कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

उपचारका लागि हेलिकप्टरकै भर

सुगममा दुर्गम भोगाइ
महँगो उपचार, ज्यान बचाउनै कठिन
दुर्गालाल केसी

दाङ — बस र मोटरसाइकल ठोक्किँदा केही समयअघि तुलसीपुर उपमहानगरपालिका २ का ३९ वर्षीय प्रकाश केसी र उनकी श्रीमती ३६ वर्षीया सुनीता केसी गम्भीर घाइते भए  । उनीहरूको जिल्लामा उपचार सम्भव नभएपछि तत्काल काठमाडाैं पुर्‍याउनुपर्ने भयो  ।

उपचारका लागि हेलिकप्टरकै भर

छिटो लैजान साधन भएन । ४ लाख रुपैयाँमा हेलिकप्टर चार्टर गरेर उनीहरूलाई काठमाडौं पुर्‍याइयो ।
०००


स्कुटीमा सवार तुलसीपुरकी शिक्षिका टिना केसीलाई टिपरले ठक्कर दियो । गम्भीर घाइते केसीलाई हेलिकप्टरबाट काठमाडौं लगियो । लाखौं खर्च गरेर काठमाडौं पुर्‍याउँदा पनि उनको ज्यान बचेन । एक वर्षअघि नारायणपुरमा भएको सडक दुर्घटनामा कांग्रेस नेता रणबहादुर भण्डारी घाइते भए । उनलाई तत्काल काठमाडौं पुर्‍याउन हेलिकप्टर चार्टर गरियो । उनको पनि लामो समय अस्पताल बसेर मृत्यु भयो । घोराहीकी शिक्षिका वसन्ता गौतम स्कुटर दुर्घटनामा गम्भीर घाइते भइन् । उनलाई हेलिकप्टरबाट काठमाडौं लगियो । लामो उपचारपछि उनको स्वास्थ्यमा केही सुधार आयो ।
०००


केही साताअघि मोटरसाइकलले ठक्कर दिएर छड बोकेको ट्रयाक्टरमा पुर्‍याइदिएपछि घोराही ३ झिङनीकी ३८ वर्षीया तिला परियारको छातीमा तीनवटा छड पसेर अर्कोपट्टि निस्किए । दुर्घटनालगत्तै छड काटेर परियारलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराही पुर्‍याइए पनि आसीयू नहुँदा उपचार गर्न नसकिएको भन्दै तत्काल भैरहवा रिफर गरियो । भैरहवामा उपचार सम्भव नभएपछि उनलाई अर्को दिन काठमाडौं पुर्‍याइयो । काठमाडौं पुर्‍याएपछि मात्रै उनको शल्यक्रिया गरेर छड निकालियो ।


दाङजस्तो सुगम जिल्लाका बासिन्दाले उपचारका लागि भोग्नु परेका दु:खका यी उदाहरण मात्र हुन् । कुनै दुर्घटना भए तत्काल जिल्लामा उपचार सम्भव छैन । घोराही र तुलसीपुरमा भरपर्दो उपचार सेवा छैन । आईसीयू नहुँदा ठूला अप्रेसन गर्न सम्भव छैन । ठूला समस्या हुनेबित्तिकै तत्काल नेपालगन्ज या बुटवल रिफर गर्ने गरिएको छ । त्यहाँ पनि उपचार सम्भव नहुँदा कठिन अवस्थामै काठमाडौं पुगेर मात्र उपचार सम्भव हुन्छ । तत्काल काठमाडौं जानुपर्ने, अन्यथा ज्यानै जान सक्ने अवस्थाका बिरामीलाई विकट जिल्लामा जस्तो हेलिकप्टर चार्टर गरेर काठमाडौं पुर्‍याउनुपर्ने बाध्यता छ ।


जिल्लामा दैनिक जहाज उडान नहुँदा गम्भीर बिरामीलाई हेलिकप्टर चार्टर गरी काठमाडौं लैजानुपर्ने बाध्यता दंगालीलाई छ । जिल्लाको टरिगाउँ विमानस्थलमा नेपाल वायु सेवा निगमले हालै मात्र उडान सुरु गरेको छ । हालसम्म सातामा दुई दिन सोमबार र शुक्रबार मात्रै उडान भएकामा अब बुधबार पनि थप गर्ने तयारी भएको उडानको समन्वय गरिरहेको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए ।


