कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गाई–गोठाला प्रेम

गिरुप्रसाद भण्डारी

प्यूठान — स्वर्गद्वारी नगरपालिका १, कुसुन्डेका बलबहादुर खर्ची स्वर्गद्वारी आश्रममा गोठालो बस्न थालेको १२ वर्ष भयो  । गोठालो लाग्न सक्दासम्म यसमै लाग्ने उनी बताउँछन्  ।

गाई–गोठाला प्रेम

छिमेकीहरू भारतको सिमलामा स्याउ बोक्न गए पनि उनलाई कहिल्यै उता जाने रहर जागेन । दिउँसो गाई चराउन जंगल जाने र बिहान–बेलुका तिनीहरूको स्याहारसुसारमै उनी रमाएका छन् ।


गाईलाई नुन खुवाउन र पूजा गर्न आउने तीर्थयात्रीको गाईमोह देख्दा उनलाई झन् स्याहार गर्ने जाँगर चल्छ । ‘यहाँका गाईको पूजा गर्न देश/विदेशबाट पाहुना आउने गर्छन्,’ उनले भने, ‘हामीले वर्षौं गाईको स्याहार गर्न पाएका छांै । यसमै रमाइलो लागिरहेको छ ।’


स्वर्गद्वारी आश्रममा पालिएका गाईको स्याहारसुसार गर्न रोल्पा, दाङबाट १३ जना गोठालो बसेको आश्रमले जनाएको छ । गोठालाहरूलाई आश्रमले मासिक सात हजार रुपैयाँ पारिश्रमिक दिने गरेको छ । उनीहरूलाई खाने/बस्ने व्यवस्था आश्रमले नै गर्छ । आश्रमका गाईको स्याहार गर्दा र विभिन्न स्थानबाट आएका तीर्थयात्रीसँग भेट्दा महिना बितेको पत्तै नहुने रोल्पा, गामका बलबहादुर बुढाले बताए ।


‘खान र बस्न आश्रममै पाइन्छ,’ बुढाले भने, ‘मासिक सात हजारले घरखर्च चलेकै छ ।’ आश्रमले ६/६ महिनामा एकमुष्ट तलब दिने बुढाले बताए । ‘तलब पाएपछि पालो गरेर घर जाने गरेका छौं,’ उनले भने, ‘एकमुष्ठ रकम देख्दा घरपरिवार पनि खुसी नै हुन्छन् ।’ सुरुमा मासिक १ हजार २ सय रुपैयाँमा गोठालो बसेको बुढाले बताए । आश्रमलाई प्रविधिमैत्री बनाउँदै लगेपछि आफूहरूको काम पनि कम हुँदै गएको उनको अनुभव छ । घाँस काट्नका लागि आश्रमले छुट्टै मान्छेको व्यवस्था गरेको छ ।


आश्रममा पालिएका गाईको दूध यहाँ दैनिक लगाइने महायज्ञमा प्रयोग गरिन्छ । रोल्पाको रुम्टीगढीमा जन्मेका बाल तपस्वी नारायण गौतमले रोल्पाबाट आएर वि.सं. १९५२ वैशाख पूर्णिमाका दिन स्वर्गद्वारीमा महायज्ञ लगाएका थिए । त्यसबेलादेखि यज्ञका लागि चाहिने दूध, दही र घ्यू उत्पादनका लागि गाई पाल्न सुरु गरिएको आश्रमको दाबी छ । हिन्दु धर्ममा गाईलाई लक्ष्मी र आमाका रूपमा लिइने भएकाले आश्रममा गाईको पूजा गर्न भन्दै तीर्थयात्री स्वर्गद्वारी आउने गर्छन् ।


‘स्वर्गद्वारी आश्रममा तिहारको लक्ष्मी पूजाको दिन गाईको पूजा गर्न विभिन्न स्थानबाट हजारौं तीर्थयात्री यहाँ आउने गर्छन्,’ आश्रमका प्रशासकीय प्रमुख हरि अधिकारीले भने, ‘त्यस दिन यहाँ गाई मेला नै लाग्छ । आश्रममा झन्डै ४ सय गाई पालिएका छन् ।’

प्रकाशित : कार्तिक ७, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?