कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बसपार्क अधुरै

मधु शाही

बाँके — नेपालगन्ज बसपार्क निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । १५ महिनामा सक्ने गरी निर्माण सुरु गरिएको बसपार्क तीन वर्ष पुग्दा पनि अधुरै छ।

बसपार्क अधुरै

शौचालय, पानी र यात्रु बस्ने सुरक्षित ठाउँको अभाव छ । फोहोर र धूलो उस्तै छ । बसपार्कमै किराना पसल चलाएकी सविता चन्दले समयमै निर्माण नहुँदा सर्वसाधारणसहित आफूहरू दैनिक धूलोको सिकार हुनुपरेको बताइन् । यात्रुले जथाभावी दिसापिसाब गर्छन् ।

‘शौचालय छैन, बसबाट झरेका यात्रु कहाँ शौचालय खोज्दै जानू,’ उनले भनिन्, ‘अनि, बाटोको छेउछाउमै गर्छन् ।’

बसपार्कको सटरमा ५ वर्षदेखि होटल सञ्चालन गर्दै आएका तर्कबहादुर शाहीले धूलो र अव्यवस्थित बसपार्कले खाना खान आउने यात्रु घट्दै गएको बताए । ‘यहाँ बसेर दिनैपिच्छे आयु घट्दै छ,’ उनले भने, ‘ग्राहक खाना खानै मान्दैनन् धूलो देखेर ।’ नेपालगन्ज बसपार्कबाट कर्णाली र सुदूरपश्चिमका यात्रुका लागि यातायात चल्छन् ।

नगरपालिकाले ६ महिनामै सकिने भन्दै टार्दै तीन वर्ष पुर्‍याएको इलेक्ट्रोनिक व्यवसायी सिर्जना अधिकारीले सुनाइन् । ‘दिनभरि रुमालले मुख छोपेर काम गर्नुपर्छ,’ उनले भनिन्, ‘सुरक्षित पार्किङ नहुँदा सवारी दुर्घटनाको खतरा उस्तै छ ।’ बसपार्कमा खानेपानी, शौचालय र यात्रु बस्ने प्रतीक्षालयको पनि अभाव छ । कालोपत्रे नहुँदा धूलोको समस्या उस्तै छ ।

नेपालगन्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणाले ठेकेदारले समयमा काम नगर्दा समस्या परेको बताए । ‘ठेकेदारलाई समयमै काम गराउन सकिएन,’ उनले भने, ‘अबको ४ महिनामा सम्पन्न गर्ने प्रयासमा छौं ।’

ठेकेदार पूर्णलाल हिराचनले भारतबाट फलामका सामान आयात गर्नुपर्ने भएकाले ढिलाइ भएको बताए । ४ महिनाभित्रै सम्पन्न गर्ने उनले दाबी गरे । बसपार्क २० करोड रुपैयाँको लागतमा निर्माणाधीन छ ।

प्रकाशित : कार्तिक १५, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?