उच्छृंखल गतिविधिमा संलग्न ३७ विदेशी खेदिए

वीरेन्द्र केसी

अर्घाखाँची — खोलामा उच्छृंखल गतिविधिमा संलग्न रहेको पाइएपछि २५ देशका ३७ विदेशी महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला बाहिर पठाएको छ।

उच्छृंखल गतिविधिमा संलग्न ३७ विदेशी खेदिए

शीतगंगा नगरपालिका-६ सिद्धाराको गोवाङ र बुच्ची खोलामा सर्वांग नांगै भएर उनीहरू एकापसमा अश्लील गतिविधिमा संलग्न थिए । गाउँलेले हेर्नै नमिल्ने गरी खुला स्थानमा उच्छृंखल गतिविधि गरेको पाएपछि प्रहरीलाई खबर गरेको बताए ।


घुम्ने नाममा कोही ठाडाको चाक्ला त कोही दाङको भालुवाङबाट सिद्धारा आएका थिए । स्थानीय प्रशासनको अनुमतिबिना केही दिनदेखि टेन्ट नै टाँगेर विदेशीहरू त्यहाँ बसेका थिए । गाउँलेले खबर गरेपछि दुई दिन प्रहरी परिचालन गरी उनीहरूलाई नियन्त्रणमा लिई शुक्रबार जिल्लाबाहिर पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


बस्ती छरिएर रहेको र जंगल धेरै भएकाले सिद्धारा पर्यटकका लागि पछिल्लो समय आकर्षणको केन्द्र बन्दै आएको छ। रेन्बो ग्रुपमार्फत ती विदेशी शीतगंगा आएका थिए । विभिन्न देशका नागरिक संलग्न त्यस ग्रुपका सदस्यले हरेक मुलुक घुम्ने,एकापसमा प्रेमसम्बन्ध राख्नेलगायत काम गर्दा रहेछन् ।


प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले विदेशी सबैलाई नियन्त्रणमा लिई सम्झाइबुझाइ जिल्लाबाहिर पठाएको बताए । ‘विदेशी नागरिकलाई काठमाडौं बस्ने सुशान्त पौडेलले यहाँ सबै काम गर्न मिल्छ, केही हुँदैन भनेर ल्याएका रहेछन्,’ प्रजिअ भुसालले भने, ‘सार्वजनिक स्थलमा उच्छृंखल गतिविधि गर्न हाम्रो कानुनले दिंदैन। तसर्थ उनीहरूलाई सम्झाइबुझाइ पठाइयो ।’


खोलामा नांगै नुहाउने,माटो दल्ने,तस्बिर खिच्ने र यौन क्रियाकलाप गरेको स्थानीयले देखेका थिए । ‘बुझ्दा विदेशी नागरिकको दोष देखिएन, कानुनका बारेमा जानकारी दिई सम्झायौँ र बस चढाएर काठमाडौ पठायौँ,’ प्रजिअ भुसालले भने,‘कानुनविपरित गतिविधि गर्न लगाउने चार नेपाली दोषी देखिए ।’


सिद्धारामै जन्मिएर हाल कपिलवस्तुमा बसोबास गर्ने मोतीराम गैरेले विदेशीलाई उच्छृंखल गतिविधि गर्न सिद्धाराको आफ्नै जग्गा उपलब्ध गराएका थिए । उनी नेपाली सेनाका अवकाशप्राप्त हुन् । विदेशी नागरिकलाई नेपाल भित्र्याएर नेपालका विभिन्न ठाउँको नक्सा बनाएर घुमाउने मुख्य व्यक्ति पौडेल, सहयोगी गैरे, कलैयाका दीपेन्द्र सुनार र शालिकराम पोखरेललाई कानुनविपरीतको क्रियाकलाप गर्न लगाएको भन्दै प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।


कुनै पनि विदेशी नागरिकले टेन्ट टाँगेर बस्न स्थानीय प्रशासनको अनुमति लिनुपर्छ। प्रहरी निरीक्षक खिमबहादुर घमले चार नेपालीलाई शान्ति सुरक्षा उल्लंघन गरेको र सार्वजनिक स्थल कसुर अनुसार कारबाही हुने बताए ।


प्रकाशित : कार्तिक १७, २०७५ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?