२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

लुम्बिनीमा १८ देशका बौद्ध अनुयायी

पहिलोपटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ
मनोज पौडेल

लुम्बिनी — लुम्बिनीस्थित पवित्र उद्यानभित्र पहिलोपटक तीनदिने अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ (पाठ) बुधबारदेखि सुरु भएको छ । उद्यानमा रहेको मायादेवी मन्दिर उत्तरछेउमा भिक्षु/भिक्षुणीले सामूहिक रूपमा उक्त पाठ थालेका हुन् । 

लुम्बिनीमा १८ देशका बौद्ध अनुयायी

भिक्षुमय बनेको लुम्बिनीमा उत्साह र उमंगसाथ त्रिपिटक पाठ गर्न स्वदेशी र विदेशी भिक्षु/भिक्षुणी आएका छन् । उनीहरूले बुद्ध जन्मेको स्थलमा पवित्र त्रिपिटकलाई नमन गरेर राम्रो पुण्य सञ्चय गर्न पाउँदा खुसी लागेको बताए । विशेष खालको झन्डै डेढ मिटर अग्लो पानसमा बत्ती बालेर कार्यक्रम सुरु गरिएको थियो ।


शान्ति र मानव कल्याणका लागि गौतम बुद्धले प्रतिपादन गरेको पवित्र त्रिपिटकलाई विशेष रूपमा सजाई डोलीमा राखेर कार्यक्रमस्थलसम्म पुर्‍याइएको थियो । अखण्ड शान्ति दीपबाट शोभायात्रा निकालेर मायादेवी मन्दिर परिसरमा रहेको कार्यक्रम स्थलसम्म लगिएको हो । यहाँ पाठ गरिने महासमय सुत्त र वेस्सन्तर जातक सुत्त लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुवर्णमुनि शाक्य र थाई राजदूत भकावत तान्सकुलले शान्ति दीपबाट बोकेर मायादेवी मन्दिर परिसर पुर्‍याएका थिए ।


त्यसपछि शील प्रार्थना गरी कार्यक्रम सुरु गरिएको थियो । लुम्बिनीको पवित्रता, आध्यात्मिक ऊर्जा र शान्ति एवं भ्रातृत्वको सन्देश फैलाउन कार्यक्रम गरिएको आयोजकले बताएका छन् । नेपाल भिक्षु महासंघ र रोयल थाई विहारद्वारा आयोजित कार्यक्रमको सुरुमा थाई भिक्षु नेतृत्वमा पाठ सुरु गरिएको थियो । भोजनपछि नेपाली, म्यान्मार र श्रीलंकाका भिक्षुले एक/एक घण्टा पाठ गरेका थिए । त्यसपछि भिक्षु बोधिसेन महास्थवीरले धर्मदेशना गरेका थिए ।


‘भगवान् गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि ४५ वर्षसम्म विभिन्न ठाउँमा देशना गर्नुभयो,’ भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले भने, ‘त्यहीमध्येको लुम्बिनी र कपिलवस्तुमा देशना गरेको पाठ यहाँ गरिँदैछ ।’ यसले बुद्धले लुम्बिनी र कपिलवस्तुलाई गरेको माया उजागर भएको उनले बताए । ‘यहाँको पवित्रताको जति बखान गरे पनि कमै हुन्छ,’ उनले भने, ‘नेपाली माटोलाई छुन पाउँदा गर्व गर्ने विदेशीलाई शान्ति र ऊर्जाको आनन्द सधैं दिइराख्न अब हरेक वर्ष लुम्बिनीमा त्रिपिटक पाठ गर्नुपर्छ ।’


त्रिपिटक बौद्ध धर्मावलम्बीका लागि महत्त्वपूर्ण मानिन्छ । त्यसमाथि लुम्बिनीमा गर्न लागिएको पाठको विशेष महत्त्व रहेको उनले बताए । यहाँ बुद्धले शुद्धोदन महाराजलाई देशना गरेको वेस्सन्तर जातक सूत्र पाठ गरिँदैछ ।


त्यस्तै शाक्य र कोलीयहरूबीच युद्ध हुन लाग्दा कपिलवस्तुमै देशना गरेको महासमय सुत्त पाठ पनि गरिँदैछ । यहाँ पाठ गरिने सुत्त थाई, देवनागरी र अंग्रेजी लिपिका पुस्तकमा समेत प्रकाशित गरिसकिएको छ ।


‘पवित्र ग्रन्थ लुम्बिनी उद्यानमा पाठ हुनु नेपालीका लागि गौरव र खुसीको कुरा हो,’ लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्ष्ुा मैत्रेय शाक्यपुत्रले भने, ‘च्यान्टिङलाई अब प्रत्येक वर्ष लुम्बिनीमा गर्ने गरी योजना बनाउनुपर्छ ।’ यसलाई शान्ति र आध्यात्मिकतातिर पनि जोडेर शान्तिप्रेमी पर्यटकको आकर्षण थप्नुपर्ने उनले बताए ।


‘शान्ति र सद्भावको ऊर्जा पाउँदा निकै खुसी छौं । सबै भिक्षु निकै उत्साहित छन्,’ थाइल्यान्डबाट त्रिपिटक पाठ गर्न १ सय ४ जना भिक्षु लिएर आएका पखुनिग्रोध बच्चाकानेले भने, ‘यहाँ प्राप्त गरेको ऊर्जालाई शान्तिरूपी प्रसादका रूपमा थाइल्यान्डमा बाँड्ने योजना छ ।’ कार्यक्रममा थाई राजदूत भकावत तान्सकुल र अमेरिकी बौद्ध एसोसिएसनका अध्यक्ष वाङबो डिक्सेले बुद्धकै कारण नेपाल र नेपालीको विश्व ऋणी बनेको बताए । ‘मानव जातिलाई प्रदान गरेको सर्वोच्च आशा र आनन्दको उद्गमभूमि नेपाल हो,’ उनले भने, ‘त्यसैले यो मुलुक र मुलुकवासीलाई सबैले नमन गर्नुपर्छ ।’


लुम्बिनीको त्रिपिटक पाठमा १८ देशका ५ सयभन्दा बढी विदेशीका साथै सयौं स्वदेशी भिक्षु/भिक्षुणी र बौद्ध अनुयायीको सहभागिता छ ।

प्रकाशित : कार्तिक २९, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?