आँखाको शल्यक्रियापछि खुसी

गिरुप्रसाद भण्डारी

प्यूठान — मोतीयाविन्दुले दृष्टि गुमाएका वृद्धवृद्धा शल्यक्रिया गरेर पुन: आँखा देख्न पाएपछि खुसी छन्  । प्रस्तावित नरेन्द्र/गायत्री आँखा अस्पताल बिजुवारमा बुधबारदेखि सञ्चालन भएको शिविरमा उनीहरूले सल्यक्रिया गराएका हुन्  ।

आँखाको शल्यक्रियापछि खुसी

रणअम्बिका आँखा अस्पताल भैरहवाबाट आएको चिकित्सक टोलीले जिल्लाका ५० जनाका आँखाको शल्यक्रिया गरेको थियो । प्यूठान नगरपालिका क्षेत्रमा रहेका रोगीको नि:शुल्क र अन्य क्षेत्रबाट आएका बिरामीले ३ हजार १ सय २५ रुपैयाँ तिरेर शल्यक्रिया गराएका हुन् । जेष्ठ नागरिक सम्मान कार्यक्रमअनुसार उपचारमा लाग्ने सबै खर्च नगरपालिकाले बेहोर्ने जनाएको छ ।


गत वर्षदेखि ठ्याम्मै देख्न छाडेका प्यूठान नगरपालिका ८ दम्तीका विष्णुबहादुर पाण्डेयले शल्यक्रियापछि संसार देख्न पाएकोमा खुुसी लागेको बताए । ‘जिल्लामै नि:शुल्क उपचार गराएँ,’ उनले भने, ‘दामको जोहो गरेर भैरहवा जाने तयारी गरेको थिएँ । रेडियोमा सूचना सुनेर आएको हुँ । जिल्लामै उपचार गर्न पाउँदा निकै खुसी छु ।’

प्यूठान नगरपालिका ६ माझकोटका जगतबहादुर केसीले शिविरमा आएर सजिलै दुवै आँखाको शल्यक्रिया गरेको बताए । ‘गत वर्ष देब्रे आँखाको शल्यक्रिया गरेको थिएँ,’ उनले भने, ‘यसपालि दाहिनेको गराएँ । अब ढुक्कले हिँडडुल गर्न सक्ने भएको छु ।’ उनले पुन: आँखा देख्न पाउँदा जीवन नै उज्यालो भएको अनुभव गरेको केसीले बताए ।


झिमरुक गाउँपालिका ७ कुटीचौरकी ७२ वर्षीया विष्णुकुमारी श्रेष्ठले शल्यक्रिया गरेर सबै देख्न सक्ने भएकोमा धेरै खुसी लागेको बताइन् । ‘दुई वर्षदेखि अन्धी बनेर बसेकी थिएँ,’ उनले भनिन्, शल्यक्रिया पछि एउटा आँखाले देख्न सक्ने भएकी छु । अर्काको फागुनमा आउने शिबिरमा उपचार गराउनी हँु ।’ जेष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका सबै जेष्ठ नागरिकहरूको आँखा उपाचारका लगि सहयोग गरेको मेयर अर्जुनकुमार कक्षपतीले बताए ।


‘६० वर्षमाथिका सबैलाइ आँखाको उपचारमा लाग्ने खर्च व्यहोर्ने गरेका छांै,’ कक्षपतीले भने, ‘यो कार्यक्रमले धेरै जेष्ठ नागरिकको सम्मान भएको हामीले ठानेका छौं ।’ उनले गत वर्ष जेष्ठ नागरिकको आँखाको उपचारमा पाँच लाख रुपैयाँ खर्च गरेको बताए । ‘यस वर्ष हाम्रो कार्यक्रमको धेरै प्रचार भएको छ,’ श्रेष्ठले भने, ‘सबैको उपचार गर्नेगरी बजेटको व्यवस्था मिलाएका छौं ।’

बुधबारदेखि चलेको शिविरमा रणअम्बिका आँखा अस्पताल भैरहवाकी डा. स्वेता सिंको नेतृत्वमा आएको ७ जनाको टिमले शल्यक्रिया गरेको नेपाल नेत्रज्योति संघ प्राथमिक आँखा उपचार केन्द्र बिजुवारका व्यवस्थापन समिति सदस्य मेघबहादुर अधिकारीले जानकारी दिए ।

प्रकाशित : कार्तिक १७, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?