कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दिनहुँको धूलोधूवाँले हैरानी

ज्यामिरेका २६ घर विस्थापित, २ सय घर प्रभावित
माधव अर्याल

पाल्पा — सिमेन्ट उद्योगका लागि चुनढुंगा ढुवानी गर्ने टिपरले मापदण्ड पूरा नगर्दा ज्यामिरेका झन्डै २ सय घर दिनहुँ धूलोधूवाँको हैरानी खेप्न बाध्य छन् । 

दिनहुँको धूलोधूवाँले हैरानी

रूपन्देही, नवलपरासी र कपिलवस्तुका सिमेन्ट उद्योगमा यहाँ चुनढुंगा उत्खनन हुन्छ । उत्खनन गरिएको सामग्री ढुवानी गर्दा पालना गर्नुपर्ने सामान्य नियम पनि पालना गर्ने गरिएको छैन । कचल, सिद्धेश्वर, मस्याम, दोभान, रहवास, ज्यामिरेलगायत स्थानबाट दैनिक १ हजारभन्दा बढी टिपरबाट कच्चा पदार्थ चुनढुंगा उद्योगमा ढुवानी गरिन्छ ।


भार, गति, कच्ची सडकमा पानी राख्ने र कच्चा पदार्थ छोपेर ढुवानी गर्नुपर्ने मापदण्ड टिपर चालकले पूरा नगरेका हुन् । पछिल्लो समय मुलुककै ठूलो कम्पनी होङसी शिवम् सिमेन्ट नवलपुरको विनयत्रिवेणी गाउँपालिकामा खुलेको छ । यहाँ पनि चुनढुंगा निस्दी ७, ज्यामिरे भुटुकेबाट ढुवानी हुन्छ । झन्डै १८ किलोमिटर टाढाको खानी क्षेत्रबाट टिपरबाट चुनढुंगा लैजानुपर्छ । चुनढुंगा खानीबाट उद्योगसम्म पुग्न सबै कच्ची बाटो छ ।


ग्राभेल गरे पनि धूलो उड्ने गर्छ । लस्करै टिपर गुडा बाटोछेउका एक किलोमिटर टाढासम्म धूलोले ढाक्छ । ‘बाटोमा विद्यालयका साथै व्यक्तिगत २ सय बढी घर पर्छन्,’ स्थानीय भुवन थापाले भने, ‘तर, यसको कुनै वास्ता गरिएको छैन । जथाभावी टिपर दौडाइन्छ ।’ यति धेरै स्थानीय प्रभावित भए पनि कम्पनीले बेवास्ता गरेको उनको गुनासो छ । स्थानीयको आग्रहले पनि टिपरको गति नियन्त्रण हुन सकेको छैन । तीव्र गतिकै कारण दैनिकजसो दुर्घटना हुने गरेको स्थानीयले बताए ।


टिपरको धूलोले खेतीपाती सबै ढाकिएको छ । कबुलियती सामुदायिक वन क्षेत्रका अम्लिसो मर्न थालेका छन् । धूलो, तीव्र गति, स्थानीयको समस्याका विषयमा निस्दी गाउँपालिकाले समेत छलफलको प्रयास गरेको थियो । तर, यसमा कम्पनीले सुनुवाइ गरेको छैन । उल्टै प्रदेश र संघीय सरकारका प्रतिनिधिलाई फोन गराउने गर्छ ।


संघ र प्रदेशबाट कम्पनीको काममा स्थानीय सरकारबाट वाधा अड्चन नगर्न निर्देशन आएको गाउँपालिकाले जनाएको छ । ‘जनताका समस्याका विषयमा पटकपटक छलफल हुन्छ, अर्को दिनबाट कम्पनीले वास्ता नै गर्दैन,’ निस्दी गाउँपालिका ७ का वडाध्यक्ष गगन सोतीले भने, ‘हामी जनप्रतिनिधिलाई जनताको गुनासो सुन्दा दिक्क भइसकेको छ ।’


सडक वरपरको घाँस गाईबस्तुले खाँदैनन् । निर्माणका चरणमा रहेको भन्दै कम्पनीले यस विषयमा अटेरी गर्दै आएको छ । उनका अनुसार चुनढुंगा ढुवानी गर्दा टिपर नढाँकी लैजाने अर्को समस्या हो । टिपरमा चुनढुंगा ढुवानी गर्दा त्रिपाल वा अन्य सामग्रीले छोपेर लैजानुपर्छ । नढाँकी लैजाँदा थप धूलो खस्ने, ढुंगा झर्ने हुन्छ । ६ महिनादेखि ज्यामिरेबाट चुनढुंगा लैजान सुरु भएको हो ।


‘धेरैपटक स्थानीयको समस्याका विषयमा कम्पनीमा कुरा राखिएको छ,’ निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले भने, ‘केही कुरा राख्ने हो भने उल्टै अन्यत्र (प्रदेश र संघ) बाट फोन गराउने गरेको छ ।’ उनका अनुसार ढुवानी गर्ने टिपरले अधिक भार बोक्ने गर्छन् । खानी क्षेत्रमा समेत जथाभावी काम नलाग्ने ढुंगामाटो (डेवरेज) फालेका छन् ।


त्यसको उचित व्यवस्थापनसमेत नगरेको उनले बताए । खानीक्षेत्रको अनुगमनसमेत हुन सकेको छैन । वर्षायाममा कम्पनीले अरुणखोलाबाट डोजर, एक्साभेटर प्रयोग गरेर गाउँपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण गरेको क्षेत्रबाट जथाभावी गिट्टी, बालुवा निकाल्दासमेत आफूले दबाब झेल्नु परेको उनले बताए । धूलोधूवाँकै कारण ज्यामिरे गाउँबाट २६ घर विस्थापित भएका छन् ।

प्रकाशित : कार्तिक २६, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?