कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

१३ विधेयक र कार्यविधि स्वीकृत

घनश्याम गौतम

रूपन्देही — प्रदेश सरकारले विभिन्न मन्त्रालयका विधेयक, अवधारणापत्र र कार्यविधि स्वीकृत गरेको छ  । शुक्रबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले प्रशासकीय कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्रमा स्वीकृति दिनेसहित विभिन्न १३ विधेयक र कार्यविधि स्वीकृत गरेको हो  ।

१३ विधेयक र कार्यविधि स्वीकृत

भौतिक पूर्वाधार विकास मन्त्रालयले पेस गरेको प्रदेशको सिंचाइ सेवाको निर्माण एवं व्यवस्थापन गर्न बन्ने विधेयक, विद्युत् विकास निर्माण एवं व्यवस्थापन गर्न बन्ने विधेयक र खानेपानी सेवाको विकास एवं व्यवस्थापन गर्न बन्ने विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।

सरकारले प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेस गरेको जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र दाना पदार्थका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान
गरेको छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति दिएको छ । प्रदेशको जाँचबुझ आयोग गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति दिएको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालयले पेस गरेको प्रादेशिक स्वास्थ्य सेवासम्बन्धी व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति दिने र संघसंस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले पाल्पाको रिब्दीकोट गाउँपालिकाको नाम परिवर्तन गरी रिब्दीकोट भैरव राख्न केन्द्रीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । गाउँपालिकाले गाउँसभाबाट दुई तिहाईसहित नाम परिवर्तन गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गरेको थियो । गाउँ कार्यपालिकाको दुई तिहाईको निर्णयपछि प्रदेश सरकारको सिफारिसका आधारमा संघीय सरकारले स्थानीय तहको नाम परिवर्तन गर्न सक्ने संवैधानिक व्यवस्था छ । विधेयक अभावमा लामो समयदेखि प्रदेशसभा बैठक स्थगित भएपछि सरकार विधेयक तयार गर्न जुटेको छ ।

छठलगत्तै बस्ने प्रदेशसभा बैठकका लागि सरकारले विभिन्न मन्त्रालयसँग सम्बन्धित ३२ विधेयक तयार गरेको प्रवक्ता चौधरीले बताए । ‘सरकार अबको तेस्रो प्रदेशसभा अधिवेशनलाई विधेयक अधिवेशन गराउने तयारीका साथ अघि बढेको छ,’ उनले भने, ‘३२ विधेयक तयार भइसके, अझै केही बन्दै छन् ।’ सरकारले अबको अधिवेशनबाट कानुन निर्माण र बजेट कार्यान्वयनका काम सँगसँगै अघि बढाउने गरी सबै जनशक्ति केन्द्रित गरेको उनले बताए ।

प्रकाशित : कार्तिक १८, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?