१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सराय नाचसँगै सकियो दसैं

प्रदेश ब्युरो

बुटवल — कोटघर र देवीका शक्तिपीठमा हतियार जुधाएर सराय नाच्दै, जमरा र फूलपाती खोला एवं पोखरीमा बगाउँदै यस वर्षको दसैंलाई बुधबारदेखि बिदाइ गरिएको छ । त्यही सराय नाचका बारेमा रोल्पाबाट काशीराम डाँगी, रूपन्देहीबाट घनश्याम गौतम, पाल्पाबाट माधव अर्याल, दाङबाट दुर्गालाल केसी र अर्घाखाँचीबाट वीरेन्द्र केसीको रिपोर्ट :

सराय नाचसँगै सकियो दसैं

यस क्षेत्रका गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठानलगायतका कोट, दुर्गा र कालिका मन्दिरमा दसैंसँगै सराय नाचको विशेष महत्त्व छ । यी जिल्लामा दसैंको भोलिपल्टदेखि पूर्णिमासम्म नै खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरेर युद्धको झल्को दिने गरी सराय नाच्ने गरिन्छ ।

राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजय उत्सवस्वरूप हर्षबढाइँ गर्दै कोट र मन्दिरमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको जनविश्वास छ । पहिलाका राजाले युद्ध मन पराउने भएकाले त्यसको अभिनय गरेर दसैं बिदाइका बेला राजालाई देखाउने गरी सराय नाच्न सुरु गरिएको किंवदन्ती पनि छ । सराय नाच हेर्दा रमाइलो र हतियार नचाउँदा डरलाग्दो हुन्छ ।

रोल्पा– पश्चिम नेपालका पहाडी जिल्लामा लोकप्रिय सराय नाच पछिल्ला वर्ष यहाँका भित्री गाउँमा पनि फैलिएको छ । शक्तिपीठमा घरेलु हतियार जुधाएर नाचिने यो नाच रोल्पामा भने हतियारबिना नै रोमान्चित ढंगबाट नाच्ने गरिन्छ । यहाँ चर्चाका र ठूला शक्तिपीठ छैनन् ।

तर, स्थानीय युवाको सक्रियतामा भित्री गाउँसम्मै सराय नाचको रौनक छ । स्थानीयका अनुसार खुमेल गाउँसहित पूर्वी र उत्तरी रोल्पाका कतिपय गाउँमा ‘एथ्लेटिक’ खेलजसरी सराय नाचिन्छ । स्थानीय शिक्षक महेन्द्रराज रोकाले संस्कृतिभन्दा पनि रमाइलोका लागि यस क्षेत्रमा सराय नाच्ने गरेको बताए । ‘सराय युवाले मात्रै नाच्न सक्ने र ‘एक्सन’ केन्द्रित हुन्छ,’ उनले भने, ‘गाउँ गाउँमा रमाइलो मान्दै हेर्नेको भीड हुन्छ ।’ अन्यत्र हतियारका तालमा नाच्ने यो नाच रोल्पामा भने मादल र दमाहाको तालमा नाचिने उनले बताए ।

मिरुलमा भने सराय नाच घरेलु हतियारसहित नाचिन्छ । युवाहरूले उक्त नाच नाच्दा हातमा तरबार, खुकुरी र अन्य हतियार बोकेर मादलको ताल मिलाएर नाच्छन् । युवतीले समेत साथ दिन्छन् । स्थानीयले सराय नाचको संरक्षण गर्ने योजना बनाएको मिरुलका युवा किशोर बुढाले बताए ।

रोल्पाको पूर्वी क्षेत्र गजुल र खुंग्रीमा तत्कालीन राजाले शासन चलाएका कोट छन् । स्थानीयका अनुसार निकै पहिले तत्कालीन राजाले शासन चलाएका गजुलकोट र खुंग्रीकोटमा नाच्ने क्रममा उक्त नाच रोल्पामा भित्रिएको विश्वास छ । ती दुई स्थानलाई अहिले पनि शक्तिपीठका रूपमा पूजाआजा गर्ने चलन छ । खुंग्रीमा पनि सराय नाचिन्छ ।

