बल्झिँदै पूर्वकमलरीका पीडा

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिकाकी पूर्वकमलरी दीपा चौधरी (नाम परिवर्तन) १३ वर्षको उमेरमै कुमारी आमा बनिन् । काठमाडौंस्थित मालिक वनवीर थापाको घरमा काम गर्थिन् । मालिकको चरम यौन शोषण सहन नसकेपछि घटना सार्वजनिक गरिन् ।

लगत्तै विभिन्न संघसंस्थाको सहयोगमा उनको उद्धार भयो । घर फर्केको चार महिनापछि आफू गर्भवती भएको उनले थाहा पाइन् । माइतीमै उनले छोरी जन्माइन् ।


छोरी अहिले ५ कक्षामा पढ्छिन् । जन्मदर्ता नहुँदा विद्यालयले पटक–पटक ताकेता गरेको छ । ‘बाबुको ठेगान नभएकाको जन्मदर्ता हँुदैन भन्दै वडा कार्यालयले फर्काउने गर्छ,’ दीपाले भनिन्, ‘छोरीलाई स्कुलमा टिकाइराख्नै मुस्किल परेको छ ।’


उनीजस्तै ठाकुरबाबा नगरपालिकाकी पूर्वकमलरी सुनीता थारू (नाम परिवर्तन)को अवस्था पनि उस्तै छ । सानै उमेरमा काम गर्न बाबुआमाले घरेलु कामदारका रूपमा काठमाडौं पठाए । मालिकको यौन शोषण सहेरै बसिन् । ०६९ सालमा कमलरी उद्धारका क्रममा मात्र उनी घर फर्किइन् । उनलाई गर्भ रहेको थाहा थिएन । घर फर्किएको ६ महिनापछि छोरा जन्मियो । छोरा लिएर काठमाडौं जाँदा मालिक डेरा सरेर बेपत्ता भइसकेको थियो । छोराको जन्मदर्ता नहुँदा अहिले पढाउन समस्या भइरहेको उनले बताइन् ।


चौधरी र थारूजस्तै पश्चिम तराईका दाङ, बाँके, बर्दिया र कैलालीका १३ जना पूर्वकमलरी घरेलु कामदारका रूपमा रहेको अवस्थामा मालिकबाट यौन शोषण भई कुमारी आमा बनेको कमलरी विकास मन्च, बर्दियाकी अध्यक्ष कर्मसीता चौधरीले बताइन् । ‘यौन शोषण गर्ने ती मालिकलाई कारबाही, कुमारी आमाका छोराछोरीको जन्मदर्ता र अंश पाउन ज्यादै ढिला भइसक्यो,’ उनले भनिन्, ‘सरकारसँग यिनै विषयमा १० बुँदे सम्झौता गरेका थियौं । अहिलेसम्म सहमति पूरा नगरेकाले आन्दोलन गर्ने तयारीमा छौं ।’


सरकार र पूर्वकमलरीबीच ०७० जेठ २४ गते १० बुँदे सम्झौता भएको थियो । कुमारी आमाका सन्तानलाई जन्मदर्ताको प्रमाणपत्र नयाँ संहिताअनुसार दिन मिल्ने मधुवन नगरपालिका ४ का वडाध्यक्ष विन्तीराम थारूले बताए । उनले यसअघि जन्मेका छोराछोरीका बाबुको पहिचान नभए जन्मदर्ता दिन नमिल्ने जनाए । कैलाली, जोशीपुर गाउँपालिकाकी पूर्वकमलरी सुधा थारू (नाम परिवर्तन)ले मालिकको यौन शोषणमा परी छोरी जन्माइन् । यौन शोषण गर्ने मालिक फरार छन् । छोरी जन्मिएपछि सुधाको मानसिक सन्तुलन बिग्रेको छ ।


कमलरी क्षेत्रमा काम गर्ने संस्था नेपाल युथ फाउन्डेसन (नायफ)का परियोजना अधिकृत एवं कानुन व्यवसायी फक्ला थारूले आफ्नो संस्थाले यौन शोषणमा परेर कुमारी आमा बनेका पूर्वकमलरीका सन्तानलाई नि:शुल्क अध्ययन गराइरहेको बताए । उनीहरूका बाबु पहिचानका निम्ति सम्बन्धित प्रहरी कार्यालयमा कानुनी लडाइँका लागि उजुरी दिएको पनि

उनले सुनाए ।


सरकारले समस्या सुनुवाइ नगरेकाले बाध्य भई आफूहरू फेरि सडक संघर्षमा उत्रिनुपर्ने भएको उनले बताए । कुमारी आमा बनेका पूर्वकमलरीका बालबालिकाको संरक्षण, उनीहरूको सम्पत्तिको अधिकार र दोषीमाथिको कारबाही प्रक्रिया अघि नबढेकामा पूर्वकमलरी कुमारी आमाहरू आक्रोशित बन्दै गएका छन् ।


०५६ माघ १ गतेदेखि दाङको गोबाडियाबाट पूर्वकमलरीलाई उद्धार सुरु गरिएको थियो । १३ हजार २६ मध्ये हालसम्म १२ हजार ९ सय ३२ पूर्वकमलरीको उद्धार गरिएको नायफका परियोजनाका अधिकृत थारूले बताए । ९४ जना कमलरीको अझै उद्धार हुन सकेको छैन ।

प्रकाशित : कार्तिक २८, २०७५ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?