कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हिंसामुक्त अभियानमा विद्यार्थी

घनश्याम गौतम

रूपन्देही — विद्यार्थीका बिदा मनाउने आ–आफ्नै तरिका हुन्छन् । कोही अभिभावकसँगै नयाँ ठाउँ घुम्छन् । कोही होमवर्क सकेर खेल्नमै व्यस्त हुन्छन् ।

तर, बुटवलको दीप बोर्डिङ स्कुलका विद्यार्थीले दसैं/तिहार बिदा फरक र सन्देशमूलक काम गरेर बिताए । देशभर किशोरीमाथि भएका बलात्कार र यौन हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले कक्षा १० का १२ विद्यार्थीले सन्देशमूलक नाटक प्रस्तुत गरेर बिदा मनाए ।


कक्षा सञ्चालन भइरहेकै बेला देशभर किशोरी बलात्कार र हत्याका घटना दिनहुँ समाचार बन्ने गरेपछि उनीहरूको मन पोल्यो । विद्यालयमै साथीसाथीबीच भएको छलफलले यौन हिंसा र हत्या न्यूनीकरणमा किशोरकिशोरी नै लाग्नुपर्ने निष्कर्ष निकाल्यो । त्यसका लागि उपयुक्त समय दसैं/तिहार बिदा छानेर उनीहरूले अभियान सुरु गरे । ‘सुरक्षित किशोरी, समृद्ध समाज’ नारासहितको अभियान बनाएर बुटवल आसपासका ६ स्थानमा कात्तिक १४ देखि १७ गतेसम्म सडक नाटक प्रस्तुत गरे । नाटकको तयारी र प्रस्तुतिका लागि केही समय लाग्यो ।


बुटवलका व्यस्त सडक र चोक दीपनगर, ड्राइभरटोल, जेसिजचोक, देवीनगर, अमरपथ, ट्राफिकचोकमा नाटक प्रस्तुत गर्दै किशोरीमाथि भइरहेका यौन हिंसाविरुद्ध हस्ताक्षरसमेत संकलन गरे । जसमा हजारौंले नाटक हेरे । ३ हजार ५ सयले अभियानमा समर्थन जनाउँदै हस्ताक्षर नै गरे । उनीहरूको नाटकले किशोरीमाथि हिंसा बढ्दै गएको तर किशोरीले अभिभावककै त्रासका कारण परिवारमा खुलेर बताउन सक्ने अवस्था नरहेको संकेत गर्दै त्यसको समाधान खोज्न प्रेरित गरेको थियो । ‘किशोर वा पुरुषबाट कुनै दुव्र्यवहार भयो भन्दा समाजले उल्टै किशोरीलाई नै दोष लगाउँछ र केटीले सहनुपर्छ भनेर सिकाउँछ,’ अभियानकी सदस्य एलिना सिवाकोटीले भनिन्, ‘तर, त्यही सहन सिकाउने प्रवृत्तिले हिंसा र हत्या बढ्दो छ ।’ सहनु पनि हिंसा हो भन्ने बुझाएर समाज बदल्नुपर्छ भन्ने भावनासहित आफूहरूको टिमले स्वतस्फूर्त रूपमा प्रदेशमै किशोरी असुरक्षित बन्नु नपरोस् भनेर अभियान चलाएको उनले बताइन् ।


अभियान बढ्दो यौन हिंसा, बलात्कार, एसिड आक्रमणका विरुद्ध केन्द्रित छ । किशोरीमा डर बढ्दै गएको र त्यसले परिवारका अभिभावकलाई समेत किशोरीको उमेर परिवर्तनसँगै त्रास थप्ने अवस्था सिर्जना भएकाले त्यो रोक्न अभियान आवश्यक भएको अभियानका सारांश थापाले बताए । ‘किशोरी अवस्थामा देखिने डर र त्रासलाई शक्तिमा बदल्ने हाम्रो अठोट हो,’ उनले भने, ‘त्यही अनुसार विद्यालय र अभिभावकले सहयोग गरेपछि हामीलाई पनि हौसला बढेको छ ।’ अभियान समयको सदुपयोग गर्दै प्रदेशभर फैलाउने प्रयासमा छौं ।’ अभियानमा विद्यालयका ८ किशोरी ४ किशोर रहेको उनले बताए ।


अभियानमा केयर नेपालकी किशोरकिशोरी सशक्तिकरणकी करुणा थापाले नाटक लेख्न र अभिनय गर्न सिकाएर सहयोग गरेकी छन् । ‘उनीहरूले स्वतस्फूर्त रूपले अभियान चलाउन खोजेपछि मैले सहजीकरणका लागि नाटकको स्क्रिप्ट लेखेर सहयोग गरें,’ उनले भनिन्, ‘सबै विद्यालयका किशोरकिशोरीमा यस्तै चेतना जगाउन सके हिंसा न्यूनीकरणमा ठूलो सहयोग पुग्छ ।’ दीप बोर्डिङका प्रिन्सिपल टीकाराम न्यौपानेले विद्यार्थीले किशोरीमाथि हुने गरेका हिंसाका घटना पढेर र सुनेर अभियान चलाउने प्रस्ताव ल्याएको र अध्ययन गर्दा उपयुक्त लागेपछि स्वीकृति दिए पनि अभियानका सबै क्रियाकलाप विद्यार्थीबाटै भएको बताए ।


‘हामीलाई उपयुक्त लागेपछि सल्लाह र प्राविधिक सहयोग मात्र गर्‍यौं,’ उनले भने, ‘हत्या, बलात्कार र यौन हिंसाका घटना न्यूनीकरण गर्न विद्यार्थीकै यस्ता अभियान प्रभावकारी हुने देखियो ।’

संकलन गरेको हस्ताक्षर मंगलबार नै विद्यार्थीले मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गर्दै प्रदेश ५ लाई किशोरी हिंसामुक्त प्रदेश बनाउन आग्रह गरेका छन् । पोखरेलले विद्यार्थीको अभियान सकारात्मक र प्रभावकारी हुने भएकाले सरकारले पनि अभियानलाई विस्तार गर्न सहयोग गर्ने बताएको विद्यार्थी सिवाकोटीले बताइन् ।


प्रकाशित : कार्तिक २८, २०७५ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?