कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हावाबाट बिजुलीमा ढिलाइ

माधव अर्याल

पाल्पा — ठेकेदारको लापरबाहीले निस्दी गाउँपालिका ४, मित्यालमा हावाबाट थप बिजुली निकाल्ने तयारी अलपत्र परेको छ । १ हजार २ सय वाटका ठाउँमा २५ किलोवाटको तयारी अलपत्र परेको हो । असार मसान्तमा निर्माण सक्नुपर्नेमा अहिलेसम्म काम नै सुरु भएको छैन ।

हावाबाट बिजुलीमा ढिलाइ

हावाबाट निस्कने बिजुलीबाट १ सय ५० घरले बत्ती बाल्न पाउनेछन् । हावा र सोलार पावरको व्याकअपबाट अहिले पनि १ हजार २ सय वाट बिजुली निस्केको छ । सोहीअनुसार यहाँ अध्ययन गरेर २५ किलोवाटको तयारी गरेको हो ।


हावाबाट उत्पादित विद्युत् सोलारको ब्याकअप पावरमा थपेर वितरण हुनेछ । हावाबाट थप बिजुली निकालेपछि निस्दी गाउँपालिकाका रुक्सेभन्ज्याङ, झ्याल्टुङ, मौलाथर, घुम्सीवर र मित्याल बजारमा वितरण गर्ने तयारी रहेको निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले बताए । ठेकेदारले काम सुरु गर्न ढिलाइ गरेको गाउँपालिका अध्यक्ष सारूले बताए । ‘हामी आफैंलाई कमी–कमजोरी भएको महसुस भएको छ,’ उनले भने, ‘अघिल्लो आर्थिक वर्षमै सम्पन्न हुनुपर्ने योजना हो । निर्माण कम्पनीले अहिले आएर बाटोको समस्या देखाएको छ ।’


यहाँसम्म पुग्न १४ किलोमिटर कच्ची सडक छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत कृष्ण ग्रिल उद्योगले यहाँ काम गर्ने ठेक्का लिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २ करोडभन्दा बढीको लागतमा हावाबाट बिजुली निकाल्ने तयारी गरेको हो । त्यसका लागि गाउँपालिका पनि साझेदार बनेको छ ।


गाउँपालिकाबाट ३९ लाख रुपैयाँ भुक्तानी ठेकेदार कम्पनीले लगिसकेको छ । ४१ लाख ५० हजार रुपैयाँ गाउँपालिकाले भुक्तानी गर्नुपर्ने हुन्छ । ‘अघिल्लो आर्थिक वर्षमा २ लाख ५० हजार पुगेको थिएन,’ उनले भने, ‘त्यो रकम अहिले दिन सकिन्छ । तर, काम सुरु गर्नुपर्‍यो नि † कामै सुरु भएको छैन ।’ उनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा समेत यस विषयमा गुनासो राखिसकेको बताए ।


गाउँपालिका नजिकै केही पोल ल्याएर राखे पनि सोलार र हावाबाट बिजुली निकाल्नका लागि अन्य काम अगाडि नबढाएको प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले बताए । ‘कम्पनीले तिहारलगत्तै काम गर्छु भनेको छ,’ उनले भने, ‘यसको अध्ययन र काम वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नै गरेको हो ।’ गाउँपालिकालाई लागत सहभागिताका लागि आग्रह गरिएको उनले बताए ।


गाउँपालिका प्रमुख सारूका अनुसार अघिल्लो आर्थिक वर्षमै काम सक्ने सम्झौता भए पनि अहिलेसम्म काम सुरु नगर्दा स्थानीयले सोधपुछ गर्न थालेका छन् । ‘पहिला निकालेको टेन्डरबाट काम गर्न नसकेकाले पुन: टेन्डर आह्वान गर्दा ढिलाइ भएको जानकारी वैकल्पिक ऊर्जाले दिएको छ,’ उनले भने ।


