२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाहुनालाई टीका र जमरा

कान्तिपुर संवाददाता

परासी — दसैं हिन्दु धर्मावलम्बीले आ–आफ्नो गच्छेअनुसार मनाए  । घरबाहिर गएका आफन्त र इष्टमित्र गाउँघर आएर रमाइलो गर्दै टीका र जमरामा सजिए  ।

पाहुनालाई टीका र जमरा

विदेशी पनि के कम ! पूर्वी नवलपरासीको पर्यटकीय गाउँ अमलटारीमा रहेको टाइगर टप्स थारु भिलेजमा उनीहरूले पनि दसैंको टीका थापे । बेग्लै रौनक र उल्लासमा उनीहरूले पनि यसपटकको दसैं मनाए ।


विभिन्न मुलुकबाट घुम्न आएका विदेशी पर्यटकले सुरुमा होटलका कर्मचारीको निधारमा रातो टीका र शिरमा जमरा देखेपछि अचम्मित हुँदै प्रश्न गरेका थिए । कर्मचारीबाट दसैंको महत्त्व र यसको सांस्कृतिक पक्षबारे जानकारी पाएपछि पर्यटकहरू उत्साहित हुँदै आफूहरू पनि टीका, जमरा र आशीर्वाद ग्रहण गर्नका लागि तयार भएको सुनाए । धार्मिक परम्पराअनुसार पण्डितै बोलाएर मन्त्रोच्चारणसहित टीका लगाउँदा विदेशी पर्यटक खुसी भए ।


होटलका प्रबन्ध निर्देशक डीबी चौधरीले सबै पर्यटकलाई हिन्दु परम्परा अनुसार टीका, जमरा, आशीर्वाद र दक्षिणा दिएर टीकाको सुरुवात गरे । ‘दसंैको धार्मिक एवं सांस्कृतिक महत्त्व सुनाएँ,’ उनले भने, ‘सामाजिक सद्भाव र एकता कायम गर्न यो पर्व महत्त्वपूर्ण रहेछ भन्दै पर्यटक उत्साहित भएर रमाए ।’ धर्मलाई सामाजिक अनुशासनसँग जोडा विदेशी खुसी हुने उनको अनुभव छ ।
बिदा मनाउन नेपाल आएका अन्नातारा इडवार्ड टीका र जमरामा सजिँदा खुसी भइन् । नेपाल बहुभाषिक र बहुधार्मिक मुलुक भनेर सुनेको भए पनि प्रत्यक्ष सहभागी भएर पर्व मनाउन पाउँदा औधि खुसी लागेको उनले बताइन् । ‘म संसारका धेरै मुलुक घुमिसकें तर नेपाल भूगोलमा सानो भए पनि धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा संसारकै धनी मुलुक रहेछ,’ उनले भनिन्, ‘दसंैको सामाजिक र वैज्ञानिक महत्त्वबारे थाहा पाएर आशीर्वाद लिन पाउँदा हर्षित छुु ।’


ब्रिटिस नागरिक इसाबेल चार्लाेट पनि दसंैमा पिङ, टीका, जमरा र दक्षिणा पाउँदा खुसी भइन् । उनीसँगै अन्य विदेशी पाहुनाले आलोपालो टीका लगाउँदै
आफ्ना सन्तान र साथीभाइलाई नेपाली परम्परा अनुसार टीका लगाइदिए ।


होटलले हरेक जातिको चाडपर्वमा आफ्ना पाहुनालाई पर्वको महत्त्व र सोहीअनुसारको परिकारको समेत स्वाद चखाउने गर्छ ।


विदेशी पर्यटकले अन्य मुलुकमा जे उद्देश्यका लागि गएको हो, सोही कुराको मात्र जानकारी दिने भन्दै नेपालमा आतिथ्यतासँगै सांस्कृतिक तथा सामाजिक पक्षको समेत ज्ञान प्राप्त हुने हुँदा फर्किएपछि अन्य साथीभाइलाई नेपाल घुम्न जान प्रेरित गर्ने उनीहरूले बताए ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?