‘जुवा’ बन्यो कमाउ धन्धा

जुवाले सुरक्षा निकायबीच असमझदारी
प्रजिअ र एसपीबीच समन्वय अभाव
दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका १५ स्थित भूपबहादुर डाँगीको घरमा कोजाग्रत पूर्णिमाको राति जुवाको खाल बसेको आशंकामा छापा मारियो । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गजेन्द्रबहादुर श्रेष्ठको आदेशमा राष्ट्रिय अनुसन्धानका एसपी टेकराज तिमिल्सिनाको नेतृत्वमा सशस्त्र प्रहरीले त्यहाँ छापा मारेको थियो  ।

‘जुवा’ बन्यो कमाउ धन्धा

रातभर खानतलासी चल्यो । ३४ जना भेटिए तर पछि प्रहरीले उनीहरूको साथबाट जुवा खेलेको प्रमाण फेला नपरेको बतायो ।

कांग्रेसका क्षेत्रीय सभापति एवं स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार डाँगीको घरमा जुवा खेल भएको आशंकामा छापा मारिएपछि जिल्लाभर त्यसको चर्चा छ ।

३४ जनाको भीडमा पनि जुवा खेलेको प्रमाण नभेटिने, प्रहरीभन्दा पहिले प्रजिअले सूचना पाउने र प्रजिअले नेपाल प्रहरीको सट्टा सशस्त्र र राष्ट्रिय अनुसन्धानलाई खटाउने कार्यले अहिले जिल्लाका सुरक्षा अधिकारी शंकाको घेरामा छन् । घोराहीमा प्रतिष्ठित व्यवसायी र राजनीतिक दलका नेताका घरमा जुवा चलिरहेको र त्यसमा सुरक्षा निकायकै संरक्षण रहेको स्रोतको दाबी छ । जुवा सञ्चालकले सुरक्षा निकायलाई मोटो रकम तिरेर व्यवसाय चलाइरहेका छन् ।

रकमको भागबन्डा नमिल्दा मात्रै जिल्लाका प्रतिष्ठित व्यक्तिको घरमा खानतलासी भएको र अन्त्यमा मिलेमतोमा प्रमाण नष्ट गरिएको धेरैको आशंका छ । नेपाल प्रहरी जुवा सञ्चालकबाट प्रभावित भएको आशंकामा प्रजिअ सक्रिय भएर अन्य सुरक्षा अंग परिचालन गरेको बुझिएको छ । कतिपयले यसलाई भागबन्डा नमिलेको नतिजाका रूपमा टिप्पणी गरिरहेका छन् ।

प्रजिअ र एसपीबीच जुवा नियन्त्रणका सबालमा समन्वय नभएको प्रष्टै देखिन्छ । दुवैले आ–आफ्नै तरिकाले सुरक्षा निकाय परिचालन गर्न थालेपछि समाजमा हुने गलत क्रियाकलाप नियन्त्रणमा समस्या हुने देखिएको छ । जुवाकै विषयमा एसपी र प्रजिअको सम्बन्ध चिसिएको छ । यसअघि कहिल्यै परिचालन नभएको राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरी जुवाको खानतलासी गर्न निस्किएको छ । नेपाल प्रहरी आफू अनुकूल नभएको देखेपछि प्रजिअले यी सुरक्षा अंगको सहायता लिएको देखिन्छ ।

स्रोतका अनुसार अहिले जिल्लामा चलिरहेका मुख्य जुवाका अखडाबारे प्रहरीलाई जानकारी छ तर पनि नियन्त्रणको प्रयास भएको छैन । प्रहरीले दिनहुँजसो जुवा खेलेको अभियोगमा विभिन्न व्यक्तिलाई प्रक्राउ पनि गरिरहेको छ तर प्रहरीले ठूला अखडालाई बचाउ गर्दै सानातिना जुवाडेलाई मात्र पक्राउ गरिरहेको सर्वसाधारणको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने बजारका कुनै पनि टिप्पणी यथार्थपरक नभएको दाबी गरे । प्रहरीसँग समन्वय हुन नसकेको विषयमा भने उनले कूटनीतिक जवाफ दिए । ‘यसबारे सबै हजुरहरूलाई थाहा नै छ । मैले के भन्नू ?,’ उनले भने, ‘जुवा खेलेको सूचना पाएपछि मैले सुरक्षा निकाय पठाएको हुँ । सुरक्षा प्रमुखका हिसाबले आवश्यक जनशक्ति परिचालन गरिएको हो । यस्ता काम रोक्नु मेरो जिम्मेवारी हो ।’

आफूलाई आएको सूचनाका आधारमा सुरक्षा निकायलाई परिचालन गरेको उनले बताए । समाजमा भएका हरेक विकृति–विसंगति रोक्नु र त्यस्ता घटनाको जिम्मेवारी लिनु आफ्नो कर्तव्य भएकाले आफू सक्रिय भएको उनले बताए ।

‘मलाई प्राप्त सूचना भरपर्दो थियो । त्यसका आधारमा मैले सबै सुरक्षा निकाय परिचालन गरेको हो,’ उनले भने, ‘पछि प्रमाण फेला परेन भन्ने कुरा आयो । त्यो प्रहरीले गर्ने काम हो । मैले आफ्नातर्फबाट सक्दो प्रयास गरेको छु ।’ प्रहरीसँग समन्वय हुन नसकेको कारणबारे प्रजिअ श्रेष्ठले जिल्लाको सुरक्षा निकायको प्रमुखका हिसाबले सबै जिम्मेवारी आफूले लिने बताए । ‘नेपाल प्रहरीले गरेको काममा सशस्त्र र राष्ट्रिय अनुसन्धान हस्तक्षेप गर्न गएको होइन । सबै आ–आफ्नै तरिकाले खानतलास गर्न गएका हुन्,’ उनले भने, ‘अन्य ठाउँमा पनि सूचना प्राप्त भएपछि हामी नियन्त्रणमा प्रतिबद्ध छौं ।’

जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले जुवाका सवालमा प्रजिअले नेपाल प्रहरीलाई अविश्वास गरेजस्तो देखिएको बताए । ‘जिल्लाको सुरक्षा समितिको प्रमुखका हिसाबले सबै सुरक्षा निकायलाई परिचालन गर्ने अधिकार उहाँसँग छ ।

यसमा हामीले केही भन्न मिल्दैन,’ उनले भने, ‘तर, प्राय:जसो नेपाल प्रहरीले नै गर्ने गरेको काममा अरू पनि परिचालन भएपछि हाम्रो विश्वास नगरेको हो कि भन्ने देखियो ।’ प्रहरीले जुवा सञ्चालकबाट कुनै लाभ नलिए पनि बजारमा अनावश्यक हल्ला चलेको उनले बताए । ‘यहाँ बजारमा धेरै कहानी बन्दारहेछन् । अनेक आशंका भइरहेका छन्,’ उनले भने ।

प्रकाशित : कार्तिक १४, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?