१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पोके तस्करको बिगबिगी

कान्तिपुर संवाददाता

परासी — पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रमा पोके तस्करको बिगबिगी बढेको छ । घरायसी प्रयोजनका लागि भन्दै उपभोग्य वस्तु, इलेक्ट्रोनिक्स सामान, कपडा र कुखुरा दिनहुँ यहाँबाट तस्करी हुने गरेको छ ।

पोके तस्करको बिगबिगी

सामान्यतया सीमानाकामा दुवै देशका सर्वसाधारणको आवतजावत र किनमेल हुने हुँदा थोरै परिमाणको सामान सुरक्षाकर्मीले सीमा वारपार गर्न छोडिदिने गरेका छन् ।


भारत र नेपालका सुरक्षाकर्मीले विवाह उत्सव, पूजा तथा चाडपर्वमा सर्वसाधारणलाई केही सहज बनाइदिँदा पोके व्यवसायी (गाउँघरमा खुद्रा सामान बेच्दै हिँडने)ले एकै दिनमा ७/८ पटकसम्म सीमानाकामा ओहोरदोहोर गरेर लाखौंका सामान भित्र्याउने गरेको पाइएपछि अहिले सुरक्षाकर्मीले निगरानी बढाएको छ । चाडपर्वको समयमा सीमानाकाबाट तस्करी बढेपछि सीमा सुरक्षा बल सशस्त्र प्रहरीले विशेष निगरानी बढाएको हो । अहिले सीमानाकामा सीमा लङ रुट पेट्रोलिङ (एलआरपी) अपरेसन सञ्चालन गरिएको छ ।


सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर २६ नम्बर गण बेलासपुर पश्चिम नवलपरासीले नियमित गस्ती बढाउनुका साथै सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गहार्धन राईले बताए । ‘सीमानाकामा पोके व्यापारीका कारण सर्वसाधारणलाई समेत निगरानी बढाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘घरायसी प्रयोजनका लागि भन्दै ठूला व्यापारीले भरिया लगाएर एकै दिनमा लाखौं रुपैयाँका सामान भन्सार छलेर पार गराएको भेटिएपछि घरायसी प्रयोजनका लागि चिनी, मसलाजस्ता सामान्य सामान ल्याउने सर्वसाधारणलाई पनि कडाइ गर्नुपरेको छ ।’


सर्वसाधारणले भने ठूला व्यवसायीलाई छाड्ने र सर्वसाधारणलाई अनावश्यक दु:ख दिने गरेको आरोप लगाए । खुला सीमाका कारण दिनहुँ लाखौंको रासायनिक मल, कुखुराका चल्ला सुरक्षाकर्मीका आँखा छलेर तस्करी हुने गरेको गुठी सूर्यपुराका रमेश हरिजनले बताए । ‘सर्वसाधारणका नाममा व्यवसायीलाई सामान ल्याइदिने केही खराब व्यक्तिका कारण सबैलाई दु:ख हुने गरेको छ,’ उनले भने, ‘अहिले सर्वसाधारण पनि एक दिनमा कतिपटक ओहोरदोहोर गर्छन् भन्ने निगरानी सुरक्षाकर्मीले बढाउन थालेपछि तस्करीमा केही कमी आएको छ ।’


२८ किलोमिटर दूरीमा रहेको खुला सीमामा गस्ती गर्ने क्रममा सुरक्षाकर्मीले दिनहुँ लाखौं मूल्यबराबरका दैनिक उपभोग्य सामग्री बरामद गर्ने गरेको छ । बरामद सामानमा लत्ताकपडा, हार्डवेयर, खाद्यान्न, जुत्ता–चप्पल र बालबालिकाका खेलौना रहने गरेका छन् ।


संयुक्त गस्ती पश्चिम नवलपरासीको दशगजामा तस्करी रोक्न नेपाल–भारत सीमा सुरक्षा बलले संयुक्त गस्ती गर्न थालेका छन् । अहिले दशगजामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र नेपालको सशस्त्र प्रहरीले गस्ती गर्न थालेका हुन् ।


बढ्दो तस्करी, सीमा स्तम्भ तोडफोड गर्ने तथा दशगजामै अतिक्रमण हुन थालेपछि गस्ती सुरु गरिएको जनाइएको छ । अहिले सीमावर्ती सुस्ता, भुजहवा, गुठीप्रसौनी, महेशपुर, गेर्मी, मुडरालगायतका स्थानमा संयुक्त गस्ती गर्दै स्थानीयसँग समस्या समाधानका विषयमा छलफलसमेत गर्ने गरिएको छ ।


प्रकाशित : कार्तिक २८, २०७५ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?