१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कलमभन्दा कुटो–कोदालो प्यारो

सरकारले वितरण गर्ने कृषि अनुदान वास्तविक कृषकले पाउन नसकेको गुनासो 
वीरेन्द्र केसी

अर्घाखाँची — युवा उमेरमा धेरैको रोजाइ विदेश हुन्छ । तर, मालारानी ५, बाँगीका देवीबहादुर खड्काले विदेशमा गैरसरकारी संस्थाको जागिर छाडेर यहाँ कुटो–कोदालो चलाउन रोजेका छन् ।

स्नातक तह उत्तीर्ण उनी अंग्रेजी राम्रो बोल्छन् । ४ वर्षअघिसम्म भारतीय एक गैरसरकारी संस्थामा जागिरे थिए । टाइकोट लगाएर गाडीमा हुइँकिन्थे । मासिक भारु ३० हजार तलब बुझ्थे ।


त्यही कमाइले सदरमुकामनजिकै बिहारमा ५ रोपनी खेत किने । त्यसपछि जागिर छाडेर घर फर्के । तरकारी खेती गर्ने सोच थियो । कसरी गर्ने सीप थिएन । बूढापाकालाई सोधे, कृषि कार्यालयमा गएर बुझे र खेती गर्ने तरिकाबारे कृषिसम्बन्धी पुस्तक पढे । ‘पहिलो वर्ष फाइदै भएन, दोस्रो वर्ष सन्तोषजनक,’ उनले भने, ‘यसपालि त एउटै सिजनमा टनेलका गोलभेंडाबाट मात्रै २ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छु ।’ यसै वर्ष तरकारी खेतीबाट ४ लाख रुपैयाँ कमाइ गरेको पनि उनले सुनाए ।


भारतमा कलम चलाएर पैसा कमाउथें । यहाँ कुटो–कोदालो टुटेको छैन । ‘राम्रो तलब, गाडी र अन्य सुविधा पनि थियो तर त्यहाँ नोकरी गर्न गएका नेपाली युवालाई भारतीयले गर्ने व्यवहार मन परेन,’ उनले भने, ‘आफ्नै भूमिमा केही गर्न सकिन्छ कि भनेर फर्केको हुँ ।’ अहिले उनी जर्सी गाई र कुखुरा पालन

पनि गर्ने तयारीमा जुटेका छन् । ‘तरकारी, गाई र कुखुरा फर्मको विकास गर्छु,’ उनले भने, ‘भारतको जागिरभन्दा गोलभेंडा बेचेर कमाएको पैसाले सन्तुष्टि दिएको छ ।’


गोलभेंडा, काउली, साग, मुला, बन्दा, सिमीजस्ता तरकारी जति उत्पादन गरे पनि बिक्री नहोला भन्ने चिन्ता उनलाई छैन । ‘युवाशक्तिलाई सरकारले उत्पादनमा लगाए मात्रै देश बन्छ,’ उनले भने, ‘रेमिट्यान्सको आशमा दक्ष युवालाई बाहिर पठाउने सोच्नै हुन्न । खेतबारी बाँझिनु र पशुपालन हराउँदै जानुमा यही सोचले काम गरेको छ ।’


प्याज, लसुन, खुर्सानी, टमाटर र तरकारीमा मात्रै पनि देशलाई आत्मनिर्भर बनाउन सके मुलुकको अर्थतन्त्र बलियो हुने र नेपाली स्वरोजगार बन्ने उनको तर्क छ ।


‘भारतमा जागिर गर्दा कुर्सीमा बसेर टेबलमा लेखे पुग्थ्यो,’ उनले भने, ‘अहिले हातमा फोरा परेका छन् । शरीर फोहोर छ । तर पनि माटोमा खेलेर आम्दानी गर्दाको आनन्द बेग्लै छ । मन शान्त छ ।’ उनले ५ रोपनी खेत भाडामा पनि लिएका छन् । त्यहाँ उनले घाँस खेती गरेका छन् ।


सरकारले वितरण गर्ने कृषि अनुदान वास्तविक कृषकले पाउन नसकेको उनको दाबी छ । ‘भ्रमण, अनुदान र सेवाको सुविधा कुटो–कोदालो कहिल्यै नसमात्ने नेता कृषकले पाउँछन्,’ उनले भने, ‘वास्तविक कृषकले थाहै पाउँदैनन् । यसका लागि पनि संघर्ष गर्नुपर्ने भएको छ ।’ सदरमुकामदेखि अढाई किमि पश्चिम बिहारबाट उनी तरकारी बोकेरै बजार आउँछन् । घरअगाडि सडक भएकाले केही व्यापारी घरमै किन्न आउँछन् ।


बाँगीकै विष्णु आचार्य पनि कतारबाट फर्केर अहिले व्यावसायिक तरकारी खेतीमा सक्रिय छन् । ‘तरकारी खेती त पहिलेदेखि नै गरिन्थ्यो,’ उनले भने, ‘तरिका फरक र मलजलमा ध्यान पुर्‍याएपछि उत्पादन राम्रो भएको छ । त्यही बारीमा मकै, गहुँ खेती गर्दा ६ महिनालाई खान नपुगेर म कतार गएको हुँ ।’ आधुनिक तरिकाले तरकारी खेती गरेपछि घरखर्च र छोराछोरीको पढाइ खर्च कटाएर वर्षमा ४ लाख रुपैयाँ बैंकमा बचत गरेको उनले सुनाए ।

प्रकाशित : कार्तिक २६, २०७५ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?