पर्यटकीय हब बन्दै देवदह

कान्तिपुर संवाददाता

बुटवल — भरपर्दो सडक सञ्जाल, बौद्ध क्षेत्रको संरक्षण र प्रचार अभावले रूपन्देहीको देवदह ओझेलमा परेको छ । यस क्षेत्रलाई प्रचारमा ल्याउन र प्रवद्र्धन गर्न देवदहलाई बौद्ध सर्किटका रूपमा विकास गर्न प्रयास थालिएको छ ।

यसका लागि देवदह नगरपालिकाले लुम्बिनीसँग सडक सञ्जाल जोड्ने, लोप हुन लागेका क्षेत्रको संरक्षण गर्ने, नयाँ पूर्वाधार बनाउने र प्रचारप्रसार गर्ने काम योजनाबद्ध तरिकाले अगाडि बढाएको छ ।


‘पुरातात्त्विक स्थल, पार्क, वैदिक र बौद्ध क्षेत्रको उपयोग गरी देवदहलाई लुम्बिनीसित जोडने र लुम्बिनी आएका पर्यटक देवदह ल्याउने योजना छ,’ नगरप्रमुख हीराबहादुर खत्रीले भने, ‘यसका लागि देवदहलाई पवित्र बौद्ध सर्किटसहितको पर्यटकीय हब बनाउने योजना छ ।’ बौद्ध सर्किटका लागि देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने योजना अगाडि बढेको छ । समन्वयका लागि लुम्बिनी विकास कोषले सहकार्य गरेको छ ।


बालबालिकामा बौद्ध दर्शन र आध्यात्मिक धारणाको जग बसाल्न भन्दै नगरपालिकाले विद्यालय तहमा बौद्ध दर्शनको स्थानीय पाठ्यक्रम बनाएर लागू गरेको छ । कक्षा ६ र ७ मा लागू गरिएको यो पाठ्यक्रम मावि तहसम्म पुर्‍याउने नगरपालिकाको योजना छ । बौद्ध दर्शनको उच्च शिक्षाका लागि लुम्बिनी बौद्ध विश्व विद्यालयको आंगिक क्याम्पस निर्माण गर्ने नगरपालिकाको योजना छ ।


यसका लागि देवदह ८ मा स्थापनाका लागि प्रक्रियामा रहेको काम यसै वर्ष सक्ने नगरप्रमुख खत्रीले बताए । नगरमा रहेका विभिन्न मठ मन्दिर तथा धार्मिक धरोहरको स्तरोन्नति र संरक्षणको काम सुरु भएको छ । पारिवारिक तथा सामाजिक संस्कार, अनुशासन र मर्यादा राख्न विभिन्न प्रशिक्षणात्मक कार्यक्रम थालिएका छन् ।


पुरातात्त्विक वस्तुले भरिपूर्ण देवदहलाई बुद्धकी आमा मायादेवी, पत्नी यशोधरा र सुसारे गौतमीको जन्म तथा बाल्यकाल बितेको पवित्र स्थान मानिन्छ । भवानीपुर, पाकरी वृक्ष, कन्यामाई, बैरीमाई, खयरडाँडा, माथागढी, प्राचीन रोहिणी नदी, देवी दमार, कुँवरवर्तीलगायत बौद्ध क्षेत्र यहाँ छन् । यिनको प्रचार गर्ने र सबै ठाउँमा पुर्‍याउने सडक हुने हो भने मात्रै पनि लुम्बिनी आउने धेरै पर्यटकलाई यता तान्न सकिन्छ ।


देवदह घुम्न आउने पर्यटकलाई बास बसाल्ने नगरपालिकाको योजना छ । यसका लागि शरणटाँडी, शिशुपुर र मुढावासमा होमस्टे सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिएको र बजेटसमेत विनियोजन भएको उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताइन् । बुद्ध र देवदहबारे जानकारी दिन भवानीपुरमा द गोल्डेन टेम्पल अफ लिभिङ बुद्ध नामक मन्दिर स्थापना भइरहेको छ । यसलाई देवदह र बुद्धबारेको सूचना केन्द्रका रूपमा अगाडि बढाउने नगरपालिकाको योजना छ ।


मायादेवीको मन्दिर, प्राचीन कुँवा, प्राचीन अशोक स्तम्भलगायत स्थानमा पर्यटन मन्त्रालयअन्तर्गत लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन समितिले यसअघि स्वागतद्वार, पक्की पोखरी, पर्खाललगायत निर्माण गरेको छ ।


भवानीपुर, कन्यामाई, बैरीमाईलगायतमा यसअघि पुरातत्त्व विभागले उत्खनन गरी केही बौद्धकालीन सामग्री र संरचना पत्ता लगाएको छ । उत्खनन गरेको क्षेत्र र भेटिएका स्थल बचाउन पनि नगरपालिकाले लगानी गर्नुपर्ने देवदहका अध्येता तथा त्यस क्षेत्रका प्रदेश सांसद डा. कृष्णप्रसाद न्यौपानेले बताए ।

प्रकाशित : कार्तिक ३०, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?