१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सडक सुधार हुँदै

गिरुप्रसाद भण्डारी

प्यूठान — जिल्लाको पश्चिमी भागलाई सदरमुकामसँग जोड्ने कुमालटार–कोन्द्राचौर–रातापानी सडकको स्तररोन्नति थालिएको छ  । माण्डवी गाउँपालिका १ तिराम कुमालटारबाट माण्डवी २ रातापानीसम्म ९ दशमलव ५ किलोमिर ग्रामीण सडक सुधार गर्न लागिएको हो  ।

सडक सुधार हुँदै

राष्ट्रिय यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी) अन्तर्गत आवधिक मर्मतमार्फत सुधार गर्न लागिएको हो । जिल्लामा दाङबाट पहिलो पटक गाडी भित्रिएको सडक ओझेलमा परेको स्थानीयले गुनासो गर्दै आएका थिए । वर्षातमा हिल्याम सडकले सास्ती भएपछि स्थानीयले सुधारको माग गर्दै आएका थिए ।

सडकमा बजेट परेर मर्मत हुने कुराले स्थानीय खुसी छन् । ‘सडक राम्रो नहुँदा निकै दु:ख पाएका थियौं,’ माण्डवी १ तिरामका उमाकान्त अधिकारीले भने, ‘सडक सुधारमा काम भएको देख्दा खुसी लागेको छ ।’

धमाधम काम भइरहेको देख्दा स्थानीय हर्षित भएको उनले बताए । सडक राम्रो बनेपछि भाडा घट्ने स्थानीयले बताए । तिराम र मर्काबाङमा तरकारी राम्रो उत्पादन हुने भए पनि गतिलो सडक नभएकाले स्थानीयले फाइदा लिन सकेका थिएनन् । सडक सुधार भएपछि फाइदा लिने स्थानीयले आशा गरेका छन् ।

यो सडक सुधारपछि पश्चिमी प्यूठानको मुहार फेर्ने मर्काबाङका देविराम केसीले बताए । अन्य स्थानमा झन्डै पाँच मिटर चौडा र घुम्टीमा ६ मिटर चौडा सडक निर्माण गर्नेगरी निर्माणको ठेम्का लिएको जोसी/मल्लरानी/लेकाली निर्माण सेवाका प्रतिनिधि बालाजु श्रेष्ठले बताए ।

तीन किलोमिटर ग्राबेल, दुईवटा स्थानमा कज वे निर्माण गर्नेगरी १ करोड ३२ लाखमा निर्माणको जिम्मा लिएको श्रेष्ठले बताए । आगामी असारसम्ममा सडक सुधारका सबै काम सक्नेगरि ठेक्का मार्फत काम भइरहेको साबिकको जिल्ला प्राविधिक कार्यालय प्यूठानका इन्जिनियर चन्द्र शाहले बताए । ‘कार्यक्रमले हेरेको जिल्लाका ७ सडकमध्ये यो सडकमा मात्र आवधिक मर्मत अन्तर्गत काम हुँदै छ,’ उनले भने, ‘काम सम्पन्नपछि सडक बाट स्थानीयले धेरै फाइदा लिनेछन् ।’

प्रकाशित : कार्तिक १०, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?