कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घरेलु हिंसापीडित साझा घरमा

परिवारमा बस्न नसक्ने भएपछि उनीहरूले सामूहिक घर निर्माण गरेर बसोबास थालेका हुन्
दुर्गालाल केसी

दाङ — सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही माओवादीले साम्यवादको अभ्यास गर्ने भन्दै नमुनाका रूपमा केही कम्युन सुरु गर्‍यो । रुकुमको छिपखोला र रोल्पाको थबाङमा स्थापना गरिएका ती कम्युन अहिले सबै लथालिंग भइसके ।

घरेलु हिंसापीडित साझा घरमा

व्यक्तिगत सम्पत्ति पार्टीलाई जिम्मा लगाएर सामूहिक परिवार प्रणालीमा बस्दै आएका ती कम्युन सदस्य अहिले आ–आफ्नो जीवन निर्वाहको बाटो खोजिरहेका छन् । राजनीतिक कम्युन भत्किसकेका बेला यहाँ घरेलु हिंसापीडित महिलाले कम्युन बसाइ सुरु गरेका छन् ।


परिवारमा बस्न नसक्ने भएपछि उनीहरूले सामूहिक घर निर्माण गरेर बसोबास थालेका हुन् । घोराही उपमहानगरपालिका १३ दूधे सोतामा घर निर्माण गरेर जीविकोपार्जनका विभिन्न उपाय गरिरहेका छन् । सामाजिक अभियन्ता विमला योगीले दिएको ५ कट्ठा जग्गामा तारबार गरी घरबास र व्यवसाय थालेका छन् । कुखुरा, बाख्रापालन, तरकारी खेती र ऊनका कपडा बुन्ने सीप उनीहरूको जीवन निर्वाहको माध्यम बनेको छ ।


५ पीडित महिला एउटै घरमा बसिरहेका छन् । श्रीमान् र परिवारका सदस्यको हिंसाका कारण घरमा बस्न नसक्ने अवस्था भएपछि निस्किएका पीडितहरू एउटै भान्सामा कम्युन जीवन बिताइरहेका छन् । एकले अर्काको बच्चाको हेरचाह गर्छन् । बच्चाहरू पनि आफ्नी आमाबाहेक अरूलाई ठूली ममी भन्छन् ।


मामाघर बस्दै आएका बालबालिका पनि बिदाको दिन मामाको घर भन्दै कम्युन घरमा आइपुग्छन् । ‘आफ्नो घरमा बस्न नमिल्ने भएपछि छोरो मामाघरमा बसेर पढ्छ । उसलाई मामाघर आफ्नो घरभन्दा टाढै हुनुपर्छ भन्ने लागेको छ,’ कम्युन घरकी सदस्य सुर्खेतकी बालिका जीसीले भनिन्, ‘उनीहरू हाम्रो यस सामूहिक घरलाई मामाघर ठान्छन् । बिदाको दिन आएर रमाउँछन् ।’


तुलसीपुरकी दीपा बस्नेत १२ वर्षीय छोरासँगै कम्युन घरमा छिन् । उनको छोराको हेरचाह सबैले गर्छन् । दीपा घरमा नहुँदा पनि कुनै चिन्ता छैन । बाँकी सदस्यले आमाको भूमिका निर्वाह गर्छन् । आमाहरू पनि घरको नियमित हिंसा, यातना र तनावबाट मुक्ति पाइरहेका छन् । ‘घरमा हिंसा सहेर बस्नुभन्दा यहाँ स्वतन्त्र ढंगले बस्न पाइएको छ । कसैको डर, त्रास छैन,’ दीपाले भनिन्, ‘आफ्नो मिहिनेतले ज्यान पालेका छौं । छोराछोरी पनि त्रासमुक्त भएर बसेका छन् ।’


कम्युनमा तेरोमेरो भन्ने केही नभएकाले स्वार्थमुक्त जीवन सुखमय भएको उनले बताइन् । ‘यहाँ

आफ्नो र अर्काको सम्पत्ति भन्ने केही छैन । सबैको सामूहिक बसाइ छ, सामूहिक कमाइ हुन्छ,’ उनले भनिन्, ‘कमाएको सामूहिक रूपमा उपयोग हुन्छ । यो सबै पीडितहरूको साझा घर भएको छ ।’ कतिपय महिला घरेलु हिंसाबाट पीडित भएपछि न्यायको खोजीमा निस्कन्छन् ।


न्याय प्रणाली लामो भएकाले उनीहरूलाई बसोबासको समस्या हुन्छ । फर्केर त्यही घरमा जान पनि नसकिने, अरू कतै वैकल्पिक व्यवस्था पनि नहुने । यस्तो बेला धेरै पीडित महिला समस्यामा परिरहेका हुन्छन् । कतिपय घर र माइतीबाट समेत उपेक्षा गरिएका हुन्छन् । कतिपय विभिन्न हिंसाबाट पीडित भएर सडकमा भौंतारिएका हुन्छन् ।


यस्ता महिलालाई संरक्षण दिन यो घर उपयोगी हुने दीपाले बताइन् । ‘यहाँ आएपछि तत्काल भोकभोकै पर्ने अवस्थाबाट छुटकारा मिल्छ,’ उनले भनिन्, ‘हामीले सकेको उद्यम गरेका छौं । यसैमा मिसिने र आफूले सकेको काम गर्ने ।’ कुखुरा, बाख्रापालनका साथै तरकारी खेती र फूलको नर्सरी बनाउने योजना रहेको उनले बताइन् ।


