१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

तराईका किसान मौरी चराउन प्यूठानतिर

गिरुप्रसाद भण्डारी

प्यूठान — यहाँ तोरी, चिउरीलगायतका फूल फुल्न थालेपछि तराईका मौरी पालक किसान चरन खोज्दै प्यूठान उक्लिएका छन् । यो समयमा पहाडमा मौरी चर्ने फूल फूल्ने र मौरीले राम्रो मह उत्पादन गर्ने भएकाले तराईका किसान मौरी चराउन प्यूठान निस्किएका हुन्  ।

तराईका किसान मौरी चराउन प्यूठानतिर

किसानले ५/७ वर्षदेखि यहाँ मौरी चराउन ल्याउन थालेका छन् । जिल्लाको सरुमारानी गाउँपालिकाको बडडाँडा, मोतीपुर, स्वर्गद्वारी नगरपालिकाको गोठीबाङ, अमलटार, प्यूठान नगरपालिकाको मरनठाना, बिजुवार, टिकुरी, बाग्दुलालगायत क्षेत्रको पाखैभरि मौरी घार राखेर किसानहरू बसेका छन् । किसानहरूले बिहानदेखि बेलुकासम्म घाम लाग्ने पाखो रोजेर मौरीका घार राखेका छन् ।

कात्तिक पहिलो सातादेखि मंसिर अन्तिम सातासम्म हरेक वर्ष प्यूठानमा मौरी चराउन ल्याउने गरेको प्यूठान नगरपालिका ४, ढाडमग्रामा भेटिएका पर्सा चन्द्रपुर नगरपालिका ८ का किसान तरुण खडकाले बताए । ‘एक सयभन्दा बढी घार राखेर बसेको छु,’ उनले भने, ‘यस क्षेत्रमा प्रशस्त चिउरीका बोट भएकाले मह राम्रो उत्पादन हुन्छ ।’

उनले एक घारबाट एकपटकमा ५ देखि ७ किलोसम्म मह निस्किने बताए । गत वर्ष मौरी चराउन ल्याएको समयमा पानी नपरेकाले धेरै राम्रो आम्दानी भएकाले यस वर्ष पनि आएको खडकाले सुनाए । ‘मौरी पाल्न थालेको १० वर्ष भो,’ उनले भने, ‘प्यूठान चराउन ल्याउन थालेदेखि धेरै राम्रो कमाइ भइरहेको छ ।’

मौरी पालनको आम्दानीले छोरीलाई काठमाडौंमा स्टाफ नर्स र छोरालाई इन्जिनियर पढाइरहेका छन् । मौरीलाई नोक्सान गर्ने अरिङगाल यहाँका स्थानीयले पोलेर खाने भएकाले त्यो समस्या पनि यहाँ नरहेको खडकाले सुनाए । ‘मौरीको मह राम्रो उत्पादन हुने गरेको छ,’ उनले भने, ‘तर, बजार धेरै राम्रो छैन ।’ उनले बजार खोज्न केही मिहिनेत गर्नुपर्ने बताए ।

कात्तिकमा पानी नपर्दा मह उत्पादन राम्रो हुने किसानहरूको अनुभव छ । चिउरीको रस पानीले नबगाउँदा मौरीले मह राम्रो उत्पादन गर्ने किसानहरूको भनाइ छ । असोजको अन्तिम सातादेखि मौरी चराउन बारा, चितवन र पर्साका दर्जनौं किसान प्यूठान निस्किएका छन् । तिहारमा मह राम्रो बिक्री हुने भएकाले तिहारअघि नै मह निकाल्ने तयारीसहित प्यूठान आएको बाराका किसान भीम तिमिल्सिनाले बताए ।

‘पानी नपर्दा मौरीले निकै राम्रो मह बनाउँछ,’ उनले भने, ‘विगत वर्षमा प्रतिघार ८ देखि १० केजीसम्म मह निस्किने गरेको थियो ।’ मह बिक्री गर्न प्यूठानमा केही सहज पनि छ ।

प्रकाशित : कार्तिक ११, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?