कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करोडौं लगानीमा कृषि फर्म

गिरुप्रसाद भण्डारी

प्यूठान — प्यूठान नगरपालिका ९ बुढदेवी मरन्ठानाका प्रकाश केसीको ५ रोपनी खेतबारी छ । खेतबारीमा सिँचाइ गर्नलाई पानीको कहिल्यै समस्या हुँदैन । त्यसैले उनले जेठमै धान रोपिसक्छन् ।

करोडौं लगानीमा कृषि फर्म

‘मेरो मात्र होइन, उनले भने, ‘हाम्रो क्षेत्रमा खेतबारी सिँचाइ गर्न कसैलाई पनि समस्या छैन तर हामीले भएको स्रोतलाई अहिलेसम्म प्रयोग गर्न सकेनाैं ।’


परम्परागत रूपमा गरिने खेतीपातीले जीवन निर्वाह गर्न समस्या भएपछि स्थानीय किसान मिलेर यसपालि कुसनढुंगा कृषि फर्म सञ्चालन गर्ने योजना बनाएको केसीले बताए । समूहमा आबद्ध भएर काम गर्दा व्यावसायिक बन्न सहज हुने ठानेर फर्ममा आबद्ध भएको उनले सुनाए ।


न्यूनतम ५ रोपनी जग्गा हुने १५ जना किसान मिलेर प्रभावशाली कृषि सहकारी संस्थामार्फत कृषि फर्म संचालन गर्न थालिएको स्थानीय अगुवा बोमबहादुर भण्डारीले बताए । ‘१५ जना किसानको ५३ रोपनी क्षेत्रफलमा कृषि फर्म सञ्चालन गर्न थालेका छौं,’ उनले भने, ‘झन्डै २० रोपनी क्षेत्रफलमा तरकारी लगाइसकेका छौं ।’ उनले ३० रोपनी जग्गामा तरकारी र अरूमा भौतिक पूर्वाधार निर्माण गरिने बताए ।


सबै सदस्यले २/२ लाख रुपैयाँ नगद जम्मा गरेर फर्म चलाउन थालेको भण्डारीले बताए । ‘२० देखि २५ वर्षसम्म फर्म सञ्चालन गर्ने सहमति भएको छ,’ उनले भने, ‘सबैको प्रतिबद्धता भएपछि मात्र फर्मको योजना अगाडि बढेको हो ।’ फर्ममा उत्पादन भएको वस्तु बजार पुर्‍याउन सजिलोका लागि स्थानीयले आफ्नै लगानीमा बुढदेवीदेखि फर्मसम्म मोटरबाटोसमेत पुर्‍याएका छन् ।


२० वटा भैंसी, १० वटा उन्नत जातका बाख्रा, झन्डै १० रोपनी क्षेत्रफलमा माछा पाल्ने गरी भौतिक पूर्वाधार निर्माण गर्ने काम धमाधम भइरहेको प्रभावशाली कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर केसीले बताए । ‘उर्वर जग्गा, सिँचाइको राम्रो सुविधा भएकाले जिल्लामै नमुना फर्म देखाउने योजनासहित लागेका छाैं,’ उनले भने, ‘सदस्यहरू सबै अनुभवी भएकाले सफल हुने कुरामा ढुक्क छौं ।’


प्यूठान नगरपालिकाले यस वर्ष २० देखि २५ रोपनी क्षेत्रफलसम्मको जग्गामा व्यवसायी कृषि फर्म सञ्चालन गर्ने कृषकलाई अनुदान दिने गरी बजेट विनियोजन गरेको कुराले आफूहरूलाई थप हौसला मिलेको स्थानीय किसान पूर्ण भण्डारीले बताए ।


‘नगरपालिकामा सहयोगका लागि निवेदन दिएका छौं,’ उनले भने, ‘दुई/तीनपटक नगरपालिकाबाट हाम्रो फर्मको अनुगमन भएको छ ।’ उनले फर्मभित्रै कटेजसमेत सञ्चालन गर्ने योजना रहेको सुनाए । १५ जनाले करोडौं लगानी गरेको उनले बताए । ‘हाम्रो योजना आफूहरू स्वरोजगार बन्ने र विदेश जाने युवालाई स्वदेशमै रोजगारी दिने हो,’ उनले भने, ‘सफल हुनलाई स्थानीय सरकारको सहयोग चाहिन्छ ।’


नगरपालिकाले उत्पादनमा लाग्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको मेयर अर्जुनकुमार कक्षपतिले बताए । ‘कृषिलाई व्यावसायीकरण नगरी नगरको उन्नति हुन सक्दैन,’ कक्षपतिले भने, ‘त्यसैले किसानलाई सहयोग गर्ने गरी बजेटको समेत व्यवस्था गरेका छाैं ।’


नगर क्षेत्रभित्रका विजयनगरको ओखरबोट, जुम्रिकाँढाको ओबाङ, बास्कोट, मरन्ठानाको बुढदेवी, बिजुवारको काठेवर, माझकोटको गुरुङगाउँ, धर्मावतीको खपरेङखोला क्षेत्रका किसान व्यवसायी बन्दै गएको कक्षपतिले बताए ।

प्रकाशित : कार्तिक ३०, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?