अहिले गाउँपालिका कार्यालयनजिकै हावाबाट निस्केको बिजुलीले रुक्सेभन्ज्याङ बजार क्षेत्र उज्यालो बनेको छ । ४ नम्बर वडा कार्यालय मित्यालमा बिजुली बाल्न, कम्प्युटर, प्रिन्टर र इन्टरनेट चलाउन हावाको बिजुली प्रयोग गरिएको वडाध्यक्ष न्यौबहादुर सुनारीले बताए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौं अल्टरनेटिभ पावर एन्ड इनर्जी र जनताका लागि ऊर्जा तथा वातावरणीय विकास संस्थाको संयुक्त साझेदारीमा हावाबाट बिजुली निकालेको हो ।


१ हजार २ सय वाटका लागि ४० लाख रुपैयाँ लगानी भएको छ । ६ सय वाट हावाबाट र बाँकी ६ सय वाटका लागि सोलार प्यानल जडान गरिएको छ । वायुपंखाबाट कम्तीमा ५ वर्ष बिजुली निस्कने प्राविधिकले बताए । स्थानीयले समेत यसअघि हावाबाट बिजुली निस्कने कुरा पत्याएका थिएनन् ।


निस्केपछि भने सबै गाउँले अचम्म बनेको स्थानीय सन्तवीर सुनारीले बताए । सुरुमा हावाबाट निकालेको बिजुली स्वास्थ्य चौकी र वडा नम्बर ४ कार्यालयमा प्रयोग गरिएको थियो । ‘स्वास्थ्य चौकीले आफ्नै सोलार प्यानल जडान गरेपछि अहिले रुक्सेभन्ज्याङ बजारका ९ वटा पोलमा हावाबाट निकालिएको बिजुलीबाट सडक बत्ती बलेको छ,’ सुनारीले भने, ‘वडा कार्यालयमा पनि यही बत्ती प्रयोग गरिएको छ ।’

वडा कार्यालयमा कम्प्युटर तथा फोटोकपी जतिबेला पनि चलाउन तथा बत्ती बाल्न पाएपछि कार्यालयको काममा समेत सहज भएको छ ।


मित्यालमा अहिलेसम्म विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छैन । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले हावाको बेगको परीक्षणपश्चात् रुक्सेभन्ज्याङमा बिजुली निकालेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले हावाबाट विजुली निकाल्नुअघि १५ महिना हावाको बेग परीक्षण गरेको थियो । सोलार शक्ति र हावाको ऊर्जा जडान गरी अहिले २ दशमलव ४ डायमिटर विद्युत् उत्पादन गरेको छ । यहाँ हावाबाट बिजुली निकाल्न सहयोग गरेको कम्पनीले यसअघि भारतका दुई स्थानमा हावाबाट बिजुली उत्पादन गरिसकेको छ । हावा र सौर्यको मिश्रित प्रणालीले बाह्रै महिना ब्याट्री चार्ज हुन सक्छ ।


गाउँपालिका अगाडि डाँडामा चल्ने हावाबाट पंखा घुमाइएको छ । तीव्र गतिमा चल्ने हावाबाट धेरै विद्युत् निकाल्न सकिन्छ । वैकल्पिक ऊर्जाको रूपमा रहेको वायु ऊर्जालाई हावा वहने गाउँगाउँमा जडान गर्न सकिन्छ । हावाबाट बिजुली निकाल्न वायुपंखा, कन्ट्रोलर र ब्याट्री आवश्यक पर्छ ।


वायु ऊर्जाले न्यूनतम शक्तिका बल्ब बाल्न, टेलिभिजन हेर्न र मोबाइल चार्ज गर्न मिल्छ । अग्लो डाँडामा वायुपंखा जडान गर्ने र यसबाट कन्ट्रोलर हुँदै ब्याट्रीसम्म तार लैजान सकिन्छ । उक्त ब्याट्रीबाट आवश्यकता अनुसार विद्युत् प्रयोग गर्ने स्थानमा लैजान मिल्ने उनले बताए ।

प्रकाशित : कार्तिक २७, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?