कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

धनीको नाम अति गरिब सूचीमा

‘जसलाई बिहान–साँझ हातमुख जोर्न समस्या छ, उसको नाम सूचीमै छैन’
मनोज पौडेल

कपिलवस्तु — धनीको नाम अति गरिबको सूचीमा रहेको पाइएपछि यहाँका ५ स्थानीय तहले गरिब परिवार परिचयपत्र वितरण कार्य रोकेका छन् । वास्तविक गरिब छुटेकाले तत्कालका लागि वितरण स्थगित गरेका हुन् ।

धनीको नाम अति गरिब सूचीमा

कपिलवस्तु नगरपालिकामा वितरण गर्न तयार गरिएका ३ हजार ४ सय ७५ परिचयपत्र रोकिएको हो । वास्तविक गरिब नछुटून् भनेर वितरण रोकिएको नगरपालिकाले जनाएको छ ।

शिवराज नगरपालिकामा वितरणका लागि पठाइएका ३ हजार ४ सय ७३ घरधुरी गरिब परिचयपत्र अहिले रोकिएका छन् । महराजगन्ज नगरपालिकाले ३ हजार ५ सय ६९ परिचयपत्र वितरण स्थगित गरेको छ । बुद्धभूमि नगरपालिकाले २ हजार ८ सय ६ परिचयपत्र वितरण गरेको छैन ।

त्यस्तै विजयनगर गाउँपालिकाले २ हजार ८ सय ९५ परिचयपत्र वितरण रोकेको छ । कपिलवस्तुले नगरकार्यपालिका बैठकबाट वितरण नगर्ने निर्णय गरेको हो । ‘मन्त्रालयले पठाएको विवरणमा वास्तविक गरिब छुटेका छन्,’ कपिलवस्तु ३ का वडाध्यक्ष प्रकाश गैरेले भने, ‘त्यही भएर मन्त्रालयलाई पुन: नामावली संकलन गर्न माग गर्ने निर्णय गरेर पठाइसकेका छौं ।’ धनीले परिचयपत्र पाउँदा गलत सन्देश जाने कपिलवस्तु २ का वडाध्यक्ष रामभजन कलवारले बताए ।

‘सम्पन्न व्यक्तिको नाम गरिबको सूचीमा देख्दा अचम्ममा परेँ,’ कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ताले भनिन्, ‘जसलाई बिहान–साँझ हातमुख जोर्न समस्या छ, उसको नाम सूचीमै छैन ।’

जिल्लामा ०६९ देखि घरदैलोमा पुगेर गरिबको लगत संकलन गरिएको थियो । ५ वर्षपछि उनीहरूलाई परिचयपत्र वितरण गर्न लागिएको हो । ०७२ मा प्रारम्भिक सूची प्रकाशन गरिएको थियो ।

२०७३ मा जिल्लामा व्यापक समीक्षा गरी त्रुटि, कमजोरी सच्याएर अन्तिम नामावली प्रकाशन गरिएको जिल्ला समन्वय समितिमा रहेको गरिब पहिचान मापदण्ड शाखा सूचना अधिकृत विनोद त्रिपाठीले बताए । ‘विवरण संकलन गर्दा धेरै सजगता र सतर्कता अपनाएका छौं,’ उनले भने, ‘ठूलो त्रुटि, कमजोरी केही छैन ।’ संकलित विवरणलाई गाउँदेखि जिल्ला तहसम्म सूचना प्रकाशित गरेर सार्वजनिक गरिएको थियो । समीक्षा गरेर सही र वास्तविक बनाउन धेरै प्रयास खर्चेको उनले बताए । ‘वाणगंगा नगरपालिकाका ७ जना धनीको नाम गरिब सूचीमा आयो,’ उनले भने, ‘उनीहरूले निवेदन दिएपछि मन्त्रालयले हटाएको थियो ।’ सूचीमा नाम परेका धनीले निवेदन नदिएसम्म त्यो नाम हटाउने अधिकार अरूलाई नहुने पनि उनले बताए ।

उक्त परिचयपत्र वितरणको सुरुआत कृषिमन्त्री चक्रपाणी खनालले पहिलोपटक कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट गरेका थिए । उनले गत असार २९ गते यहाँबाट गरिब घरपरिवार परिचयपत्र वितरण गरेसँगै मुलुकका विभिन्न ठाउँमा वितरण सुरु भएको थियो । तर, मन्त्रालयले पर्याप्त गृहकार्य नगरी वितरण गरेकाले विरोध पनि भएको थियो । जिल्लामा २८ हजार २ सय ३५ गरिब घरपरिवार छन् ।

त्यसमध्ये १२ हजार ५ सय ३३ अति गरिब, ७ हजार ४ सय ३९ मध्यम गरिब र ५ हजार ८ सय ३२ सामान्य गरिब परिवार छन् । १६ सूचकको आधारमा टीएमटी मेथडबाट गरिब पहिचान गरिएको थियो । मुलुकका २६ जिल्लाका गरिब घरपरिवारको लगत लिइएको थियो ।

सरकारले गरिबलाई ३ रंगको परिचयपत्रको व्यवस्था गरेको छ । पहेंलो रंगलाई मध्यम गरिब, नीलो रंगलाई सामान्य गरिब र रातो रंगलाई अति गरिब भनेर छुटयाइएको छ ।

प्रकाशित : कार्तिक १३, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?