कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

संरक्षणको पर्खाइमा पालुकास्थान मन्दिर

गिरुप्रसाद भण्डारी

प्यूठान — पूर्वी प्यूठानीको धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको ऐतिहासिक पालुकास्थान मन्दिर संरक्षणको अभावले जीर्ण बन्दै गएको छ  । स्थानीय बसाइँ सरेर गएपछि मन्दिरमा पूजापाठ गर्ने पुजारीसमेत छैनन्  ।

संरक्षणको पर्खाइमा पालुकास्थान मन्दिर

मल्लरानी गाउँपालिका २, चुजाठाँटीस्थित पालुकास्थान मन्दिरको इतिहास पौडेल वंशसँग सम्बन्धित रहेको स्थानीय बताउँछन् । भारतको उत्तराखण्डको हरिद्वार पौडी क्षेत्रबाट नेपालका विभिन्न भाग हँुदै प्यूठानको चुजामा पौडेलहरू आएको इतिहास छ ।

चुजा प्रवेश गर्ने समयमा बत्ती बालेर आउँदै गर्दा पालुकास्थान मन्दिरनजिकै बत्ती निभेपछि पालु देवताको देवस्थल तयार गरी पूजाआजाको सुरुआत गरेको इतिहास रहेको भानुभक्त मावि चुजाठाँटीका शिक्षक डिलाराम पौडेलले बताए । उनले पछिल्लो समय यसको संरणमा कसैले ध्यान नदिएकाले मन्दिरसमेत जीर्ण बन्दै गएको गुनासो गरे ।

वि.सं. १९४० मा चुजाठाँटीको मुडखोलामा पालुको मूर्ति फेला परेको थियो । त्यसपछि मंसिर पूर्णिमाका दिन पूजाआजा गर्ने चलनको सुरुआत भएको थियो । हरेक दुई वर्षमा ४० वटा भेडा स्थानीयले चढाउने गरेको स्थानीय तथा पूर्वजिल्ला पंचायत सभापति खगेश्वर पौडेलले बताए ।

‘चुजाठाँटी क्षेत्रका पाँच गाउँ चुजा, वरबोट, चौरपानी, बिजुली, सिउतेबाट बाजागाजासहित उपस्थित भई पूजाआजा गर्ने चलन थियो,’ उनले भने, ‘अहिले पुजारीसमेत नहुँदा दु:ख लाग्छ ।’ पौडेलसँग पालुकास्थानको इतिहास जोडिएकाले त्यसको संरक्षण गर्नु जरुरी रहेको उनले बताए । ०३२ सालमा यहाँको मुख्य पालुको मूर्ति चोरी भएको थियो ।

प्यूठान, अर्घाखाँची, दाङ, कपिलवस्तुसम्मका पौडेलको उद्गम स्थल चुजाको फेदी रहेको पूर्वजहरू बताउँछन् । पालुकास्थानमा १० वर्षअघिसम्म पनि स्थानीयले वर्षा राम्रो होस्, पशु चौपाया बिरामी नपरून, खेतीपाती राम्रो होस् भनेर पूजा गर्ने चलन रहेको खगेश्वरले बताए । ‘मैले ०६७ मा सप्ताह नै लगाएको थिएँ,’ उनले भने, ‘खडेरी परे पालुकास्थानमा पूजा गर्दा पानी पथ्र्यो तर अहिले चलन नै हरायो ।’

विगतमा भव्य रूपमा बाजागाजासहितको पूजाआजा हुने तथा विभिन्न धार्मिक कर्मपूजा हुने यो मन्दिर अहिले जीर्ण भएर सुनसान बनेको स्थानीय हरि पौडेलले बताए । धरमपानी वरबोटका सुमन्त पौडेलको निधनपछि पूजा हुन छाडेको उनले बताए ।

नेपालका विभिन्न स्थानमा बसोवास गर्ने पौडेलको उद्गमस्थल चुजामा प्रवेश गर्ने स्थानमा पालुकास्थान पर्छ । पौडेलहरू दक्षिण दिशाबाट गाउँ प्रवेश गरी पालुकास्थानमा धूपध्वजा चढाएर चुजाको ठूलो गाउँ प्रवेश गर्थे । उत्तरी दिशाबाट प्रवेश गर्दा हाल मल्लरानी १, सिदुरे भन्ने स्थानमा सिद्धपालुको पूजा गरी प्रवेश गर्ने चलन थियो ।

पालुकास्थान मन्दिर पूर्वी प्यूठानीको आस्थाको धरोहर रहेकाले यसको संरक्षण गर्न गाउँपालिकाले ध्यान दिन थालेको मल्लरानी गाउँपालिका उपाध्यक्ष सरिता जिसीले बताइन् । ‘यस वर्ष २० हजार रुपैयाँ खर्च गरेर मन्दिरका जीर्ण ढोका मर्मत गरेका छौं,’ उनले भनिन्, ‘थप बजेटको व्यवस्था गरेर संरक्षण गर्दैछौं ।’ उनले पालुकास्थान मन्दिर रहेको स्थान निकै आकर्षक समेत रहेकाले गाउँपालिकाले धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने गरी योजना तयार गर्न लागेको बताइन् ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?