कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिँचाइ अभावले तोरी फुलेन

जौ बाली पनि सुक्न थाल्यो
गिरुप्रसाद भण्डारी

प्युठान — तोरी छरेदेखि पानी नपरेका कारण यस वर्ष तोरी खेती नहुने भएको छ । विगतमा यो सिजनमा तोरी फुलेर पहेंलपुर हुने पाखोबारी अहिले रातै छन् ।

सिँचाइ अभावले तोरी फुलेन

अधिकांश ग्रामीण क्षेत्रका किसान बारीमा तोरी सुक्न थालेपछि चिन्तित देखिएका हुन् । सिँचाइ भएका क्षेत्रमा तोरी फुले पनि नभएको पाखो जमिनमा छरेको तोरी सुक्न थालेको किसानहरूले बताए ।

यहाँका किसानले भदौ अन्तिम सातादेखि असोज पहिलो सातासम्म तोरी छरेर सकेका हुन् । त्यसपछि पानी नपरेको माण्डवी गाउँपालिका ३ सिरुबारीका ठाकुर वलीले बताए । पोखरीमा पानी जम्मा गरेर सिँचाइ गरे पनि आकाशको पानीजस्तो नहुने भएकाले तोरी राम्रोसँग नफुलेको उनले बताए ।

‘तोरी छरेपछि कात्तिक पहिलो साता पानी परेको भए बीउसम्म फर्कन्थ्यो,’ उनले भने, ‘पानी परेन । फूल नफुल्दै सुक्न थालिसक्यो ।’ उनले तोरीसँगै पाखोबारीमा छरेको जौ बाली पनि सुक्न थालेको बताए । पानी नपरेका कारण तोरी सुकेर पाखोबारी रातै रहेको प्यूठान नगरपालिका ३ विजयनगर ओखरबोटका किसान रेमलाल पाठकले बताए ।

‘बाली लगाउन सिँचाइको व्यवस्था छैन, आकाशे पानीको भरमा खेती गर्ने हो,’ पाठकले भने, ‘आकाशे पानी नपरेको वर्ष दु:ख सबै खेर जान्छ ।’ उनले अझै पानी परे तोरीसँगै छरेको जौबाट केही आम्दानी गर्न सकिने आशा रहेको बताए ।

पानी परेको वर्ष तिहार पर्वसँगै बारीमा पहेंलपुर फुलेको तोरीले गाउँको रौनक नै फेरिएको देखिनेमा यस वर्ष तोरी नफुलेका कारण तिहार आएको रौनक नै हराएको माण्डवी गाउँपालिका रम्दीका किसान तुलसा खडकाले बताइन् ।

‘पानी नपरेका कारण सयपत्रीसमेत फुलेका छैनन्,’ उनले भनिन्, ‘हाम्रोतिर भदौ अन्तिम सातादेखि पानी परेको छैन ।’ साबिकको जिल्ला कृषि कार्यालयका अनुसार जिल्लाभरि ६ सय ९० हेक्टर क्षेत्रफलमा तोरी खेती लगाइन्छ ।

यसबाट ९ सय १० मेट्रिक टन तोरी उत्पादन हुने तथ्यांक छ । जिल्लाको कुल खेतीयोग्य जमिन २२ हजार १ सय हेक्टरमध्ये ६ हजार ४० हेक्टर खेत र १५ हजार ५ सय ६० हेक्टर पाखोबारी रहेको छ । यसमध्ये ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्रै बाह्रै महिना सिँचाइ हुन्छ ।

प्रकाशित : कार्तिक १२, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?