१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रत्येक वडामा ज्येष्ठ नागरिक केन्द्र

आश्रममा दिनभर सुखदु:ख बाँडेर साँझ भने उनीहरू घर फर्किन्छन्
अमृता अनमोल

बुटवल — वृद्धवृद्धामा खुसी ल्याउन नयाँगाउँमा ज्येष्ठ नागरिक मिलन केन्द्र खोलिएको छ । केन्द्रलाई स्थानीय तहले सघाएका छन् । बुटवल उपमहानगरले दिवाभोजका लागि रकम दिन्छ । मुक्तिनाथ धाम वृद्ध नागरिक सेवा समाजका नाममा दिनभर वृद्धवृद्धालाई जम्मा हुने र दु:खसुख साट्ने व्यवस्था मिलाइएको हो । 

केन्द्र आसपासका करिब ६० वृद्धवृद्धा त्यहाँ जाने गरेका छन् । संरक्षक स्वामी लोकानन्दले वृद्धवृद्धालाई मन बहलाउन र नीरस हुन नदिन भजन–कीर्तन र सत्संगसमेत गराउने बताए । आश्रममा दिनभर सुखदु:ख बाँडेर साँझ भने उनीहरू घर फर्किन्छन् ।


‘साँझबिहान घरपरिवारमै बस्ने वृद्धवृद्धा पनि दिनभर एक्लो हुँदा मानसिक तनावमा हुने गरेका छन्,’ स्वामी लोकानन्दले भने, ‘उनीहरूलाई साथ दिन र तनाव हटाउन डे केयर चलाएका हौं ।’


बुटवल ९ मा रहेको प्रौढ समाज अर्को वृद्ध नागरिक भेला हुने स्थान हो । उपमहानगरले बनाएको यो भवनमा आसपासमा वृद्धवृद्धा दिनभरि भेला हुन्छन् । सुखदु:खका कुरा गर्छन् र साँझ घर फर्किन्छन् । स्थानीयको सक्रियतामा देवीनगर चौपारीमा अर्को वृद्धवृद्धा जमघट स्थल बनाइएको छ । त्यसमा हरेक दिन पाका पुस्ताका भेला हुन्छन् र सुखदु:ख साटेर फर्किन्छन् ।


पछिल्लो समय संयुक्तबाट एकल परिवारमा बस्ने परम्परा बढेको छ । बाबुआमासँगै हुने छोराबुहारी पनि धेरैजसो कामकाजी हुन्छन् ।


यसले बेसहारा बन्ने वृद्धवृद्धा बढेका छन् । स्याहार–सुसार र माया–ममतामा काट्नुपर्ने बुढ्यौली नीरस, एक्लै काट्न बाध्य छन् ।


यस्ता वृद्धवृद्धाका लागि बुटवल उपमहानगरले प्रत्येक वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र खोल्ने प्रक्रिया थालेको छ । एकात्मक परिवार र सहरीकरणले परिवारबाट एक्लिँदै गएका वृद्धवृद्धाको संरक्षण गर्न भन्दै केन्द्र खोल्ने प्रक्रिया थालेको हो । ‘ज्येष्ठ नागरिकको दिनचर्यालाई सहज र सक्रिय बनाउन १८ वटै वडामा मिलन केन्द्र खोलिने छ,’ उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यले भनिन्, ‘सञ्चालनका लागि नागरिक समाज तथा सामाजिक संघसंस्थासित सहकार्य हुनेछ ।’


चालु आर्थिक वर्षमा ६ वटा वार्डमा मिलन केन्द्र खोल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । त्यसका लागि वडा नं. १५ को सेमलार, १३ को बेलबास र ११ को देवीनगरमा स्थान छनोट गरिसकिएको छ । यसमा पूर्वाधार जुटाएर छिट्टै मिलन केन्द्र खोल्ने सामाजिक महाशाखाका वरिष्ठ अधिकृत दामोदर ज्ञवालीले बताए ।


धेरै वडामा उपमहानगरको लगानीमा बनेका सामाजिक भवन छन् । तिनै भवनलाई ज्येष्ठ नागरिक मिलन केन्द्रका रूपमा परिणत गर्ने उपमहानगरको योजना छ ।


‘अहिले पनि एक दर्जनभन्दा बढी मन्दिर संरक्षण समितिमा ज्येष्ठ नागरिक जम्मा हुने र दिन कटाउने गरेका छन्,’ वरिष्ठ अधिकृत ज्ञवालीले भने, ‘समितिलाई सक्रिय बनाएर ती क्षेत्रमा पनि व्यवस्थित मिलन केन्द्र खोल्न सकिनेछ ।’ उपमहानगरले व्यवस्थापन गर्ने मिलन केन्द्रमा दिनभर वृद्धवृद्धालाई जम्मा हुने र सुखदु:ख साट्ने व्यवस्था मिलाइनेछ । हरेक दिन दिवाभोजको व्यवस्था हुनेछ । समय–समयमा स्वास्थ्य परीक्षण गरिनेछ ।


दिवाभोज र स्वास्थ्य परीक्षण उपमहानगर आफैंले गर्नेछ । कहिलेकाहीँ पाका पुस्ताका अनुभव सुन्न युवा र बाल समूहलाई समेत सहभागी बनाइनेछ । यसले पाका पुस्ताप्रति बालबालिका तथा युवालाई सम्मान गर्ने भावना बढाउन सहज हुनेछ । दिनभर सेवा तथा रेखदेख गरेर साँझ भने उनीहरूकै घरमा पठाइनेछ । ‘मिलन केन्द्र पाका पुस्ताका लागि खुसी फर्काउने माध्यम हुनेछन्,’ अधिकृत ज्ञवालीले भने, ‘दिनभर वृद्धवृद्धा एक्लै घरमा बस्नुपर्ने बाध्यता र यसले हुने मानसिक समस्या पनि कम हुनेछ ।’

प्रकाशित : कार्तिक २७, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?