३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जुवाको विवाद पछि एसपीको सरुवा

दुर्गालाल केसी

दाङ — जुवा धन्दामा विवादित भएपछि जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माको तीन महिनामै सरुवा भएको छ । साउन २८ मा आएका शर्माको जिल्लाका सुरक्षा निकायसँग उचित तालमेल हुन नसक्दा छोटो समयमै सरुवा भएको हो ।

जुवाको विवाद पछि एसपीको सरुवा

शर्मालाई मानव बेचबिखन नियन्त्रण ब्यूरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए । दाङमा प्रहरी प्रधान कार्यालयबाट एसपी बेलबहादुर पाण्डेलाई खटाइएको सुवेदीले जानकारी दिए । सुवेदीले भने शर्माको विवादका कारण नभई आवश्यकताका आधारमा सरुवा भएको दाबी गरे ।


जुवा नियन्त्रणमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गजेन्द्र बहादुर श्रेष्ठ र एसपी शर्माबीच असमझदारी भएको थियो । यसबारे कान्तिपुर दैनिकमा ‘जुवा बन्यो कमाउ धन्दा’ शिर्षकमा समाचार प्रकाशित भएको थियो । व्यवसायीले प्रहरीलाई मोटो रकम तिरेर जुवा सञ्चालन गरिरहेको गुनासो आएपछि प्रहरी प्रमुख विवादित भएका थिए । जुवा नियन्त्रणमा नेपाल प्रहरी भरपर्दो नभएको आशंकामा प्रजिअ श्रेष्ठले राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरी खटाएर जुवा नियन्त्रणको प्रयास गरेको बताएका थिए ।


कतिपयले यसलाई भागबण्डा नमिलेको परिणाम भनेर टिप्पणी गरेका थिए । सामान्यतः जुवा नियन्त्रणका लागि जिल्ला प्रहरी प्रमुखको खटनपटनमा नेपाल प्रहरी खटिनुपर्नेमा प्रजिअले सशस्त्र र राष्ट्रिय अनुसन्धान खटाएपछि जिल्लाका सुरक्षा अधिकारीबीच समन्वय अभाव देखिएको थियो । जुवामा लेनदेनको खेल चलेकै कारण यस्तो परिस्थिती आएको बुझिएको छ ।

प्रकाशित : कार्तिक १८, २०७५ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?