रूपन्देही– पहाडी जिल्लाबाट बसाइँ सरेर बुटवलमा आएकाले पनि बुटवलको देवीनगरमा आठ वर्षदेखि पूर्णिमाको दिन सराय नाच्ने गरेका छन् । गुल्मी, अर्घाखाँची, पाल्पा, बाग्लुङबाट आएका स्थानीयले गाउँकै झल्को दिने गरी यहाँ सराय नाच्ने गर्छन् । ‘बुझौं हामीले रीतिथिति, जोगाऔं हाम्रो संस्कृति’ भन्ने नाराका साथ नवदुर्गा मन्दिर व्यवस्थापन समितिले बर्सेनि सराय नाच आयोजना गर्दै आएको छ ।

देवी भगवतीको विजय उत्सवका रूपमा खेलिने सराय नाच आधुनिकतासँगै लोप हुन लागेकाले नेपाली संस्कार तथा संस्कृतिलाई संरक्षण गर्न आफूहरूले कार्यक्रम गर्दै आएको समितिका अध्यक्ष अर्जुन कुँवरले बताए ।

देवीको मन्दिर तथा कोटघरमा सराय नाच नाचिने परम्परालाई बचाउन र नयाँ पुस्तालाई आफ्नो धर्म संस्कृतिका बारेमा परिचित गराउने गरिएको उनले बताए । त्रेता युगमा रामले रावणमाथि विजय प्राप्त गरेको खुसीयालीमा रामका सेनाले खुँडा, तरवार, खुकुरीलगायतका हतियारसहित विजय उत्सव गरेको किंवदन्ती रहेको सराय नाच आयोजक समितिका संयोजक यज्ञेश्वर मरासिनीले बताए ।

पाल्पा– यहाँका केही भागमा दसैंको अष्टमीको राती (कालरात्रि) देखि नै नाच्ने चलन छ । रैनादेवी छहरामा पूर्णिमाको चार दिनपछि ‘दमिनी सराय’ निकाल्ने चलन रहेको रैनादेवी छहरा ४ का वडाध्यक्ष विष्णु पोखरेलले बताए ।

दाङको लमहीमा निकालिएको सराय । तस्बिर : माधव अर्याल र दुर्गालाल केसी/कान्तिपुर

पन्चेबाजा बजाएर मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाएर एकापसमा जोडिएर सराय नाच्ने र खेल्ने गरिन्छ । ऐतिहासिक हातहतियारको भण्डार पनि कोतघरमा हुने हँुदा कोटनजिकै सरायमा उत्सवको नाच खेलिने सांस्कृतिक परम्परा भएकाले यस नाचलाई सराय नाच भन्ने गरिएको इतिहासका जानकार निर्मल श्रेष्ठले बताए । सरायले ऐतिहासिक संस्कृति जोगाउने काम गरेको छ ।

परम्परादेखि नै गाउँका देवी मन्दिरमा भएका सयौं खुँडालाई धारिलो बनाई प्रत्येक वर्ष कोजाग्रत पूर्णिमामा निकालेर ठोक्काउने चलन छ । श्रेष्ठका अनुसार भुरे–टाकुरे राजाको युद्ध मात्र होइन, दैत्यमाथि देवीको विजयको उत्सवका रूपमा मनाइने यो नाचमा पौराणिक युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरिन्छ ।

