स्याउ बिक्री नभएपछि मदिरा

मकैसँग पनि साट्न थालियो
हरि गौतम

रुकुम पूर्व — ढुवानी अनुदान नपाएपछि पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न ठाउँमा फलेका स्याउ बिक्री हुन छाडेका छन् । गत असोज महिनामै टिपिएका स्याउ बिक्री नभएर कुहिने त्रास बढेको छ । कुहाएर फाल्नुभन्दा स्थानीयले त्यसलाई रक्सी बनाउन प्रयोग गर्न थालेका छन् ।

स्याउ बिक्री नभएपछि मदिरा

पुथाउत्तरगंगा गाउँपालिका २ र १ मा फलेका स्याउ बिक्री नहुने पक्का भएपछि स्थानीयले स्याउको रक्सी बनाउन थालेका हुन् ।


२ नम्बर वडाको पेल्मा र १ नम्बर वडाको मैकोटलगायत ठाउँमा स्याउ फल्न थालेको धेरै भएको छैन । स्याउ फलाउन थाले पनि बिक्री गर्न सम्भव नभएपछि किसानहरूले समस्या झेलिरहेका छन् । स्याउ टिप्ने क्रममा ढुवानीमा अनुदान पाइने आसमा रहेका किसानले अनुदान नपाएपछि स्याउको रक्सी बनाउन थालेका छन् भने कतिले मकैसँग स्याउ साट्न थालेको गाउँ कार्यपालिका सदस्यसमेत रहेका स्याउ किसान जिताराम कामीले बताए ।


‘तीन माना स्याउबराबर एक माना मकैमा साटिने गरेको छ,’ उनले भने, ‘कुहिनुभन्दा स्याउ नफल्ने तथा कम फल्ने ठाउँकासँग मकैसित साट्न सुरु गरेका हौं ।’ सँगै मैकोट तथा पेल्मासम्म सडक नपुगेका कारण ढुवानी नै महँगो पर्ने भएकाले आफूहरूले स्याउ बिक्री गर्न नसकेको गुनासो उनको छ ।


गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ढुवानी अनुदान दिँदा १ सय २० क्विन्टल स्याउ बिक्री भएको थियो । रोयल र डेलिसियस जातको स्याउ १ सयदेखि १ सय ४० रुपैयाँसम्म प्रतिकिलो बिक्री भएको थियो । असोजमा टिपिएका स्याउ किसानले असोजमै खच्चडमार्फत गाडी पुग्ने ठाउँ सेरासम्म ढुवानी गर्थे । परियोजनाले प्रतिकिलो स्याउ ढुवानीका लागि गत वर्ष २७ रुपैयाँ अनुदान दिएको थियो भने किसानले प्रतिकिलो १५ रुपैयाँ तिरेर स्याउ ढुवानी गरेका थिए ।


यस वर्ष पनि ढुवानी अनुदानको आसमा बसेका किसान स्याउ कुहिन लाग्दासमेत ढुवानी अनुदान नआएपछि स्याउबाट रक्सी र मकैसँग साट्न बाध्य भएका हुन् । कति किसानले केही स्याउ बाग्लुङ, बुर्तिवाङसम्म खच्चडबाट ढुवानीसमेत गरेका थिए ।


खच्चडबाट ढुवानी गर्दा महँगो पर्ने भएकाले बुर्तिवाङतर्फ स्याउ पठाउन सम्भव नभएको कामीले बताए । ‘स्याउ फलाइयो, बिक्री नभएपछि हामी समस्यामा छौं । स्थानीय सरकारले ठूलो अनुदान दिन सक्ने अवस्था छैन,’ कामीले भने, ‘संघीय र प्रदेश सरकारले माल भएर पनि चाल नपाएपछि हामी मारमा परेका हौं ।’


पुथाउत्तरगंगा गाउँपालिकाका १ र २ वडाका साथै अन्य वडामा हरेक वर्ष स्याउ लगाउने किसान बढ्दै छन्, स्याउका बोट र स्याउ फल्ने बोट पनि बढै छन् । हरेक वर्ष स्याउ उत्पादन बढ्दै छ । तर, फलेका स्याउ बिक्री नभएपछि आफूहरू समस्यमा परेको स्याउ किसान लक्ष्मीप्रसाद पुन मगरले बताए ।


बिक्री नहुने पक्का भएपछि फलेका स्याउ टिप्न पनि ध्यान नदिइएको उनको भनाइ छ । ‘स्याउ फलेकै थियो । स्याउ फल्ने बोट पनि बढेका थिए । तर, बिक्री हुने सम्भावना नभएपछि स्याउ टिप्न वास्ता गरिएन,’ उनले भने, ‘स्याल, ओद र कागले खाए । अलिअलि भएको बाटो हिँड्ने मान्छेले सित्तैंमा खाए ।’ पुनले सरकारले हुम्ला, जुम्लामा दिएको जस्तै ढुवानी अनुदान दिन सके पुथाउत्तरगंगा गाउँपालिकाबाट धेरै स्याउ बाहिरिने र स्थानीयको जीवनस्तर पनि उकासिने बताए ।


पुथाउत्तरगंगा गाउँपालिकाको १, २, ५, १० र ११ नम्वर वडामा स्याउका धेरै बोट छन् । त्यसका अलावा ६, ९, १२, १३ र १४ नम्बर वडाका विभिन्न ठाउँमा पनि स्याउका बोट छन् । गाउँपालिकाभर ३० हजारभन्दा बढी स्याउका बोट छन् । जसमा ३ हजारभन्दा बढीमा स्याउ फल्न थालेका छन् । घरैपिच्छे स्याउका बोट लाउन थालिए पनि बजारसम्म पुर्‍याउन उपयुक्त माध्यम वा ढुवानी गर्न महँगो पर्ने हुँदा किसान चिन्तित छन् ।


हाल पुथाउत्तरगंगा गाउँपालिका १३, पिपलटुङसम्म मात्रै गाडी सुविधा पुगेको छ । किसानले स्याउ टिप्ने समयमा भने गाडी त्यहाँसम्म पनि पुग्न सम्भव छैन । खच्चडमार्फत स्याउ ढुवानी गर्दा महँगो हुने हुँदा स्याउ बिक्री नै नहुने समस्या किसानले झेलिरहेका छन् ।

प्रकाशित : कार्तिक २६, २०७५ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?