औषधि र चिकित्सक अभाव

स्वास्थ्य बिमा बोर्डसँग भएको सम्झौताअनुसार रकम उपलब्ध नगराउँदा सबैभन्दा बढी दीर्घरोगी प्रभावित भएका छन् 
कमल पन्थी

बर्दिया — गेरुवा गाउँपालिका ३ का दिगम्बर थारू झाडा पखालाले च्यापेपछि राजापुरस्थित प्राथमिक स्वास्थ्यचौकीमा पुगे  । चिकित्सकविहीन उक्त स्वास्थ्य केन्द्रमा अहिले अहेबले स्वास्थ्य जाँच गर्छन्  ।

औषधि र चिकित्सक अभाव

उनको स्वास्थ्य परीक्षण गरियो । त्यहाँ औषधि नपाएपछि बाध्य भएर बजारबाट किन्न पर्‍यो ।


राजापुर नगरपालिका ६ का लौटन चौधरी ज्वरो आएपछि स्वास्थ्य केन्द्र पुगे । त्यहाँ चिकित्सक नभएकाले थप उपचारका लागि नेपालगन्ज लगियो । तीन जनाको दरबन्दी भए पनि लामो समयदेखि चिकित्सक छैनन् । पछिल्लो पटक गत असोज १ गतेबाट रूपेश ओड बिदामा बसेपछि स्वास्थ्य केन्द्र चिकित्सकविहीन भएको हो ।

करार सेवाका चिकित्सकद्वय प्रदीप रेग्मी र सन्दीप भण्डारी तीन महिनाअघि सरुवा भई गएपछि समस्या भएको हो । केन्द्रमा स्वास्थ्य बिमा बोर्डसँग भएको सम्झौताअनुसार रकम उपलब्ध नगराउँदा सबैभन्दा बढी दीर्घ रोगी प्रभावित भएका छन् ।


मधुमेह, थाइराइड, ग्यास्ट्रिकलगायतका बिरामीले उपचार पाएका छैनन् । राजापुर र गेरुवाका करिब २० हजारले स्वास्थ्य बिमा गराएका छन् । औषधि खरिद गरेबापत पाउनुपर्ने ७ लाख रकम बोर्डले भुक्तानी दिएको छैन । रकम उपलब्ध नभएका कारण औषधिको अभाव भएको स्वास्थ्य केन्द्रले जनाएको छ । नगरपालिकाले औषधिका लागि रकम छुट्टाए पनि उपलब्ध नगराएको निमित्त स्वास्थ्य प्रमुख देवी खनाल ज्ञवालीले बताइन् । स्वास्थ्य केन्द्रमा रहेको एक्स–रे मेसिन सञ्चालनमा नआएको महिनौं भयो । कम भोल्टेजका कारण यस्तो अवस्था आएको स्वास्थ्यकर्मी बताउँछन् ।


कर्णालीले घेरिएको राजापुर र गेरुवाका अधिकांश बिरामी चिकित्क नहुँदा बाध्य भई टीकापुर, नेपालगन्जलगायत भारतमा उपचारका लागि जान बाध्य छन् । दैनिक १ सय ५० देखि दुई सय बिरामी उपचारका लागि आउने गरेको निमित्त स्वास्थ्य प्रमुख ज्ञवालीले दाबी गरिन् । स्वास्थ्यकर्मीले भने चिकित्सक नभएपछि दैनिक २५/३० जना बिरामी आउने गरेको बताए । स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट र अहेव १/१ जनाले सामान्य खाले बिरामीको उपचार गरिरहेका छन् । जिल्लाको दुर्गम यस स्वास्थ्य केन्द्रमा स्टाफ नर्स १ र अनेमी २ जना कार्यरत छन् ।


सडक सुधार भएन
प्यूठानस्थित जिल्ला अस्पताल बिजुवार पुग्ने सडक वर्षौदेखि जीर्ण हुँदा विरामी बोक्ने एम्बुलेन्स लाई समेत समस्या भएको छ । सडक राम्रो नभएकाले बिरामी अस्पातल पुग्न समस्या छ ।

प्यूठान नगरपालिका–४ स्थित बिजुवार मित्रमणीचोकदेखि जिल्ला अस्पताल पुग्ने सडक मर्मतमा नगरपालिकाले समेत ध्यान पुर्‍याएको छैन । सडक जीर्ण हुँदा जिल्लाभरका बिरामीले दु:ख पाएको बिजुवार टारीका स्थानीय लोकमणी भण्डारीले बताए । ‘सडकको कारण बिरामीले दु:ख पाएको देखिरहेका छौं,’ उनले भने,‘ बिरामीले दु:ख पाएको देख्दा दया लाग्छ ।’


जिल्ला स्वाथ्य कार्यालयको भवन निर्माण गर्ने समयमा सडक ढलान भएको भण्डारीले बताए । ढलान उम्केर ठूल्ठूला खाल्डा बनेका छन् । खाडलले गर्दा एम्बुलेन्स लाई अस्पताल पुग्न समस्या भइरहेको भण्डारीले बताए । सुत्केरी, बृद्धबृद्धाले धेरै दु:ख पाएको स्थानीय बद्री श्रेष्ठले बताए । ‘अस्पताल पुग्ने सडक सुधार गर्न नगरपालिका लाई धेरै पटक अनुरोध गर्‍यो,’श्रेष्ठले भने,‘भर्खरै नगरपालिकाले दुई/तीन ट्याक्टर गिट्टी खसाले बित्छ्याएको छ,’ यसले झन समस्या निम्त्याएको छ ।’

उनले नगरपालिकाले मित्रमणी चोक हुँदै नगरपालिका भवनसम्म पुग्ने सडक जस्तो अस्पताल पुग्ने सडक पनि निर्माण गर्न स्थानीयले माग गरेको बताए ।

प्रकाशित : कार्तिक १७, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?