१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पाल्हीनन्दनमा प्रशासनिक भवन

कान्तिपुर संवाददाता

परासी — पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण सुरु गरेको छ  । वडा नम्बर ३ मा बन्ने भवनको गत सोमबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गरे  ।

पाल्हीनन्दनमा प्रशासनिक भवन

जनताको काम नागरिक बडापत्र अनुसार छिटो र प्रविधियुक्त तरिकाले सम्पन्न गर्न आधुनिक भवन निर्माणको काम सुरु भएको उनले बताए । ‘स्थानीयले मत प्रयोग गरेर जनप्रतिनिधि पाए पनि प्रशासनिक र स्रोत साधनले अधिकार स्थापित गर्न भौतिक पूर्वाधार महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘आर्थिक, भौतिक र नीतिगत रूपमा स्थानीय तह बलियो भएपछि विकासले पनि गति लिनेछ ।’


आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने भवनको कुल लागत ८ करोड ४५ लाख रुपैयाँ रहेको छ । डेढ कठ्ठा सार्वजनिक जग्गामा चारतले भवन निर्माणको ठेक्का प्राकृतिक निर्माण सेवा प्रालि, भैरहवाले लिएको प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले बताए । गत वर्ष नै भवन निर्माण सुरु गर्ने योजना भए पनि पोखरी पुरेर भवन निर्माण गर्न लागेको भन्दै मुद्दा परेपछि काम रोकिएको थियो ।


विवादित जग्गामा गाउँपालिकाको कार्यालय भवन निर्माण गर्न लागेको भन्दै शिलान्यास कार्यक्रमका दिन कुश्माका स्थानीयले विरोध प्रदर्शन गर्दै सडक अवरोध गरेका थिए । पाल्हीनन्दन ३ को झुल्नीपुरमा रहेको विवादित जग्गामा कार्यालय भवनको शिलान्यास गराएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको स्थानीय हरिहर चौहानले बताए । विवाद अदालतसम्म पुगेपछि पुनरावेदन अदालतले उक्त विवादित जग्गामा कुनै प्रकारको भौतिक संरचना वा पूर्वाधार नबनाउन आदेश जारी गरेपछि काम रोकिएको थियो ।


स्थानीय तह पुन:संरचना आयोगले पाल्हीनन्दन गाउँपालिकाको स्रोत केन्द्र गाउँपालिका ३, कुश्मा गाउँमा तोकेको थियो तर गाउँ कार्यपालिकाले गत वर्ष नै गाउँपालिका कार्यालय सोही वार्डको बेलासपुर चोकस्थित एक भाडाको घरमा संचालन गर्दै आएको थियो ।


गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले विवादित जग्गामा भवन निर्माण हुन नलागेको दाबी गर्दै कार्यपालिकाको निर्णयअनुसार सार्वजनिक जग्गाका काम सुरु भएको प्रतिक्रिया दिए ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?