व्यावसायिक कृषिमा महिला आकर्षित

तरकारी खेतीदेखि माछा र पशुपालनमा सक्रिय 
अमृता अनमोल

बुटवल — बेलायतको लन्डन युनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्टमा एमडी गरेकी ज्ञानकुमारी पुनले रूपन्देहीको सैनामैनामा व्यावसायिक बाख्रापालन र घाँस खेती गरेकी छन् ।

व्यावसायिक कृषिमा महिला आकर्षित

त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य र शिक्षाशास्त्रमा एमफिल गरेका उनका पति प्रेमसागर पनि यही काममा छन् । यो जोडीले ६ वर्षयता करिब २ करोड रुपैयाँको लगानीमा सैनामैना कृषि उद्योग र सैनामैना सामुदायिक बाख्रापालन तथा नश्ल सुधार केन्द्र सञ्चालन गरेको छ ।


फार्ममा करिब ४ सय बाख्रा छन् । बाख्रालाई घाँस खुवाउन १० हेक्टर जमिन भाडामा लिएर घाँस खेती गरेका छन् । उत्पादन गरेका घाँसका बीउ अहिले ७३ जिल्लामा पुग्छ । वर्षमा झन्डै ४ सय पाठापाठी बेच्ने गरेका छन् । यसबाट वार्षिक २५ लाखभन्दा बढी आम्दानी गर्छन् । ‘कृषिमा शारीरिक परिश्रम बढी छ,’ पुनले भनिन्, ‘परिश्रम गर्न सके मुनाफा पनि छ । त्यसैले यता लागें ।’


व्यावसायिक कृषिमा लागेपछि छोटो समयमै दाम र सम्मान कमाउने महिलासमेत बढेका छन् । सैनामैनाको जयमा दुर्गा समूह त्यसैमध्येमा पर्छ । ७ वर्षअघिसम्म ज्याला मजदुरीबाट गुजारा चलाउने यहाँका महिला अहिले कृषिबाट वार्षिक १ करोड रुपैयाँभन्दा बढी कमाउँछन् । अध्यक्ष शारदा शर्मा चौधरीका अनुसार समूहमा आबद्ध २९ जना थारू महिलाले व्यावसायिक अन्न, तरकारी खेती र पशुपन्छी पालन गरेका छन् । उनीहरूले सामूहिक तथा एकल ऋण लगानी गरेर खेती गरेका हुन् ।


आफूले उत्पादन गरेको सामान आफैंले हाटबजार लगेर बेच्छन् । हेफर इन्टरनेसनलले ०७३ कात्तिकमा देशकै उत्कृष्ट समूह भन्दै ७० हजार रुपैयाँको स्वर्णिम प्रतिभा पुरस्कारसमेत यस समूहलाई प्रदान गरेको थियो । समूह गठन, कृषि तालिम र बजारीकरणमा समेत हेफरले सहयोग गर्‍यो । महिलाहरूको उत्साहमा ऊर्जा भर्न साबिक जिविस रूपन्देहीले ५ लाख रुपैयाँको लागतमा कृषि सामग्री संकलन केन्द्र खोलिदियो । ‘समूहमा काम गर्न र परम्परागत कृषिलाई आधुनिकमा बदल्न सक्नुपर्दो रहेछ,’ अध्यक्ष शर्माले सुनाइन्, ‘त्यसो गरे महिलाले पनि कृषिबाट निकै फाइदा लिन सकिँदो रहेछ ।’


रूपन्देहीको तिलोत्तमाका ८ महिलाले सहकदम समूह गठन गरेर सामूहिक फूल खेती थालेका छन् । पहिलो चरणमा तिहार लक्षित उत्पादनका लागि उनीहरूले मधौलियाको २ बिघा जग्गामा सयपत्री फूल लगाएका थिए । यसका लागि १४ हजार ५ सय फूलका बिरुवा रोपिएको थियो । ती सबै बिरुवा काठमाडौं र चितवनबाट खरिद गरिएका थिए ।


उत्पादित फूल तोकेको मोलमा बिक्री भएपछि हौसिएका महिला थप जग्गामा मौसमी र बेमौसमी फूल खेती गर्ने योजनामा छन् । ‘फूलमा भारतप्रति परनिर्भर बजारलाई आत्मनिर्भर बनाउन ठूलो क्षेत्रमा फूल खेती गर्ने योजनामा छौं,’ समूहकी अध्यक्ष देवी वाग्ले भनिन्, ‘यसका लागि खाली जग्गाको खोजी गर्ने र छनोट गर्ने काम थालेका छौं ।’ कृषिको विकासबिना देशको अर्थतन्त्र बलियो हुँदैन । अर्थतन्त्र बलियो नभए आमनेपाली विपन्नताबाट माथि उक्लन सक्दैनन् ।


यही बुझाइका कारण कृषिमा लागेको वाग्लेले सुनाइन् । ज्यालादारीले जीवन धान्न नसक्ने देखेपछि बुटवल १३ की पार्वती सुनारले १५ वर्षयता व्यावसायिक कृषिकर्म थालेकी थिइन् । धेरै पढाइ, सीप र नयाँ प्रविधि नजान्दा पनि गर्न सकिने र आम्दानी पनि हुने भएकाले यता लागेको पार्वतीले सुनाइन् ।


दुईवटा बाख्राबाट सुरु भएको कृषिकर्म फस्टाउँदै अहिले कुखुरा, बाख्रा, बंगुर र तरकारी खेतीमा पुगेको छ । सफल किसानलाई पुरस्कृत गर्ने हेफरले ०७० सालमा उत्कृष्ट महिला स्वर्णिम प्रतिभा पुरस्कारबाट उनलाई सम्मान गरी ७० हजार रुपैयाँ दिएको थियो ।


पर्रोहाकी सुजनी चौधरी पनि व्यावसायिक कृषिमै स्थापित छन् । उनी व्यावसायिक बाख्रापालन र तरकारी खेती गर्छिन् । कृषिबाटै ७ वर्षमा ४ कट्ठा जग्गा जोडेर ४ कोठे घर बनाइन् । व्यावसायिक कृषिबाट थोरै समयमा धेरै प्रगति गरेको भन्दै उनलाई पनि हेफरले नगदसहित सम्मान गरेको थियो ।


रूपन्देहीमा महिला मात्रै आबद्ध किसान समूह २ सय २० छन् । १ सय ५० वटा कृषि सहकारी संस्था छन् । सहकारी संस्था र समूहले कृषि गर्न चाहनेका लागि सहुलियत दरमा ऋण दिन थालेपछि विपन्न तथा गृहिणी महिलासमेत व्यावसायिक कृषिकर्ममा लागेका हुन् ।


माछापालनको पकेट क्षेत्र दयानगर, टिकुलीगढ, धकधईलगायत क्षेत्रमा मात्रै ५ सय गृहिणी व्यावसायिक माछापालनमा लागेका छन् । व्यावसायिक कृषिमा लागेका महिला सफलसमेत बन्दै गएका छन् । यही कारण निरन्तर कृषक महिला समूह, चेतनशील महिला कृषक समूह, कालिकामाई महिला कृषक समूहलगायत जिल्लाका एक दर्जन महिला समूहलाई साबिक जिल्ला कृषि कार्यालयले पटक–पटक पुरस्कृतसमेत गरेको छ ।


जिल्ला समन्वय समितिका अनुसार रूपन्देहीमा करिब ७० प्रतिशत महिला कृषिकर्ममा छन् । पछिल्लो समय माछापालन, तरकारी तथा च्याउ खेतीमा पनि महिलाको आकर्षण बढ्दो छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?