करेंसाबारीबाट सोझै बजारमा

मधु शाही

बाँके — करेंसाबारीमा लटरम्म फलेका तरकारीले अभाव टार्‍यो । कोहलपुुर पिपिरीकी अम्बिका चौधरीले एक/दुई छाक छिमेकीलाई समेत चखाइन् ।

त्यति गर्दा पनि तरकारी खेर जाने अवस्था टरेन । मिहिनेत गरेर लगाएको तरकारी कुहिन थालेपछि उनले बिक्री गर्ने सोच बनाइन् । त्यसपछि घरनजिकको कृषि बजारसम्म पुर्‍याउन थालेकी छन् ।


‘तरकारी बेचेर कमाउन थालेकी छु,’ उनले भनिन्, ‘अहिले तरकारी खेर जाँदैन । माग बढेपछि व्यापारमा हौसला मिलेको छ ।’ सोमबार, बुधबार र शनिबार उनी कोहलपुर नगरपालिकास्थित हवलदारपुर पुगेर तरकारी बिक्री गर्छिन् । त्यहाँ लाग्ने हाटमा उनीजस्ता करेसाबारीबाट तरकारी टिपेर सोझै व्यापार गर्न पुग्नेको संख्या बढ्न थालेको छ । यसरी स्थानीय उत्पादन आउन थालेपछि सर्वसाधारणले आयातित तरकारी खरिद गर्न कम गरेका छन् ।


नेपालगन्ज उपमहानगरको धम्बोजीकी रूपावती हुमागार्इं सीमावर्ती भारतीय बजार रुपैडियासम्म तरकारी किन्न जान्थिन् । अहिले कृषि बजारमा स्थानीय किसानले लगाएका अग्र्यानिक तरकारी सजिलै पाउन थालेपछि सहज भएको बताइन् । उनी नेपालगन्जबाट रिक्सा चढेर कोहलपुरको हवल्दारपुर धाउँछिन् । ‘ताजा र विषादीरहित तरकारी पाएको महसुस हुन्छ यहाँ,’ उनले भनिन्, ‘बाहिर पैसा दिनुभन्दा स्थानीय किसानले आम्दानी गरून् भन्ने उद्देश्यले पनि कृषि बजारमै आउँछु ।’ कोहलपुर नगरपालिकामा दुईवटा कृषि बजार छन् । जसले गर्दा स्थानीय किसानले सजिलै बजार पाएका छन् ।


कोहलपुर नगरपालिकाका सूचना अधिकारी हरिबहादुर वलीले पछिल्लो समय कृषि बजारमा स्थानीय किसानको चहलपहल बढ्न थालेको बताए । ‘करेसाबारीमा तरकारी कुहाउनुभन्दा बजारसम्म ल्याएर व्यापार गर्ने संस्कारको विकास भएको छ,’ उनले भने, ‘यद्यपि, कृषि बजार अझै व्यवस्थित भने हुन सकेको छैन ।’ कृषि ज्ञान केन्द्र बाँकेद्वारा सञ्चालित कोहलपुरमा दुईवटा कृषि बजार रहेको उनले बताए ।

शमशेरगन्जकी चन्दा बुढाथोकीले बजार देखेर खेती गर्न थालेको बताइन् । घरमै रहेको करेंसाबारी रित्तै राख्दै आएकी उनी अहिले तरकारी लगाउँछिन् । जे–जति उत्पादन हुन्छ, सबै तरकारी बजारसम्म ल्याएर बिक्री गर्छिन् । भारतबाट आयातित तरकारीमा स्थानीयको रोजाइ कम हुन थालेपछि स्थानीय किसानका तरकारी खोज्न थालिएको उनको अनुभव छ । ‘तरकारी लगाएर केही उपलब्धि हँुदैनजस्तो लाग्थ्यो सुरुमा,’ उनले भनिन्, ‘अग्र्यानिक सागसब्जी खोजी गर्नेहरूको जमात बढ्न थालेपछि अहिले यसैमा भविष्य देखेकी छु ।’


प्रकाशित : कार्तिक २८, २०७५ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?