१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेश र संघीय मन्त्रीको दौडधुप

काशीराम डाँगी

रोल्पा — एक महिना अघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन जिल्लाको गामस्थित एक मेलाको उद्घाटन गर्न राजधानीबाट हेलिकप्टरमा आए । त्यसको केही दिनपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले आफ्नो गाउ दारबोटस्थित एउटा क्लबले आयोजना गरेको कार्यक्रमको उद्घाटन गरे  ।

प्रदेश र संघीय मन्त्रीको दौडधुप

मन्त्री पुन एकै दिन हेलिकप्टरबाट अन्य तीन कार्यक्रममा पनि मुख्य अतिथि बन्न भ्याए । उनले सुलीचौरस्थित लुङ्ग्री खोलामा सुनील स्मृति गाउँपालिकाले थालेको र्‍याप्टिङको उद्घाटन गरेका थिए ।

स्थलमार्गबाट आएका प्रदेश मन्त्री केसीले जिल्लाका केही कार्यक्रमको मुख्य अतिथि बन्ने अवसर पाए । नेकपाका पोलिट्व्युरो सदस्यसमेत रहेका केसीले जिल्लामा पहिलो पटक स्थापना भएको सशस्त्र प्रहरी बलको गुल्म मुख्यालयको उद्घाटन गरेका थिए । जिल्लाको शान्ति सुरक्षा बिग्रँदै गएको निष्कर्षपछि सरकारले गुल्म स्थापना गरेको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको प्रभाव मानिएको जिल्लाको सुरक्षा व्यवस्था मजबुत पार्न यसअघि नेपाली सेना, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका कार्यालय स्थापना गरिसकिएका छन् ।

मन्त्री केसीले जिल्लामा गैर सरकारी संस्था र क्लबको गतिविधिप्रति निगरानी एवं नियन्त्रण गर्न कानुन ल्याउने तयारी भइरहेको बताए । उनले सुशासन ऐन ल्याएर गैरसरकारी संस्था र क्लबका गतिविधिप्रति निगरानी गर्न सकिने योजना बनेको बताए । ‘मेलापर्व मात्रै लगाउने क्लब र गैससमाथि निगरानी गर्नुपर्छ ।’

केसीले प्रश्न गरे, ‘गाउँ–गाउँमा क्लब गठन गर्न र मेला लगाउन कसको अनुमित प्राप्त भएको हो ?’ केही दिन अघि क्लबले आयोजना गरेको मेलाको उद्घाटन गर्न हेलिकप्टरबाट रोल्पा आएका ऊर्जामन्त्री पुनप्रति लक्षित गर्दै केसीले गाउका मेला र क्वबलाई प्राथमिकता दिन नहुने जिकिर गरे ।

केसी स्वयंं पनि क्लबकै कार्यक्रमका निम्ति जिल्ला आएका थिए । मन्त्री केसीको जन्म घर रोल्पा नगरपालिका ६ मा हो । उनी उक्त वडामा गठन गरिएको समाजसेवी युवा क्लबले आयोजना गरेको कार्यक्रमका मुख्य अतिथि बन्न आएका थिए ।

‘मन्त्री केसीले त्यसो भन्नु संघीय ऊर्जा मन्त्री पुनको भ्रमणप्रति लक्षित गरेको सजिलै बुझ्न सकिन्छ ।’ जिल्लास्थित एक बुद्धिजीवी भन्छन्, ‘आफै क्लबका कार्यक्रममा आउने र मनलाग्दो भाषण गर्ने चलन विश्वास गर्न लायक छैन ।’ ती बुद्धिजीवीले सानो कार्यक्रमका लागि राज्यको ठूलो खर्च गरेर जिल्ला आउने मन्त्री र सांसदहरूको बानी सच्याउनु पर्ने माग गरे ।

गत असोज २६ गते सशस्त्रको गुल्म मुख्यालय उद्घाटनका बेला लिबाङमा १ घण्टा बोलेका मन्त्री केसीले सञ्चारकर्मी र नागरिक समुदायले साथ नदिएको गुनासो गरे । ‘जनप्रतिनिधिको काम राम्रो छ । बरु डोजरसँग जोडेर उनीहरूलाई खुइल्याइएको छ ।’

मन्त्री केसीले आफैंले डोजर खरिद गरेर काम गरेका जनप्रतिनिधिको पक्ष लिँदै उनीहरूको विरोध नगर्न आव्हान समेत गरे । उनको उक्त भनाइपछि स्थानीय आश्चर्यमा परेका छन् । जिल्ला आएका बेला मन्त्री पुन र केसीले संघीयता जोगाउन चुनौती भएको समेत बताए ।

प्रकाशित : कार्तिक १०, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?