पिङमा काठैकाठको प्रयोग गरिन्छ । दुईतिर काठका थाम हुन्छन् । त्यसकै माथि केप (बलो अडाउने) गरिएको हुन्छ । त्यही केपमा बलो घुसाइन्छ । चारवटा काठकै बाँहा (खट बनाउन राखिएको) हुन्छन् । त्यही बाँहामा खट (पिर्का) बनाइन्छ । ‘मिहिनेत धेरै लाग्छ,’ स्थानीय अमरले भने, ‘काठैकाठ आवश्यक पर्ने भएकाले खर्चिलो पनि छ ।’

पहिला विशेषगरी मगर बस्तीमा चर्खे अर्थात् रोटे पिङ लोकप्रिय थियो । अहिले यस्ता पिङ बनाउन जान्ने कमै छन् । गाउँघरमा भएका युवा विदेश पलायन भए । त्यसैले टोलटोलमा देखिने यस्ता पिङ देख्नै मुस्किल पर्न थालेको छ । कतिपय गाउँमा बनाउनै छाडिसकेका छन् ।

‘झडेवामा केरौली र खलटारीमा राख्न छाडेका छैनन्,’ झडेवाका गजेन्द्र पन्थीले भने, ‘अहिले अन्यत्र राख्नै छाडिसके ।’ उनका अनुसार जंगलबाट जथाभावी काठ काट्न पाइँदैन । बसाइँसराइ बढी छ । परम्परा भुल्दै गएको र अन्यत्रै रमाइलो गर्नेको जमात बढेको छ । पहिले राख्ने चिर्तुङधारा, कसेनी, कोलडाँडा, रुप्सेलगायत गाउँमा चर्खे पिङ देखिनै छाडे । रामपुर नगरपालिका, निस्दी, पूर्वखोलाका अधिकांश गाउँमा जतासुकै यस्ता पिङ राख्थे । पहाडी जिल्लाका बस्ती पछिल्लो समय सुनसान छन् । निस्दीका ज्यामिरे, मित्याल, अर्चले, गल्धाका केही भागमा अझै बनाउने चलन छ ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?