कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बस्तीभित्र सवस्टेसन राखेपछि स्थानीयको अवरोध

कान्तिपुर संवाददाता

परासी — राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण करिडोर आयोजनाको सवस्टेसन निर्माण गर्दा सूचना नदिएको र बस्तीभित्र निर्माण गरेको भन्दै स्थानीयले विरोध गरेका छन्  ।

बस्तीभित्र सवस्टेसन राखेपछि स्थानीयको अवरोध

पश्चिम नवलपरासीको सुनवल नगरपालिका १३, बडेरास्थित सूर्य बस्तीमा निर्माण हुन लागेको स्टेसनमा स्थानीयले अवरोध गरेपछि काम अगाडि बढ्न सकेको छैन । बाक्लो बस्तीभित्र निर्माण गर्दा जोखिमपूर्ण हुने भन्दै स्थान परिवर्तन गर्न स्थानीयले माग गरेका छन् ।

आयोजनाको डीपीआर तयार पार्दा स्थानीयसँग छलफल नगरी हचुवाका भरमा बस्तीको बीचमा सवस्टेसन राख्ने काम भएको भन्दै जोखिम मोलेर आयोजनाको काम अगाडि बढ्न नदिने स्थानीयको अडान छ ।

विरोधस्वरूप स्थानीयले दुई सातादेखि साइट कार्यालयमा लगाएको ताला समस्या समाधान गर्ने सर्तमा जनप्रतिनिधि, आयोजनाका सरोकार र प्रशासनको रोहबरमा खुले पनि सवस्टेसन निर्माणका लागि आवश्यक सामान निर्माण स्थलमा पुग्न सकेका छैनन् ।

सवस्टेसन निर्माणका लागि चार वर्षअगाडि नै आयोजनाले जग्गा अधिग्रहण गरेको थियो । स्थानीयले भने जग्गा अधिग्रहण गरे पनि केका लागि हो भन्ने विषयमा आफूहरूलाई जानकारी नभएको भन्दै सस्तोमा जग्गा आयोजनालाई दिएको बताए । २० बिघामध्ये १२ बिघा स्थानीयको र बाँकी ऐलानी पर्तिजग्गा रहेको छ । बस्तीबाट लाइन विस्तार नगरी खोला किनारबाट लैजानु पर्ने वा अन्य विकल्प खोज्नुपर्ने स्थानीयको माग छ ।

सवस्टेसनको कुल लागत १ अर्ब १० करोड छ । भारतको टाटा प्रोजेक्ट लिमिटेडले निर्माण जिम्मा लिएको आयोजना सन् २०१७ को डिसेम्बरमा सम्झौता गरेर २०१९ को अक्टोबरमा निर्माण सम्पन्न गर्ने समयावधि तोकिएको छ । १ सय एमभीए, २ सय २० केभी क्षमता भएको सवस्टेसन निर्माण हुने आयोजना प्रमुख चन्दनकुमार घोषले बताए ।

सवस्टेसन निर्माणका लागि आयोजनाले स्थानीयलाई सूचना नदिएको र आयोजनाबारे जानकारी भएको सूचना बोर्डसमेत नराखी काम सुरु गरेपछि स्थानीय आक्रोशित बनेका हुन् । गौरवको आयोजना भएकाले स्थानीयको गुनासो समाधान गर्दै कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले बताए ।

समस्या समाधानका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक समिति, वडाध्यक्षको अध्यक्षतामा दोस्रो समिति र आन्दोलित स्थानीयका तर्फबाट तेस्रो समिति गठन गरेर सबैसँग छलफल हुने र कसरी अगाडि बढ्ने भन्ने विषयमा निष्कर्षमा पुग्ने सहमति भएको छ ।

स्थानीय हरि भण्डारीले जनतालाई असर पुग्ने गरी आयोजना अगाडि बढाउन नपाइने बताए । ‘हामीले आयोजना नै नबनाउने भन्न खोजेका होइनौं,’ उनले भने, ‘बस्ती बीचबाट तार लैजानुभन्दा बस्ती छलेर खाली स्थानतर्फ सवस्टेसन निर्माण गरेर जोखिम कम गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

सवस्टेसन वरपर जोखिम हुने भन्दै बैंक तथा वित्तीय संस्थाले लगानी नगर्ने, जग्गाको मूल्य घटनेजस्ता भ्रम सिर्जना गर्दा स्थानीय त्रस्त बनेका हुन् । तर, आयोजनाले १५ मिटरको दूरीमा तार रहने हुनाले कुनै पनि जोखिम नरहने र आधुनिक प्रविधिको प्रयोगले निर्माण गरिने हुनाले भ्रममा नपर्न आग्रह गरेको छ ।

वडा नम्बर १३ का वडाध्यक्ष तथा सुनवल नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद देवकोटाले सामान्य आयोजना निर्माण गर्दासमेत आफूहरूले त्यसको प्रकार, लागत रकमजस्ता जनचासोको विषय सबैले देख्ने गरी राख्ने गरेको बताउँदै करोडांैको आयोजना निर्माण गर्दा सुटुक्क गर्न लागेकाले स्थानीय आन्दोलित बनेको बताए । ‘म पनि यही वडाको बासिन्दा हुँ ।

राष्ट्रिय गौरवको आयोजना निर्माण हुनुपर्छ भन्नेमा हामी सबै एकमत छौं,’ उनले भने, ‘आयोजना निर्माणअघि र पछि स्थानीयलाई हुने फाइदा/बेफाइदाबारे जानकारी दिनुपर्छ । जोखिम कम गरेर आयोजनाको काम सुचारु हुनुपर्छ ।’

पहाडी क्षेत्रमा विद्युत् कम खपत हुने र तराईमा माग बढी भएकाले आयोजनाले तीन स्थानमा सवस्टेसन निर्माण गरिरहेको छ । कालीगण्डकी नदी र आसपासका खोलामा विद्युतगृह र हाइड्रोपावरले उत्पादन गर्ने विद्युतलाई विस्तार गर्नका लागि बडेरामा सवस्टेसन निर्माण गर्न लागेको आयोजनाले जनाएको छ ।

प्रकाशित : कार्तिक १८, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?