२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रुन्टीमा पर्यटकीय विकास योजना

स्थानीय तहको पुन:गठनअघि नै जिल्ला विकास समिति रोल्पामार्फत पर्यटन मन्त्रालयले समेत विकास बजेट छुट्याउँदै आएको थियो 
काशीराम डाँगी

रोल्पा — स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रोल्पाको रुन्टी गाउँको पर्यटकीय विकास गर्न स्थानीयले पहल सुरु गरेका छन्  । रुन्टी गाउँको भौतिक विकास गरेर आन्तरिक पर्यटनको सम्भावना खोज्नेबारे स्थानीय तहले समेत चासो दिएपछि स्थानीयको पहलले मूर्तरूप पाएको हो  ।

रुन्टीमा पर्यटकीय विकास योजना

रुन्टीको विकास गरी आन्तरिक पर्यटक भित्र्याउन प्रशस्त सम्भावना रहेको स्थानीयको धारणा छ । पर्यटकीय विकासका लागि पहिले महाप्रभु जन्मेको गाउँको विकासमा ध्यान दिने लक्ष्य लिइएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरले बताए । स्थानीय तहको पुन:गठनअघि नै जिल्ला विकास समिति रोल्पामार्फत पर्यटन मन्त्रालयले समेत विकास बजेट छुट्याउँदै आएको थियो ।

रुन्टीलाई अहिले ‘स्याटलाइट पर्यटकीय केन्द्र’का रूपमा विकास गर्ने योजना अघि सारिएको छ । केन्द्रमार्फत स्वर्गद्वारीमा आउने पर्यटक र भक्तजनलाई महाप्रभुको जन्मस्थान रुन्टीसम्म पुर्‍याउने लक्ष्य लिइएको छ । रुन्टीगढी गाउँपालिका अध्यक्ष बुढामगरले त्यस योजनाका लागि संयुक्त छलफल अघि सारिएको बताए ।

रुन्टीसम्म आउजाउ गर्न सजिलो हुने गरी सडक निर्माण कार्य थालिएको छ । रुन्टीमा थप मन्दिर निर्माण गर्न, महाप्रभुको मूर्ति बनाउन र सडक सुविधासँगै आवासको उचित व्यवस्था मिलाउन गाउँपालिका स्तरमा योजना तय गरिएको छ ।

रुन्टीमा स्वर्गद्वारी र होलेरी गरी दुवै स्थानबाट नियमित चल्ने सडक निर्माण गर्ने योजना छ । रुन्टी र स्वर्गद्वारीसँग जिल्लाका अन्य महत्त्वपूर्ण पर्यटकीय स्थान जलजला, खुंग्री, जुगार, होलेरी, गढीलेकलाई जोड्ने योजना यसअघि नै साबिकको जिविसले थालेको थियो । यसैगरी गामलाई समेत उक्त योजनामा गाभ्ने लक्ष्य छ ।

जिल्लाका पर्यटकीय क्षेत्रलाई एकापसमा सडक र सञ्चार सम्पर्कमा जोड्न ‘स्याटलाइट’ पद्धति अघि सार्न आवश्यक भएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । मध्यपश्चिमकै एउटा मुख्य पर्यटकीय गन्तव्य स्वर्गद्वारीमा बर्सेनि लाखौं पर्यटक आउँछन् ।

स्वर्गद्वारीमा १ सय २१ वर्षदेखि नियमित पूजाआजा हँुदै आएको छ । त्यसैबेलादेखि जलाइएको आगो अझै निभाइएको छैन । हाल दक्षिणी रोल्पाको प्रवेशद्वार होलेरीदेखि रुन्टी २/३ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । होलेरीदेखि स्वर्गद्वारीसम्म भने यातायातका साधन चल्छन् ।

होलेरी र रुन्टीको शिरमा ऐतिहासिक क्षेत्र गढीलेक छ । स्वर्गद्वारी महाप्रभुले ध्यान गरी ज्ञान प्राप्त गरेको सखीको यो रमणीय स्थललाई शान्ति प्रक्रियायता पर्यटकीय गन्तव्य बनाउने योजना अघि सारिएको थियो । स्थानीयको पहलमा गढीलेक रुन्टी धार्मिक तथा पर्यटकीय विकास संस्था गठन गरेर गढीलेक, रुन्टी, होलेरी तथा दहवनको भौतिक विकासमा ध्यान दिइएको अध्यक्ष बुढामगरले बताए ।

महाप्रभु र रुन्टीको कथा
रुन्टीमा जन्मेका स्वर्गद्वारी महाप्रभुले करिब २४ वर्ष यहाँका गढीहरूमा बसेर ध्यान गरेकाले पनि यसको महत्त्व बेग्लै छ । करिब २४ वर्ष घनघोर जंगलमा उनले अविचलित तपस्या गरेको भनाइ छ । सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित आधारभूत तहको सामाजिक विषयको पुस्तकका अनुसार २४ वर्षजति गढीलेकमा ध्यान (तपस्या) गरेका महाप्रभुले पछि प्यूठानको स्वर्गद्वारीमा ध्यान केन्द्र नै स्थापना गरेका थिए ।