अष्टमी, नवमी र दशमीको दिनमा तरबार ठोक्काउने, बलि दिइएका पशुको टाउकोलाई वाख्वाइ हवा गर्दै नचाउने, रमाइलो गर्दै सराय खेल्ने र नाच्ने चलन छ । तरबार ठोक्काउने र नचाउने गर्दा हेर्नेले समेत रमाइलो मान्दै आनन्द लिन्छन् । पन्चेबाजाको डुंगडुंग कि डुंगको तालमा खुकुरी, खुँडा, तरबार नचाउने र खेल प्रदर्शन गर्ने गरिन्छ । तरबार, खुँडा, भाला, ठोक्काएर नचायो भने देवी खुसी पार्न सकिन्छ भन्ने यस क्षेत्रमा जनविश्वास छ ।

दाङ– लमही बजारमा पनि तरबारसहित बजारमा नाच्दै रमाउँदै दसैंको बिदाइ गरियो । यहाँ हरेक वर्ष सराय नाचसँगै दसैं समापन गरिन्छ । भालुबाङ, सिसहनियामा पनि हरेक वर्ष दसैंको पूर्णिमाको दिन सराय नाच तथा खड्ग जात्रा निकालिन्छ ।

कालिका भगवती मन्दिर लमहीले आठौंपटक यहाँ सराय नाच निकालेको व्यवस्थापन समिति अध्यक्ष हिमन्तप्रसाद पाण्डेले बताए । प्राय: पहाडी जिल्लामा नाचिने सराय बसाइँसराइका क्रममा तराई झरेका मानिसले लमहीमा पनि यसको निरन्तरता दिन थालेको उनले बताए । ‘पहाडमा बाउबाजेले यस्तो नाच गर्थे । तराईमा हुँदैनथ्यो ।

हामी तराई झरेपछि यसलाई निरन्तरता दिइरहेका छौं,’ उनले भने, ‘आफ्नो संस्कृति बचाउन नयाँ पुस्तालाई पनि साथ लिएर नाच देखाइरहेका छौं ।’ युवा पुस्ताले पनि नाच सिक्न रुचि देखाइरहेको उनले बताए । नाचमा बालबालिका र किशोरकिशोरी पनि सहभागी भए । पहिले अर्घाखाँचीमा नाचेका हेमन्त भुसाल लमही आएपछि छैटौंपटक नाचमा सहभागी भए ।

अर्घाखाँची– धार्मिक र जातीय सद्भाव कायम गर्न परम्परादेखि यहाँका दुर्गा भगवती मन्दिरमा सराय नाच नाचिन्छ । अष्टमीको दिन मन्दिरमा भित्र्याएको फूलपाती दिनभर सराय जात्रा गरेर सेलाइन्छ । सनाइ र बाजाको तालमा मन्दिरमा राखिएका तरबारसहित नृत्य गरिन्छ । डुङडुङ ओख्खै भाइ हो, हो भन्दै बाजाको तालमा तरबार नचाएर यहाँ सराय नाच्ने परम्परा छ ।

वि.सं. १३८१ मा भारतको दिल्लीबाट जिल्ला राई भन्ने राजा अर्घामा आएर बसेपछि पूर्णिमामा सराय नाच निकालेको किंवदन्ती छ । त्यसपछि खाँचीकोट, राँगामारे, मालारानी, कालिका माई, ठाडा हुँदै छिमेकी जिल्ला प्यूठान, कपिलवस्तु, पाल्पा र रूपन्देहीसम्म विस्तार भएको अर्घा भगवती मन्दिरका पुजारी तेजनाथ भुसालले बताए ।

यस क्षेत्रको प्रतिष्ठित अर्घादरबारमा सराय नाचेर दसैंलाई बिदा गरिन्छ । दानवसगँको लडाइँमा भगवतीले जितेको उपलक्ष्यमा विजय उत्सवस्वरूप सराय जात्रा गरिंदै आएको ठाडास्थित कालिका माई भगवती मन्दिरका मूल पुजारी टामलाल भट्टराईले बताए । दुई सय वर्ष पहिले सुरुआत भएको जात्रा अहिले जिल्लाका ५० भन्दा बढी मन्दिरमा एकदशीदेखि पूर्णिमासम्म हुन्छ ।

प्रकाशित : कार्तिक ८, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?