जिल्लाको समस्यालाई मध्यनजर गरी उडान थप गरिएको र अब दैनिक उडान गर्ने योजना रहेको उनले बताए । राप्तीको रुकुममा दुई विमानस्थल छन् । त्यहाँ पनि नियमित उडान छैन । अन्य जिल्लामा विमानस्थल नै छैनन् । हवाई सेवाका लागि यहाँबाट नजिक भनेका नेपालगन्ज र भैरहवा विमानस्थल हुन् । राप्ती क्षेत्रकै गम्भीर बिरामी नेपालगन्ज र भैरहवा हुँदै काठमाडौं पुर्‍याउँदासम्म ज्यान बचाउन सकिने निश्चित हुँदैन ।


आर्थिक स्थिति राम्रो भएकाले हेलिकप्टर चार्टर गर्ने गरेका छन् भने नभएकाले बसबाटै काठमाडौं पुर्‍याउने गरेका छन् । घाइतेलाई काठमाडौं लैजान १ वर्षमै ४ पटक हेलिकप्टर चार्टर भइसकेका छन् ।


आपतकालीन उपचार गर्नुपरे महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरु रावतले बताए । ‘जिल्लामा नियमित उडान नभएका कारण लाखौं खर्च गरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘दाङजस्तो सुगम जिल्लामा पनि दुर्गमभन्दा बढी दु:ख छ । यहाँका नागरिकले भरपर्दो स्वास्थ्य उपचार नै पाउन सकेका छैनन् ।’


जिल्लाका अस्पतालमा आईसीयू नभएकै कारण आपत्कालीन उपचारका लागि बाहिरी जिल्ला धाउने र समयमै उपचार नहुँदा ज्यानै जाने गरेको छ । सर्पदंश हुँदा र विषालु च्याउले बिरामी पर्दा पनि ज्यान जोगाउन कठिन छ । घोराही उपमहानगरपालिका १९ पाँचपोखरीका ४० वर्षीय चित्रबहादुर घर्ती, १९ वर्षीय बालाराम घर्ती र ५ वर्षीया प्रशंसा घर्तीको विषालु च्याउ खाएका कारण असारमा मृत्यु भयो । जिल्लामा तत्काल उपचार गर्ने सुविधा नहुँदा अकालमै ज्यान गएको स्थानीय भूपबहादुर घर्तीले बताए ।


तुलसीपुर ८ अश्वाराकी ११ वर्षीया अनिता विकको असारमा सर्पदंशबाट मृत्यु भयो । सर्पले डसेको थाहा पाउनेबित्तिकै उनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर पुर्‍याइयो । अस्पतालमा उपचार हुन नसक्ने भएपछि नेपालगन्ज रिफर गरियो । नेपालगन्ज नपुग्दै बाटोमै उनको मृत्यु भयो । समयमा उपचार नपाउँदा नै छोरीको ज्यान गएको आमा लक्ष्मी विकले बताइन् ।


जिल्लाको अस्पतालमा उपचार हुन नसक्दा बहिनी गुमाउनुपरेको दाजु राजकुमार विकले बताए । तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका ९ वर्षीय सुनील विकको पनि सर्पदंशबाट मृत्यु भयो । सर्पको डसाइबाट गम्भीर बिरामी परेका विकको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।


उपकरण र प्रविधि नभएका कारण नै जिल्लामा जटिल उपचारमा समस्या भएको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका पूर्वमेडिकल सुपरिन्टेन्डेन्ट डा. जनार्दन पन्थीले बताए । ‘आईसीयू सञ्चालन नभएका कारण पनि धेरै उपचार प्रभावित भएका छन्,’ उनले भने, ‘घोराहीमा लामो समयदेखि आईसीयू सञ्चालनको प्रयास भए पनि सबैतिरबाट सहयोग नभएपछि सम्भव भएन । जसले गर्दा गम्भीर बिरामीको उपचारमा समस्या भएको छ ।’

प्रकाशित : कार्तिक १६, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?