जो अहिले मुलुककै धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास भएको छ । हिन्दु तथा बुद्ध धर्मालम्बीहरूका लागि स्वर्गद्वारी मुख्य आकर्षक स्थल बनेको छ । बर्सेनि हजारौंको संख्यामा आन्तरिक एवं बाह्य पर्यटक स्वर्गद्वारीमा आउने गर्छन् । स्वर्गद्वारीलाई सडक सुविधाले जोड्न
रोल्पाको रुन्टीगढी गाउँपालिका र प्यूठानको स्वर्गद्वारी नगरपालिकाले संयुक्त रूपमा पहल थाल्ने योजना बनाएका छन् ।

गढीलेकको बेग्दै महत्त्व
गढीलेकमा बाइसे र चौबीसे राज्यकालीन समयमा स्थानीय राजाहरूले राज्य चलाएका थिए । स्थानीय अगुवा ऋषिराम श्रेष्ठका अनुसार त्यो ठाउँको महत्त्व जोगाउन र चर्चा बढाउन राज्यले लगानी गर्न सके स्थानीयले पर्यटकीय योजनालाई सघाउन सक्नेछन् । गढीलेकबाट स्वर्गद्वारी महाप्रभु जन्मेको रोल्पा सखीको रुन्टी, तपस्या गरेको गढीलेक, ध्यान बसेको प्यूठानको स्वर्गद्वारीजस्ता प्रसिद्ध पर्यटकीय स्थान देख्न सकिन्छ ।

करिब २ सय वर्षअघिबाट स्थानीयले उक्त क्षेत्रको संरक्षण गर्दै आएका छन् । लेकमा गढीका साथै मन्दिर, पूजा गर्ने स्थान, तत्कालीन राज्य सुरक्षार्थ तैनाथ फौजले तालिम गर्ने स्थान, पानीको सुरक्षित मुहान, आक्रमण हुँदा लुक्न मिल्ने सुरक्षित स्थानलगायत महत्त्वपूर्ण एवं सामरिक महत्त्वका भौतिक पूर्वाधारका अवशेष अझै पनि देख्न सकिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा ती स–साना राज्यको अस्तित्व गुमेको थियो ।

गढीलेक एउटा गजबको ‘भ्यु टावर’ पनि हो । यहाँबाट पूर्वदेखि पश्चिमका कैयौं रमणीय स्थान हेर्न सकिन्छ । स्थानीयबासीका अनुसार पूर्वको अन्नपूर्ण, पाथीभरा हिमालको दृश्य हेर्न सकिन्छ । यस्तै पश्चिको सिस्ने हिमाल र जिल्लाधुरीको रमाइलो दृश्य अवलोकन गर्न पाइन्छ ।

दक्षिणी रोल्पाका रमणीय स्थलहरू सखी, दुविडाँडा, डुब्रिङ, झेनाम, नेवागाउँलगायत संगमस्थल होलेरी र त्यसको शिर गढीलेकको विकास गर्न सके साँच्चिकै एउटा पर्यटकीय स्थान बन्न सक्छ ।

स्वर्गद्वारी महाप्रभु
स्वर्गद्वारी महाप्रभुको जन्म साबिकको सखी गाविसको रुन्टी गाउँमा वि.सं. १९१६ साउनमा भएको थियो । सामान्य परिवारमा जन्मिएका उनको बाल्यकालको नाम नारायण खत्री हो । ध्यान प्राप्तपछि उनी स्वामी कपिलानन्दका नामले चिनिएका थिए । उनको अर्को नाम स्वामी हंसानन्द गिरी पनि हो ।

सानैदेखि विविध प्रकारका रोगले सताएपछि जंगल र सफा स्थानमा पुगी जडीबुटीको प्रयोग गरी उनले आफ्नो उपचार आफैं गर्न सुरु गरेको जनविश्वास छ । पाँच वर्षदेखि नै तपस्वी बनेका उनले सिद्ध सन्त सच्चिदानन्द गिरीबाट सन्न्यास दीक्षा प्राप्त गरेका थिए । वि.सं. १९९७ मंसिरमा उनले भौतिक शरीर त्यागेका थिए ।

उनी रोल्पामा जन्मेर प्यूठानमा रहेको स्वर्गद्वारी पहाडमा ध्यान गर्न पुगेका थिए । पछि महाप्रभुको सम्मानका लागि उक्त पहाडको नाम नै स्वर्गद्वारी राखिएको थियो । स्वर्गद्वारीमा महाप्रभुले थाले अनुसार दैनिक पूजाआजा हुँदै आएको छ भने प्यूठानस्थित उक्त स्थानलाई हाल मुलुककै प्रसिद्ध शक्तिपीठका रूपमा लिइन्छ ।

स्वर्गद्वारीमा विश्वशान्तिको पवित्र कामनाले निकै अघि अखण्ड महायज्ञ प्रारम्भ गरिएको थियो । स्वर्गद्वारी पुग्नुअघि महाप्रभुले रोल्पाकै गढीलेकमा समेत तपस्या गरेका थिए ।

प्रकाशित : कार्तिक ९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?