बालमन्दिरको बिजोग

अमृता अनमोल

बुटवल — यहाँका ४ वर्षीय महावीर रोकाया बालमन्दिरस्थित प्रारम्भिक बालविकास कक्षामा पढदै छन् । पढ्न शुल्क नलाग्ने र खाजा ख्वाउन नपर्ने भएपछि विपन्न परिवारका उनलाई बालमन्दिर पठाइएको हो ।

बालमन्दिरको बिजोग

वैशाखदेखि बालविकास कक्षामा आउन थालेका उनले यहाँ के सिके, हजुरआमा शीतलादेवीले पत्तो पाएकी छैनन् । घरमा दिनभर स्याहार–सुसार गर्नुको साटो केन्द्रमा भुल्ने भएकाले पठाएको उनले बताइन् ।


‘बाबु बिरामी छ । आमाले दोस्रो बिहे गरी । घरमा कमाउने र हेर्ने मान्छे कोही छैन,’ हजुरआमाले भनिन्, ‘नातिलाई यहाँ पठाउँदा पैसा लाग्दैन भनेर मात्रै पठाएकी हुँ ।’ बालमन्दिरमा बालबालिका पठाउने अधिकांश अभिभावकको भनाइ यस्तै छ ।


उनीहरूले आफ्ना बालबालिकाले केही सिकून् भन्दा पनि केहीबेर भुलून् भनेर पठाएका छन् । रूपन्देहीमा बालबालिकालाई नि:शुल्क रूपमा पढाउने २ वटा बालमन्दिर छन् । भौतिक व्यवस्थापन र शैक्षिक वातावरण खस्किँदै जाँदा यी बालमन्दिरको अवस्था अहिले बिजोगलाग्दो बनेको छ ।


प्रारम्भिक बालविकास कक्षा र कक्षा १ सम्म पढाइ हुने बालमन्दिरमा नि:शुल्क पढ्न र खाजा खान पाइने व्यवस्था छ । तर पनि बालमन्दिरमा विद्यार्थीको आकर्षण छैन । २५ जना विद्यार्थी भर्ना भएको बताउने बुटवलको बालमन्दिरमा नियमित आउने बालबालिका निकै कम छन् ।


बालबालिकालाई उपमहानगरपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । यिनै विद्यार्थी पनि खाजा खान पाइने आशमा यस वर्ष बढेका हुन् । बालबालिका पढाउन २ जना शिक्षक छन् । बालबालिकालाई पढाउने कक्षाकोठा साँघुरा छन् । बालमन्दिरको अधिकांश जग्गा र भवन अहिले उद्योग वाणिज्य संघले उपयोग गरेको छ ।


बुटवल उद्योग वाणिज्य संघको भवनमा प्रदेशसभा राखिएपछि प्रदेश सरकारको आग्रहमा बालमन्दिरमा संघको कार्यालय सञ्चालन गरिएको छ । यसपछि बालमन्दिर अहिले २ वटा कोठामा खुम्चिएको छ । यस्तोमा बालबालिकालाई दिनुपर्ने सिकाइको वातावरण अझ खस्किएको शिक्षकहरूकै गुनासो छ । ४५ जना भर्ना भएको भैरहवाको बालमन्दिरमा पनि दैनिक आउने बालबालिका २ दर्जन पुग्दैनन् ।


बालमन्दिरका आफ्नै भवन छन् । बुटवलमा ८ कट्ठा र भैरहवामा १२ कट्ठा जग्गा छ । तर, संरक्षण र सञ्चालनको जिम्मा पाएको बालसंगठनले खाली जग्गा भाडामा लगाउँदा बालमन्दिर आउने बालबालिकालाई शैक्षिक र सिकाइको वातावरण दिन सकिएको छैन ।


बुटवल बालमन्दिरकी शिक्षक सीता पाण्डेले भौतिक स्रोत र शैक्षिक सामग्रीको अभावमा प्रभावकारी सिकाइ हुन नसकेको बताइन् । ‘एउटा कुरा मिलाउँदा अर्कोको अभाव हुन्छ । अर्को जुटाउँदा झन् अर्को सकिन्छ,’ उनले गुनासो गरिन्, ‘भरपर्दो व्यवस्थापन गर्न नसक्दा बालमैत्री वातावरण बनाउन सकिएको छैन ।’


तत्कालीन राजा महेन्द्रले देशभर बालमन्दिर स्थापना गरेका थिए । बाल मन्दिरलाई पञ्चायतकालसम्म राजदरबारले नै संरक्षण र व्यवस्थापन गरेको थियो । कुनैमा कक्षा ३ त कुनैमा कक्षा ५ सम्म पढाइ हुन्थ्यो । सुरुवातताका यी बालमन्दिर बालशिक्षा र सिकाइमा निकै अब्बल मानिन्थे । सबैजसो कर्मचारीका छोराछोरीले यिनमा पढ्थे ।


बाहिरबाट पढ्न आउनेको पनि ताँती लाग्थ्यो । बालमन्दिरमा बालदिवस निकै उत्साहपूर्वक मनाइन्थ्यो । बहुदलीय व्यवस्थालगत्तै बालमन्दिरलाई दरबारबाट आउने सहयोग रोकियो । सञ्चालनको जिम्मा गैरसरकारी संस्थामा गएपछि बालमन्दिरको अवस्था बिजोगलाग्दो बनेको हो । बालमन्दिरमा अहिले शैक्षिक मात्रै होइन बालविकासका गतिविधि पनि शून्यजस्तै छ ।


बालमन्दिरको नेतृत्व क्षमतामा पनि परिवर्तन भएको छैन । एउटै समितिले लामो समयसम्म काम चलाएका छन् । बालमन्दिरमा कति रकम छ, कसरी खर्च भएको छ, यसबारे पनि उनीहरू बताउँदैनन् । बालमन्दिरका अध्यक्ष श्रेष्ठले कोषमा भएको केही रकम र कार्यक्रमबाट आएको आम्दानी कोषमा राखेर त्यसको ब्याजबाट सञ्चालन खर्च उठाएको बताए । ‘भरपर्दो स्रोत र सहयोग छैन । यसैले बालमन्दिर चलाउन समस्या छ,’ उनले भने, ‘हामीले पनि बाध्यतामा चलाएका छौं ।’


समय अनुसार उचित व्यवस्थापन हुने हो भने बालविकास केन्द्र र कक्षा १ पढाइ हुने यी बालमन्दिरलाई बालबालिकाको सिकाइको नमुना केन्द्र बनाउन सकिन्छ । यसका लागि संरक्षण र व्यवस्थापनको जिम्मा भने गैरसरकारी संस्थाको सट्टा अन्य विद्यालय सरह समुदाय र स्थानीय तहलाई दिन आवश्यक रहेको

सरोकारवालाहरू बताउँछन् ।

प्रकाशित : कार्तिक ३०, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?