वडासचिव सहित ३ पक्राउ
बुटवल — छिमेकी महिलालाई बोक्सीको आरोप लगाउँदै दुव्र्यवहार गरेको अभियोगमा तिलोत्तमा नगरपालिका ५ का वडासचिव टीकाराम आचार्य पक्राउ परेका छन् ।
सचिव आचार्यसहित उनकी पत्नी कमला र छोरी प्रतिज्ञा खनाल पनि पक्राउ परेका छन् । छिमेकी तिलोत्तमा ४ की डम्बरकुमारी न्यौपानेले बोक्सी आरोप लगाउँदै कुटपिट गरेको उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए ।
प्रहरीका अनुसार आचार्यकी छोरी प्रतिज्ञा बिरामी थिइन् । बुधबार दिउँसो छोरी बिरामी भएकाले हेर्न भन्दै सचिव आचार्यले छिमेकी न्यौपानेलाई बोलाएका थिए । न्यौपाने घरभित्र पस्नासाथ छोरी प्रतिज्ञा आफूलाई बिरामी गराउने बोक्सी यिनै न्यौपाने हुन् भन्दै झम्टिएकी थिइन् । छोरीले आक्रमण गरेपछि आमा कमलाले पनि बोक्सी भन्दै कुट्न उक्साएको र उनीहरूको दुव्र्यवहारमा सचिव रमिते बनेका थिए ।
न्यौपाने गुहार माग्दै छिमेकीकहाँ पुगेकी थिइन् । छिमेकीकै सहयोगमा बिहीबार वडा प्रहरी कार्यालयमा मौखिक उजुरीसहित पुगेका उनीहरूलाई सुरुआतमा प्रहरीले मिलाउने प्रयास गरेको थियो । पीडितले बोक्सी आरोपमा मेलमिलाप नगरी न्यायका लागि लड्ने बताएपछि शुक्रबार इलाका प्रहरी कार्यालयले बोक्सीविरुद्धको मुद्दा दर्ता गर्दै आरोपितलाई पक्राउ गरेको हो ।
आरोपितलाई आइतबार म्याद थप गरी थप अनुसन्धान सुरु गरेको प्रनाउ मल्लले बताए । उनका अनुसार आरोपित तीनै जनाले आरोप स्वीकार गरेका छन् । प्रहरी बयानमा आचार्यले छोरी बिरामी भएकीले आवेशमा बोलेको तथा दुव्र्यवहार गरेको बताएका छन् ।
प्रकाशित : कार्तिक २७, २०७५ १०:४१