कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अवैज्ञानिक सीमांकनले पीडा

वडा कार्यालय पुग्नै ४ घण्टा पैदल
नवीन पौडेल

परासी — भिरालो गाउँ । आँगनबाटै रमणीय हिमाल देखिने । बर्दघाट नगरपालिका २, मूलपानी पुग्ने जोसुकैलाई बस्तीले लोभ्याउँछ । तर, स्थानीय बासिन्दाको जीवन भने कष्टकर छ । जमिनमा उब्जनी हुँदैन । गुजाराका लागि स्थानीयले विभिन्न बजारमा मजदुरी गर्छन् । कोही वैदेशिक रोजगारीमा छन् ।

अवैज्ञानिक सीमांकनले पीडा

वडा कार्यालय पुग्न जंगल छिचोल्दै सुनवल नगरपालिका भएर जानुपर्छ । खोलामा पुल नहुँदा वर्षाको समय सम्पर्कविहीन हुन्छन् ।


‘नगरपालिका भएपछि सडक, पानी, बिजुली र यातायात सुविधा हुन्छ भन्ने सुनेका थियौं,’ स्थानीय अमर श्रीसले भने, ‘संघीयता लागू भएपछि सिंहदरबारको अधिकार गाउँगाउँमा आउँछ भन्थे, हामीलाई त दु:ख मात्र थपियो ।’ वडा कार्यालय पुग्न दुई घण्टा लाग्ने भएपछि थप असुविधा भोग्नुपरेको उनले बताए ।


यहाँका बासिन्दाले सीमांकनका बेलादेखि आफूहरूलाई पायक पर्ने स्थानीय तहमा गाभिदिन जिल्ला प्रशासनदेखि राजनीतिक दलको ध्यानाकर्षण गराउँदै आएका थिए । दुर्गममा रहेका १ सय २६ घरधुरीको माग सुनुवाइ भएन । साबिकको धुर्कोट गाविसका वडालाई बर्दघाट र सुनवल नगरपालिकामा गाभिएलगत्तै स्थानीय तहको निर्वाचन आयो । स्थानीयले आफूहरूलाई असुविधा हुने गरी बर्दघाट नगरपालिकामा राखिएको भन्दै चुनाव बहिष्कारसम्मको निर्णय सुनाए ।


दलहरूले चुनावलगत्तै प्रक्रिया पुर्‍याएर रोजेको गाउँ वा नगरपालिकामा गाभिदिने आश्वासन दिएपछि उनीहरू चुनावमा सहभागी भए । स्थानीय तहको चुनावपछि प्रदेश र संघको चुनावलगत्तै मागको सुनुवाइ हुने आश्वासन पाए । तर, चुनावपछि आश्वासन दिने कोही फर्किएर नआएको मूलपानीका स्थानीय सोमबहादुर विकले सुनाए । यहाँका बासिन्दाले आफूहरूले अहिलेसम्म निर्वाचित जनप्रतिनिधि देख्न नपाएको गुनासो गरे ।


‘छोराछोरी पढ्न र किनमेलका लागि सुनवल नगरपालिका जानुपर्छ,’ विकले भने, ‘काठमाडौंमा बसेर यहाँको नक्सा कोर्नेले हामीलाई दु:ख दिए । मिलाउन मिल्छ भन्ने सुनेका छाैं, पायक पर्ने स्थानमा गाभिदिए सहज हुने थियो ।’ यो ०३०/३१ मा खोरिया फाँडेर बसाइएको बस्ती हो ।


वर्षाैंदेखि गाविसलाई घरधुरी कर तिरे पनि अहिलेसम्म जग्गाको पुर्जा छैन । पहाडी क्षेत्र भएकाले यहाँको विकासका लागि कसैले पहल गरेका छैनन् । वैदेशिक रोजगारीमा गएर कमाउनेहरू रित्तो घर छाडेर बजारमा बसाइँसराइ गरेका छन् । विपन्न र बूढाबूढी मात्र गाउँमा भेटिन्छन् । सुविधा हुनुपर्नेमा सास्ती बढी छ । साबिकको धुर्कोट गाविसका उपाध्यक्ष मानबहादुर रानाको बसाइ अहिले सुनवल नगरपालिकामा छ । पुख्र्यौली जमिन मूलपानीमा छ ।


‘यहाँ असुविधा भएपछि बसाइँसराइ गरेर गइयो तर गाउँको माया लागेपछि समय–समयमा आउने गरेको छु,’ रानाले भने, ‘आफू जनप्रतिनिधि हुँदा लालपुर्जाका लागि पहल गरे पनि काम नहँुदै समायावधि सकियो, अहिले पनि पीडा उस्तै छ ।’ मिश्रौली खोलामा पुल नहुँदा यातायात सञ्चालन हुन सकेको छैन । आधारभूत सुविधाबाट वञ्चित उनीहरूले भोग्नुपरेको पीडाको कतै सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।

यही वडामा रहेको पटुकेका बासिन्दाको पीडा पनि उस्तै छ । जनसंख्या थोरै भए पनि भौगोलिक विकटताले उनीहरूलाई बर्दघाटभन्दा गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिका सहज हुन्छ । शासन फेरिए पनि यहाँका दु:ख जस्ताको तस्तै छन् ।


व्यवस्था फेरिएको अनुभव यहाँका स्थानीयले महसुस गर्नै पाएका छैनन् । ३ सय जनसंख्या रहेको यस बस्तीका बासिन्दालाई वडा कार्यालय पुग्न ४ घण्टा पैदल हिँड्नुपर्छ । नगरपालिकाको केन्द्र र वडा कार्यालय जानका लागि यातायातको सुविधा नहुँदा पटुकेका स्थानीय गण्डकी प्रदेशको दुम्कीबास हँुदै जाँदा करिब १ सय ५० रुपैयाँ खर्च लाग्छ ।


पटुके बस्ती पहाडी खोचमा छ । स्थानीय तहको सीमांकनका बेला यहाँका बासिन्दाले आफूहरूलाई बर्दघाट नगरपालिका जानका लागि असहज हुने र भौगोलिक विकटताका कारण सेवा प्रवाहमा समेत असर पुग्ने भन्दै नजिकै केन्द्र रहेको विनयी त्रिवेणी गाउँपालिकामा गाभ्नका लागि प्रशासन र राजनीतिक दलका नेतालाई ध्यानाकर्षण गराएका थिए । पटक–पटक जिल्ला प्रशासन र जिविसमा घेराउ कार्यक्रम राख्दासमेत सुनुवाइ नभएपछि अहिले सामान्य सिफारिसका लागि पनि घण्टौं पैदल यात्रा गर्नुपर्ने बाध्यतामा स्थानीय छन् ।


बर्दघाट नगरपालिकाका मेयर धीरज शर्माले मूलपानी र पटुकेका बासिन्दाका लागि वडा कार्यालय केही अपायक परे पनि विकासका पूर्वाधार निर्माणमा नगरपालिकाले काम गरिरहेकाले केही समयमा नै सहज हुने बताए ।

प्रकाशित : कार्तिक २७, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?