कम्युन घरमा बालिका र दीपाका साथै घोराही १०, बुधौराकी डिला चौधरी, घोराही १५ की सरस्वती खत्री र बर्दियाकी पिंकी सिं बसिरहेका छन् । उनीहरू सबै मिलेर काम गर्छन् । डिला र सरस्वती कुखुरा र बाख्राको हेरचाह गर्छन् । पिंकी नर्तीस्थित छात्रावासमा बसेर १२ कक्षा पढिरहेकी छन् । उनी बिदाको दिन यही घरमा आउँछिन् र दिदीहरूसँग रमाउँछिन् ।


हिंसापीडित महिलाहरू संगठित भएर सक्षम महिला सामुदायिक संस्था गठन गरेका छन् । यही समूहमा आबद्ध भएर सबै पीडित महिला विभिन्न आय आर्जनका उपाय गरिरहेका छन् । हिंसापीडित महिलालाई संरक्षणको समस्या भएपछि पीडितहरू नै मिलेर सामूहिक घर निर्माण गरेको अध्यक्ष रचना सुवेदीले बताइन् । ‘यो घरमा कुनै पनि पीडित महिला जतिबेला पनि आउन सक्छन् । यहाँ आएपछि आफ्नो चाहना अनुसारका काम गरेर जीवन बचाउन सकिन्छ,’ उनले भनिन्, ‘यो पीडितहरूकै घर हो । कोही नभएका बेला आफूजस्तै दिदीबहिनीसँग दु:ख भुलाउँदै बस्ने ठाउँ हो ।’


विभिन्न कारणले हिंसामा परेका महिला यो घरमा आश्रय लिन आएका छन् । समय मिलाएर ऊनका कपडा पनि बुन्छन् । एकछिन खाली बस्दैनन् । कतै जाँदा पनि हातमा ऊन बोकेर बुन्दै हिँडिरहेका हुन्छन् । उनीहरूले होजियारी मेसिनबाट पनि कपडा उत्पादन गरिरहेका छन् । आफन्तको घरमा बस्न पाएका पीडित महिला दिउँसो मात्रै कपडा बुन्न आउँछन् ।


तीमध्ये ६ जनाले होजियारी मेसिन र १० जनाले हातले नियमित कपडा बुनिरहेका छन् । उनीहरूले उत्पादन गरेका ऊनका कपडाको पनि बजारमा राम्रै माग छ । नयाँ सदस्य पुरानाबाट सीप सिक्छन् र आय आर्जनको बाटो रोज्छन् । हिंसापीडित महिलाहरूका लागि सरकारी तहबाट अस्थायी सेफ हाउसहरू पनि चलाइएका छन् तर त्यहाँ १५ दिनपछि कहाँ जाने भन्ने समस्या हुन्छ ।


लामो समय बस्न मिल्ने सुरक्षित आवास नहुँदा पीडित महिला अलपत्र भएपछि कम्युन घर बनाइएको सुवेदीले बताइन् । ‘यहाँ आएपछि तत्कालै बस्नेखाने जोहो आफैं गर्न सकिन्छ र तुरुन्तै कतै जानु पनि पर्दैन । आफूले काम गर्न सक्दासम्म यहीं बस्न सकिन्छ,’ उनले भनिन्, ‘यो पीडितको आफ्नै घर भएको छ । सहारा कोही नभएका बेला विभिन्न उद्यम गरी बाँच्न सकिने ठाउँ भएको छ ।’


पीडितको स्थायी आश्रयस्थल बने पनि आर्थिक समस्याले भने सताइहेको सुवेदीले बताइन् । कुखुरा, बाख्रा राख्ने घर बनाउँदा र तारबार गर्दा नै १० लाख रुपैयाँजति ऋण लागिसकेको उनले बताइन् । सबै पीडित महिलाको व्यवसाय बढाउने र उद्यमी भएर आत्मनिर्भर हुने चाहना भए पनि लगानी नहुँदा समस्या भइरहेको उनको दुखेसो छ ।


‘ऋण लिन धितो राख्नुपर्छ, नियमित कमाइ हुने स्रोत देखाउनुपर्छ । हामीलाई कसैले पनि ऋण दिन मान्दैनन्,’ उनले भनिन्, ‘लगानी भएमा धेरै पीडित महिलालाई आत्मनिर्भर बनाउन सकिन्थ्यो ।’ बाख्रा, कुखुराको दाना किन्न र गोठहरू बनाउन खर्चिलो भएको पीडितहरूको भनाइ छ । घरसम्म पुग्ने राम्रो सडक नहुँदा पनि समस्या भएको छ ।


पीडित महिलालाई विगतका घटनाले तनाव भइरहने भएकाले केही न केही काम गरेर व्यस्त हुनु जरुरी रहेको सुवेदीले बताइन् । ‘सबै पीडितहरू केही न केही काम गरेर व्यस्त हुन चाहन्छन् । उद्यम गर्न चाहन्छन्,’ उनले भनिन्, ‘तर, सबैलाई व्यस्त बनाउन सक्ने साधनस्रोत नहुँदा समस्या भइरहेको छ ।’

प्रकाशित : कार्तिक २७, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?