१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

२४ वर्षदेखि सडकमा बास

काशीराम डाँगी

रोल्पा — लिबाङ बजारमा फोहोर व्यवस्थापन गर्न रोल्पा नगरपालिकाले कर्मचारी नियुक्त गरेको छ  । फोहोर फाल्न सातदोबाटो डाँडामा डम्पिङ साइट निर्माण गरिएको छ  ।

२४ वर्षदेखि सडकमा बास

फोहोर ओसार्न गाडी खरिद गरिएको छ । तर, बेसहारा अवस्थाका टेकमान बुढामगर रातोदिन बजारको फोहोर टिपिरहेको भेटिन्छन् । २४ वर्षदेखि उनको यो नियमित दिनचर्या बनेको छ । जहाँ फोहोर भेट्छन्, टिपेर कतै थुपार्छन् । उनको मुख्य काम भनेकै फोहोर संकलन गर्नु हो । उनको दिनचर्या देख्दा लाग्छ, उनी स्थानीय तहद्वारा नियुक्त फोहोर संकलनकर्ता कर्मचारी हुन् ।

उनको स्वास्थ्य जाँच कसैले गरेको छैन । स्थानीय तहदेखि व्यक्तिसम्मले उनको अवस्थाबारे सोधीखोजी गरेको पाइँदैन । यद्यपि, उनले बजारको फोहोर सफा गरेर लिबाङलाई २४ वर्षदेखि सफा राख्न भने मद्दत गर्दै आएका छन् ।

‘टेकमान लिबाङ आएको ०५१ सालतिर हो,’ लिबाङका व्यवसायी तथा राजनीतिक कार्यकर्ता गोविन्द बलामीले भने, ‘लिबाङमा उनका न आफन्त छन्, न शत्रु नै । सहाराविहीन उनी २४ वर्षदेखि कष्टपूर्ण तरिकाले खुला आकाशमुनि बाँच्दै आएका छन् ।’ राजधानी काठमाडौंमा हुर्की बढेका गोविन्द लिबाङ आएको ०४९ मा हो ।

राजधानीको खाँटी नेवार परिवारमा जन्मेर पनि गोविन्दले यतै घरजम गरेर बसोबास गर्दै आएका छन् । उनी टेकमानलाई निकै नजिकबाट देख्दै आएका व्यक्ति पनि हुन् । अघिल्लो वर्ष ‘फोहोर थुपारेको’ आरोपमा टेकमानलाई रोल्पा नगरपालिकाका केही ‘जनप्रतिनिधि’ ले जिल्लाबाहिर जाने ट्रकमार्फत तराईका जंगलमा छोड्ने योजना बनाए ।

केहीको विरोधपछि टेकमानलाई लैजान दिइएन । ‘कसैलाई नबिगारी बसेको व्यक्तिलाई बाहिर लैजान खोज्ने व्यक्ति पापी हुन्,’ टेकमानलाई खाजा–खाना दिंदै आएका मिठाई व्यवसायी वंशीधर गुप्ता बानियाँले भने, ‘कसैका लागि खराब काम गरेको छैन । सकिन्छ भने सहारा दिनुपर्छ ।’

होमा फाल्जागाउँस्थित घरबाट लिबाङ बजार आएपछि टेकमानको रहने/बस्ने कुनै ठेगाना छैन । ‘सडकमै बस्छन् । सडकमै खान्छन् । सहारा कोही छैन,’ लिबाङमा खाजा पसल गर्दै आएकी जोखमाया गुरुङले भनिन्, ‘यिनको दु:खमा साथ दिने कोही छैन ।’ रोल्पा नगरपालिका ९ का अध्यक्ष मिमबहादुर घर्तीमगरले टेकमानलाई सहयोग गर्न चाहेको बताए । ‘केही आर्थिक सहयोग जुटाएर उपचार गर्न वा कतै व्यवस्थित गर्न सकेमा राम्रो हुने ठानेका छौं,’ उनले भने ।

फाल्जागाउँमा टेकमानका बुबाको प्रशस्त जग्गाजमिन थियो । सुरुमा मानसिक समस्याले टेकमान घरबाट निस्केर लिबाङमै बस्न थालेपछि उनको जग्गाजमिन आफन्तले बाँडचुँड गरे । त्यस समय आफन्तले उनलाई घरसम्म त लगे तर उनी बसेनन् । भागेर फेरि लिबाङमै फर्किए । खानेकुरा माग्दा र ज्यादै दु:ख पर्दा टेकमानले नेपाली र स्थानीय मगर खाम भाषामा केही बोल्न सक्छन् ।

कसैले दिएको वा फोहोर कोटयाएर भेटिएको अन्न उनको खाना हो । टेकमानले बजारमा फोहोरको टुक्रा खस्न दिन्नन् । बजारभर फोहोर सोहोर्दै हिँड्छन् । बजार चिटिक्क पार्न उनी दिनहँु खटेका देखिन्छन् । रोल्पा नगरपालिकाले टुँडिखेललाई तारबारले घेरेपछि खुला रूपमा चौरमा बस्न र घाम ताप्न टेकमानलाई मिलेको छैन ।

टेकमानलाई लामो समयदेखि चिन्दै/सहयोग गर्दै आएका सिद्धहस्त चित्रकार रामचन्द्र श्रेष्ठ स्थानीय तहका जनप्रतिनिधिले उनलाई सहयोग गरेर पुन:जीवन दिन सक्ने बताउछन् । पूर्ण रूपमा मानसिक अवस्था नगुमेकाले टेकमानको उपचार भएमा उनले पुन:जीवन पाउनेमा आफू विश्वस्त रहेको श्रेष्ठले बताए ।

‘बेसहारा बनेका टेकमानजस्तालाई राज्यले नै सहारा दिनुपर्छ,’ ०५२ मा राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त चित्रकार श्रेष्ठले भने, ‘अहिले त स्थानीय तहमार्फत सरकार जनताको दैलोमै आएको छ भन्ने सुनेको छु । खोइ त सरकार ?’

प्रकाशित : कार्तिक १८, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?